Logo

पर्यटन बोर्डमा चलखेल लुकाउन अघिल्लो वर्षको बजेट साइटमै राखिएन, यो वर्षको भने पारित भएसँगै अपडेट

पर्यटन बोर्डमा चलखेल लुकाउन अघिल्लो वर्षको बजेट साइटमै राखिएन, यो वर्षको भने पारित भएसँगै अपडेट



काठमाडौं । पछिल्लो समय नेपाल पर्यटन बोर्ड विभिन्न कारणले बदनाम हुँदै गएको छ । बोर्डका विवादित कार्यकारी प्रमुख (सिइओ) डा धनञ्जय रेग्मीका विभिन्न चलखेलका कारण बोर्डमा विवाद श्रृजना हुँदा यसपटक बोर्डको बजेट दुई महिनापछि मात्र स्वीकृत भयो । बोर्डले समयमै बजेट पास नगर्दा र सिइओ रेग्मीले नचाहेपछि विश्वकै ठूलो पर्यटन मेला वल्र्ड ट्राभल मार्ट (डब्लुटीएम) मा नेपाल सहभागी हुनबाट बञ्चित भयो ।

laxmi

बजेटमा कमिसनका लागि उद्देश्यविपरित पूर्वाधारका कार्यक्रम राखिएको भन्दै तालुकवाला मन्त्रालयको रुपमा रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका मन्त्री सुदन किराँतीले बजेट रोक्न निर्देशन दिएपछि बोर्डको बजेटमा चलखेलका थप विषय सार्वजनिक भए । जसका कारण पर्यटन बोर्डले तयार पारेको बजेट चालु आर्थिक वर्ष २०८०÷०८१ को दुई महिना बित्नै लाग्दासमेत पारित हुन सकेको थिएन ।

बोर्डले साउनमै चालु आवको बजेट तयार पारेर सञ्चालक समितमा पेस गरेको थियो । तर, बजेटमा डा सिइओ रेग्मीले आफ्नै निजी कम्पनीको कार्यक्रम राखेको, प्रर्वद्धनको मुख्य उद्देश्यभन्दा बाहिर रहेर कमिसनका लागि पूर्वाधरमा धेरै बजेट छुट्टयाएको तथा विभिन्न चलखेल गरेको भन्दै बोर्डका सदस्यहरुबाटै विरोध भएपछि बजेट पारित हुन सकेको थिएन ।

यद्यपि सिइओ डा. रेग्मीले बजेटमा बोर्ड सदस्यहरुका कार्यक्रम पनि समावेश गरेर सबैलाई भागबण्डा पुर्याएपछि आइतबार बजेट पारित भएको थियो । जुन बजेट अहिले बोर्डको वेवसाइटमा पनि अपलोड गरिएको छ । चालु आर्थिक वर्ष २०८०÷०८१ को बजेट पारित भएसँगै साइटमा अपडेट भएपनि अघिल्लो वर्षको बजेट भने साइटमा अहिलेसम्म अपडेट भएको छैन् ।

अघिल्लोे आर्थिक वर्ष २०७९÷०८० को बजेट साइटमा अपलोड नहुनुमा सिइओ डा. रेग्मीको निजी कम्पनीका नाममा भएको खर्चको भुक्तानी रोकिनु पनि भएको बोर्डका एक कर्मचारीले बताए । अघिल्लो आवको बजेटमा कार्यक्रम शीर्षक ३.४.१.३ मा इन्टरनेसनल सस्टेनेवल माउन्टेन डेभलपमेन्ट कन्फेरेन्समा २० लाख रुपैंया बिनियोजित थियो । उक्त कार्यक्रमका बारे बजेटमा भएको प्रस्टीकरणमा पर्वतीय पर्यटनलाई प्राथमिकतामा राखी दिगो पर्वतीय विकास सम्बन्धि अन्तराष्ट्रिय विश्वविद्यालयहरु तथा अनुसन्धान संस्थासँगको सहकार्यमा सो कार्यक्रम आयोजनामा सहकार्य गर्ने लेखिएको थियो ।

कार्यक्रम २०७९ मंसिर १५ देखि १७ सम्म चन्द्रागिरी हिल्समा आयोजना भयो । जसको मुख्य आयोजक नै नेपाल पर्यटन बोर्ड थियो । कार्यकारी प्रमुख डा. रेग्मी बोर्डमा आबद्ध हुन अगाडि यस्तै किसिमको कार्यक्रम आयोजना गर्ने गर्थे । चन्द्रागिरीको कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्नेहरु लगायतका सबै ब्यक्तिहरु डा रेग्मीको संस्था हिमालयन रिसर्च सेन्टर र हिमालयन रिसर्च एक्सपिडिसन्सबाट विविध समयमा आयोजित कार्यक्रममा सहभागी भइसकेका, उनका ब्यवसायका साझेदार हैसियतका ब्यक्तिहरु हुन् । तीमध्ये एक जसले मुख्य कार्यपत्र प्रस्तुत गरेका एल्टन बायर्सलाई उनको कम्पनीको साइटमा अन्तराष्ट्रिय वैज्ञानिकका रुपमा टिममै राखिएको छ ।

उक्त कार्यक्रममा सहभागीहरुबाट उठाइएको पैसा बोर्डको साइट प्रयोग गरेर अर्कै साइटमा पठाइएको र खर्च पनि नबाँधिएको स्थिति छ । आर्थिक वर्षको अन्तिमसम्म पनि ६ महिनाअघि सकिएको कार्यक्रमको बोर्डले गर्नुपर्ने भुक्तानी नगरी दायित्व सिर्जना भएको छ । उनको कम्पनी हिमालयन रिसर्च सेन्टरको वेभसाइट जष्mबबिथबलचभकभबचअज।यचन।लउ मा रेग्मीको कार्यकारी प्रमुखका रुपमा ४ वर्षे कार्यकाल पुरा गर्नलाग्दासम्म पनि सम्पर्क मोबाइलमा उनकै नम्बर उल्लेखित थियो । सोबारे बिजखबरले समाचार प्रकाशन गरेपछिमात्र उनले आफ्नो नम्बर हटाउन लगाएका थिए ।

पर्यटन बोर्डको नियमावलीमा बोर्डको कार्यकारी प्रमुखमा नियुक्त हुने व्यक्ति कुनै सरकारी, गैरसरकारी वा अन्य कुनै व्यवसायमा संलग्न रहेको भए त्यस्तो सेवा वा व्यवसायवाट अवकाश लिनुपर्ने, नलिएमा नियुक्ति स्वत बदर हुने व्यवस्था भएपनि रेग्मीले नीजि कम्पनीको कार्यकारी भूमिकामा काम गरेको पाएर बिगतमा पनि पर्यटन मन्त्रालयले छानबिन गरेको थियो ।

यस्तै बोर्डभित्रका बजेट दुरुपयोगका विभिन्न खबर सार्वजनिक भएसँगै सिइओदेखि बोर्ड सदस्यसम्मका चलखेल खुल्ने डरले अघिल्लो आवको बजेट साइटमा नराखी यो आवको बजेट राखिएको बोर्डकै एक अधिकारीले बताए । यता बोर्डका सिइओ डा. रेग्मीले भने आफुले सबै वर्षको बजेट अपडेट गर्न भनेको र के कारणले हो भन्ने जानकारी नभएको बताए । ‘मैले सबै वर्षको बजेट साइटमा अपडेट गर्न भनेको छु, के कारणले हो म बुझ्नेछु’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्
MBL