Logo

अर्थतन्त्र चलायमान बनाउन के गर्नुपर्छ ? अर्थमन्त्रीलाई यस्ता छन् बैंकरका सुझाव

अर्थतन्त्र चलायमान बनाउन के गर्नुपर्छ ? अर्थमन्त्रीलाई यस्ता छन् बैंकरका सुझाव



काठमाडौं । जेनजी आन्दोलनपछि मुलुकले अन्तरिम सरकार पाएको छ । सुशीला कार्कीको नेतृत्वमा गठन भएको सरकारसँग बैकिङ क्षेत्रको आशा, अपेक्षा र भरोसा छ । नयाँ सरकारमा अर्थमन्त्रीको रुपमा रामेश्वर खनाल आएसँगै बैंकरहरु थप उतसहित भएका छन् । यस्तोमा सरकारले शान्ति सुरक्षाको प्रत्याभूति दिएर व्यावसायिक वातावरण बनाएर उद्योगी–व्यवसायीहरुको आत्मविश्वास जगाउने काम गर्नुपर्ने माग बैकरको छ । नेपाल बैंकर्स संघका पूर्व अध्यक्ष सुनिल केसीले सरकारले लगानीकर्ताको आत्मविश्वास बढाउने काम गर्नुपर्ने बताए ।

‘उद्योगी–व्यवसायीलाई लगानी गर्ने वातावरण सिर्जना गर्नुपर्छ’ उनले भने, ‘लगानीकर्ताको आत्मविश्वास बढाउने काम गर्न सकेको खण्डमा अर्थतन्त्र चलायमान भएर कर्जा प्रवाह बढ्न सक्छ ।’ जेनजीको प्रदर्शनपछि केही अन्योलता र्सिजना भएको उनले बताए । यसले केही हप्ता असर गरे पनि विस्तारै अर्थतन्त्र चलायमान बन्ने उनको अपेक्षा छ । प्रदर्शनका कारण क्षति पुगेको सरकारी र निजी संरचनाहरुको तत्काल पुननिर्माण गर्ने कुरा भएको छ । यसले अर्थतन्त्रलाई चलायमान बनाउँछ भन्ने उनको अपेक्षा छ ।

‘अर्थतन्त्रलाई राम्रोसँग बुझेका व्यक्ति अर्थमन्त्रीको रुपमा आउनुभएकोछ । उहाँले उद्योगी–व्यवसायीलाई लगानी गर्ने वातावरण सिर्जना गर्नुहुन्छ भन्ने अपेक्षा छ’ उनले भने । लगानीकर्ताको आत्मविश्वास बढाउने काम गर्न सकेको खण्डमा अर्थतन्त्र चलायमान भएर कर्जा प्रवाह बढ्न सक्ने उनको भनाई छ । ‘६ महिनामा चुनाव गर्ने घोषणा भएको छ’ उनले भने, ‘चुनावले पनि अर्थतन्त्रलाई चलायमान बनाउँछ भन्ने अपेक्षा छ ।’

नयाँ सरकारले उद्योगी–व्यवसायीहरुको आत्मविश्वास बढाएर लगानीको वातावरण सिर्जना गर्ने अपेक्षा रहेको एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ बताउँछन् । ‘अर्थमन्त्रीमा अर्थतन्त्र बुझेका व्यक्ति आउनुभएको छ’ उनले भने, ‘उहाँले अर्थतन्त्रलाई चलायमान बनाउने नीति लिनुहुन्छ भन्ने अपेक्षा छ ।’

विगत केही समयदेखि कर्जा प्रवाह सुस्त गतिमा मात्रै अगाडि बढेको छ । कर्जा प्रवाहमा सुस्तता छाएसँगै वित्तीय प्रणालीमा अधिक तरलताको अवस्था छ । पछिल्लो समय जेनजी प्रदर्शनको कारण मुलुकको सरकारी भौतिक संरचनाहरुमा धेरै नै क्षति पुगेको छ भने निजी क्षेत्रमाथि पनि आक्रमण भए । यसबाट बैंकिङ क्षेत्र पनि अछुतो नरहेको उनको भनाई छ । उनले यसको असर आगामी दिनमा पनि पर्न सक्ने बताए । ‘निजी क्षेत्रहरुले यसलाई तत्काल पुनः निर्माण गरेर अगाडि बढ्ने उद्घोष गर्नुभएको छ’ खालिङले भने, ‘यसले अर्थतन्त्रलाई चलायमान बनाउने अपेक्षा छ ।’

लगानीकर्ताको आत्मविश्वास खस्किंदा कर्जाको माग नभएको गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्यायले बताए । लगानीकर्ताको मनोबल बढाएर उद्यमशीलतामा लगानी बढाउन सकिएको खण्डमा अर्थतन्त्र चलायमान हुने उनको भनाई छ । ‘जेनजीको प्रदर्शनमा निजी क्षेत्रमाथि पनि आक्रमणहरु भए ।

यसले निजी क्षेत्रको मनोबललाई खस्काउने काम गरेको छ’ उनले भने । तथापि, नयाँ सरकार गठन भएको छ । वित्तीय प्रणालीलाई राम्रोसँग बुझेका व्यक्ति अर्थमन्त्रीको रुपमा आएकाले केही अपेक्षा गर्न सकिने उनको भनाई छ । ‘उहाँले अर्थतन्त्रलाई चलायमान बनाउने नीति लिनुहुन्छ भन्ने हाम्रो अपेक्षा रहेको छ’ उनले भने । अहिलेको मुख्य समस्या भनेको कर्जा प्रवाह हो । विगत केही समयदेखि कर्जा प्रवाहमा सुस्तता छाएको छ । मुलुकमा नयाँ राजनीतिक परिवर्तन आएको छ । सरकारले निजी क्षेत्रलाई उकास्ने नीति लिनेछ भन्ने अपेक्षा रहेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्