काठमाडौं । हालैको आन्दोलनका क्रममा भौतिक संरचनामा पुगेको क्षतिपछि पुनर्निर्माण अभियानलाई समर्थन गर्दै लक्ष्मी टेक्नोप्लास्ट लिमिटेडले ऐतिहासिक योगदान गर्ने घोषणा गरेको छ।
ओम शिवम पाइप्स एण्ड फिटिङ्स तथा मेरीगोल्ड फर्निचर अन्तर्गत सञ्चालनमा रहेको कम्पनीले आगामी ३ महिनासम्मको कुल बिक्री रकमको १ प्रतिशत राष्ट्र पुनर्निर्माणमा समर्पण गर्ने निर्णय गरेको हो। कम्पनीका अनुसार यस कदमलाई राष्ट्रिय उत्तरदायित्व र सामाजिक योगदानको रूपमा लिन सकिनेछ।
‘हाम्रा संरचना हामी आफैं बनाउँछौं’ भन्ने नारालाई आत्मसात गर्दै कम्पनीले क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमार्फत आत्मनिर्भरता, एकता र सकारात्मक ऊर्जा फैलाउने विश्वास व्यक्त गरेको छ।
कम्पनीका प्रबन्ध निर्देशक अञ्जनी नन्दन मारुले भने, ‘यो हाम्रो देश हो, यसको सम्पत्ति र संरचना हाम्रो गौरव हो। हामी पुनर्निर्माणका हरेक प्रयासमा पूर्ण समर्पणसहित अघि बढ्न तयार छौं। यही हाम्रो दायित्व र प्रतिबद्धता हो।’
निकट भविष्यमा सर्वसाधारणका लागि शेयर निष्काशन गर्ने तयारीमा रहेको लक्ष्मी टेक्नोप्लास्ट लिमिटेडले यस ऐतिहासिक कदममार्फत आफ्नो सामाजिक उत्तरदायित्वलाई अझ सशक्त तुल्याएको जनाएको छ।