Logo

पर्यटन बोर्डमा कमिसनको चक्कर : मन्त्रीको निर्देशन लत्याएर पूर्वाधारमै बजेट केन्द्रित, शुक्रबार जसरी पनि पास गर्ने तयारी

पर्यटन बोर्डमा कमिसनको चक्कर : मन्त्रीको निर्देशन लत्याएर पूर्वाधारमै बजेट केन्द्रित, शुक्रबार जसरी पनि पास गर्ने तयारी

भिजिट भरतपुर कार्यक्रमलाई एक करोड रकम छुट्टयाएर प्रधानमन्त्री प्रचण्डको निकट बन्ने प्रयासमा सिइओ डा. रेग्मी



काठमाडौं । नेपालको पर्यटन प्रर्वद्धनको उद्देश्य राखेर स्थापना भएको नेपाल पर्यटन बोर्ड अहिले कमिसनको चक्करमा घुमिरहेको छ । नेपाल पर्यटन बोर्डको नेतृत्व सम्हालिरहेका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीको कमिसन मोह र स्वार्थमा फस्दा बोर्ड अब प्रर्वद्धनको मुख्य उद्देश्यबाट बिमुख हुँदै पूर्वाधार निर्माणमा केन्द्रित हुने देखिएको छ ।

laxmi

बजेटमा कमिसनका लागि उद्देश्यविपरित पूर्वाधारका कार्यक्रम राखिएको भन्दै तालुकवाला मन्त्रालयको रुपमा रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका मन्त्री सुदन किराँतीले बजेट रोक्न निर्देशन दिएपनि सिइओ डा. रेग्मी बोर्डका बहुमत सदस्यलाई प्रभावमा पारेर भोलि शुक्रबार जसरी पनि पास गर्ने तयारी गरेका छन् । सिइओ रेग्मीले शुक्रबार बिहान ८ बजे बस्ने बोर्ड बैठकबाट बजेट पास गर्ने सम्पूर्ण सेटिङ मिलेको जानकारी आफ्ना निकटहरुलाई दिएको स्रोतले बतायो ।
पर्यटन बोर्डले तयार पारेको बजेट चालु आर्थिक वर्ष २०८०/०८१ को दुई महिना बित्नै लाग्दासमेत पारित हुन सकेको छैन । बोर्डले साउनमै चालु आवको बजेट तयार पारेर सञ्चालक समितमा पेस गरेको थियो । तर, बजेटमा डा सिइओ रेग्मीले आफ्नै निजी कम्पनीको कार्यक्रम राखेको, प्रर्वद्धनको मुख्य उद्देश्यभन्दा बाहिर रहेर कमिसनका लागि पूर्वाधरमा धेरै बजेट छुट्टयाएको तथा विभिन्न चलखेल गरेको भन्दै बोर्डका सदस्यहरुबाटै विरोध भएपछि बजेट पारित हुन सकेको छैन् ।

सौन्दर्यकरणको नाममा पूर्वाधारमा बजेट

नेपाल पर्यटन बोर्डको मुख्य उद्देश्य नेपालको अन्तराष्ट्रिय प्रर्वद्धन गरेर धेरैभन्दा धेरै पर्यटन नेपाल भित्र्याउने हो । तर, कमिसनको चक्करमा डा सिइओ रेग्मी र केही बोर्ड सदस्यले बोर्डको बजेट अस्वभाविक रुपमा पूर्वाधार निर्माणमा छुट्टषएको देखिन्छ । अघिल्लो वर्ष ३ करोडमात्र बजेट रहेको पूर्वाधारमा यसपटकको बजेटमा २८ करोड बजेट छुट्टयाइएको छ । ३ करोड बजेट पनि खर्च गर्ने क्षमता नभएपनि पूर्वाधारमा एकैपटक २५ करोड बढी बजेट छुट्टयाउनुले बजेट सिइओ डा रेग्मी बोर्ड सदस्यको स्वार्थमा तयार भएको स्पष्ट देखने एक सदस्यले बताए । ‘अघिल्लो पटक ३ करोड पनि खर्च नभएको पूर्वाधारमा २८ करोड बजेट छुटट्याउनुले नै स्वार्थ कसरी उपयोग भएको छ भन्ने स्पष्ट भएको छ । यसमा सिइओ रेग्मी, केही बोर्ड सदस्य र केही नेता, कर्मचारीको स्वार्थका कार्यक्रम पनि परेका छन् । कमिसनको रकम छुट्टै छदैछ’, उनले भने ।

बोर्डको बजेटमार्फत भौतिक संरचनामा बजेट छुट्याएर ५ देखि १० प्रतिशत कमिसनमा बस्ने प्रवृत्ति रहेको मन्त्री किराँतीले नै सार्वजनिक रुपमा बताइसकेकाले बोर्डको बजेट किन पूर्वाधारमा केन्द्रि भयो भन्ने बुझ्न गाह्रो पर्दैन । यसपटक पूर्वाधारको बजेटलाई आफ्नो बदनामी छोप्न सौन्दर्यीकरणसमेत जोडिएको बोर्डकै एक सदस्यले बताए । बोर्डको बजेटमा पूर्वाधार शीर्षकमा शिवपुरी धाप ड्यामका लागि १ करोड, नेपाली सेनालाई साइनेज २ करोड, अध्यागमनमा कियोस्क ८० लाख, कर्णाली क्वेस्ट १ करोड, भिजिट भरतपुर १ करोड तथा धादिङमा पनि ठूलो रकम बजेट छुट्टयाइएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निकट बन्ने प्रयासमा सिइओ डा.रेग्मीले भिजिट भरतपुरको नाममा एक करोड रकम छुट्टयाएको बोर्डका एक सदस्यले बताए । आफ्नो यो कार्यकालको अन्त्यतिर पुगेका सिइओ रेग्मीको अर्को कार्यकाल पनि सिइओ बन्ने चाहनामा आवश्यकै नभएपनि प्रधानमन्त्री प्रचण्डको क्षेत्रमा बजेट पुगेको हो कि भन्ने उनले अनुमान गरे ।

मन्त्रालयलाई वेवास्ता

बोर्डको बजेटमा भएको चलखेलबारे जानकार रहेका मन्त्री किराँतीले बजेट नसच्चिएसम्म हतारमा पास गर्न नसकिने बताउँदै आएका छन् । मन्त्री किराँतीले बोर्डको बजेट हतारमा पास गरेर फेरि पनि कसैको दुनो सोझ्याउनको लागि बजेट नआउने बताउँदै भौतिक संरचना बनाउने काम पर्यटन बोर्डको नभएको बताएका थिए । ‘मैले सुरुमा नै बोर्डमा आएर भनेको छु । भौतिक संरचना निर्माण गर्ने पर्यटन विभाग छ । पर्यटन विभागले पर्यटनसम्बन्धि भौतिक संरचना निर्माण गर्ने हो । पर्यटनको प्रर्वद्धन बोर्डले गर्ने हो,’ मन्त्री किराँतीको भनाई छ । पर्यटन क्षेत्रको विकासको लागि भौतिक संरचना निर्माण गर्ने पर्यटन विभाग रहेको भन्दै बोर्डले पर्यटनको प्रर्वद्धन गर्ने रहेको मन्त्री किराँतीको भनाइ छ । बोर्डको बजेटमार्फत भौतिक संरचनामा बजेट छुट्याएर ५ देखि १० प्रतिशत कमिसनमा बस्ने जमानाको अन्त्य भएको मन्त्री किराँतीले बताएपनि बोर्डको बजेट रोक्न भने उनी असफल भएका छन् ।

यसले आफू मन्त्रालयमा रहेसम्म भौतिक संरचनामा हुने कमिसनको खेल शून्य बनाएर छाड्ने उनको प्रतिबद्धता पनि खेर जाने देखिएको छ । पर्यटन बोर्डले बजेटमा भौतिक संरचना निर्माण हटाएर पर्यटन प्रर्वद्धन गर्ने योजना नसच्याएसम्म बोर्डको बजेट नआउने बताएका मन्त्री किराँती सिइओ रेग्मीले खडा गरेको कमिसनको नेक्सस तोडन लगभग असफल भएका हुन् कि सिइओ रेग्मीले मन्त्री किराँतीलाई नै खुशी पारेर बजेट पास गर्न लागेका हुन भन्नेमा अलमलको अवस्था रहेको एक बोर्ड सदस्यले बताए ।

थप पढ्नुहोस

प्रतिक्रिया दिनुहोस्
MBL