काठमाडौं । झुटा विवरण तयार गरी कमसल कम्प्युटर सामग्री खरिद गरेको अभियोगमा राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलसहित ६ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।
आयोगका अनुसार २०७६ माघ १५ गते उच्च गति कम्प्युटिङ उपकरण खरिदको ठेक्का सम्झौताअनुसार १५ करोड ८८ लाख ५० हजार रुपैयाँ बराबरको भ्रष्टाचार भएको देखिएको छ। अनुसन्धानका क्रममा सम्झौताअनुसारको गुणस्तरको सामग्री नखरिद गरी कमसल उपकरण जडान गरिएको पाइएको हो।
अख्तियारले मुद्दा दायर गरेका अन्य अभियुक्तहरूमा केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठ, सहायक निर्देशक रमेश पोखरेल, कम्प्युटर इन्जिनियर रामशरण गायक, लेखा अधिकृत निम बहादुर वली तथा ठेक्का लिने वर्ल्ड डिस्ट्रिब्युसन नेपाल प्रालिका अध्यक्ष एवं प्रबन्ध निर्देशक अरुण श्रेष्ठ छन्।
मुद्दामा उल्लेख भएअनुसार, स्टोरेज कन्ट्रोलरमा जडान हुनुपर्ने २.४ गिगाहर्जको २४ कोर प्रोसेसरको सट्टा २.१ गिगाहर्जको प्रोसेसर मात्र राखिएको पाइएको हो। प्रविधिक मूल्याङ्कन अनुसार २.४ गिगाहर्जको प्रोसेसर २.१ गिगाहर्जको तुलनामा १४.२८ प्रतिशत बढी कार्यक्षमता दिन्छ।
अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले गुणस्तरीय सामग्री देखाएर घटिया प्रविधि जडान गरिएको भन्दै सबैलाई भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार कारबाही गर्न माग गरिएको जानकारी दिए।