Logo

पर्यटन बोर्डमा सिइओ रेग्मीको कर्तुत : धन्दा खुल्ने डरमा बोर्डको ड्राइभर जगेडामा, आफ्नै कम्पनीका विश्वासपात्रलाई नियुक्ति

पर्यटन बोर्डमा सिइओ रेग्मीको कर्तुत : धन्दा खुल्ने डरमा बोर्डको ड्राइभर जगेडामा, आफ्नै कम्पनीका विश्वासपात्रलाई नियुक्ति

बिजखबर प्रभाव : कम्पनीको वेवसाइटबाट सिइओ रेग्मीले हटाए मोबाइल नम्बर



काठमाडौं । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) डा. धनञ्जय रेग्मीले पर्यटन बोर्डलाई आफ्नो स्वार्थको प्रयोगशाला बनाएको विभिन्न घटनाबाट पुष्टि हुँदै आएको छ । पर्यटन बोर्डको नेतृत्वमा रहेर देशको पर्यटन प्रर्वद्धनमा उच्चतम भूमिका निर्वाह गर्नुपर्ने सिइओ रेग्मी भने बोर्डलाई माध्यम बनाएर आफ्नो निजी स्वार्थ पूरा गर्न उद्यत रहेको देखिन्छ ।

laxmi

यसै सन्दर्भमा पछिल्लो समय सिइओ डा.रेग्मीका विभिन्न धन्दाहरुबारे बोर्डभित्रै र बाहिरसमेत प्रश्न उठन थालेपछि उनले बोर्डबाट सुविधाका रुपमा प्राप्त सवारी चालकलाई करीब चार महिनायता निकम्मा बनाइदिएका छन् । सवारी चालक प्रायः सधै साथमै रहने र आफ्ना गतिविधिहरु बाहिर आउन सक्ने डरले उनले आफ्नै निजी कम्पनीका रुपमा रहेको हिमालयन रिसर्चका एक्जुकेटिभ कमिटिमा मेम्बर रहेका प्रवीण शाहलाई ड्राइभरमा नियुक्ति दिएका छन् । शाह डा रेग्मीको अत्यन्तै विश्वासपात्र रहेको पर्यटन बोर्डमा रहेका सबैलाई जानकारीमा छ । हाल शाह डा रेग्मीको निजी कम्पनीका चेक बोकेर हिड्ने, साइन गराउने र डा रेग्मीको निजी काममा सबैभन्दा नजिकका सहयोगी बनेका छन् ।

शाहलाई बोर्डमा भित्र्याउन सिइओ डा रेग्मीले पर्यटन बोर्ड र युनडीपीको सहकार्यमा सञ्चालित सस्टेनेवल टुरिजम लाइभलिहुड रिकभरी प्रोजेक्ट (एसटीएलआरपी) मा उनलाई सवारी चालकमा नियुक्ति दिलाएको बोर्ड स्रोतले जानकारी दियो । बोर्डको सुविधाको ड्राइभरलाई बेकामे बनाएर कम्पनीका शाहलाई सवारी चालक नियुक्ति गरेर सिइओ रेग्मीले बोर्डको बजेटको चरम दुरुपयोग गरेको देखिन्छ । शाहलाई ड्राइभर नियुक्ति गरेपछि सिइओ रेग्मी बोर्डको काममा भन्दा पनि आफ्नै निजी काममा बाहिर बढी निस्किने गरेको पनि बोर्ड स्रोतले बतायो ।

सरकारको मितव्ययी नितीलाई धनञ्जयको लात

‘सरकारले सबै निकायलाई मितव्ययी बन्न सर्कुलर जारी गरिरहे पनि डा रेग्मी भने ‘सित्तैको धन फुपुको श्राद्ध’ भनेझै आफ्नो स्वार्थका लागि बोर्डमै भएका ड्राइभरलाई जगेडामा राखेर आफ्नै कम्पनीका स्टाफलाई बोर्डमा नियुक्ति दिलाएर रकम दुरुपयोग गरिरहेका छन् । उनको यस्ता क्रियाकलाप रोक्न तालुक मन्त्रालयका मन्त्री सुदन किराँती र स्वंय बोर्डका अध्यक्ष रहेका मन्त्रालयका सचिवको पनि ध्यान पुग्न सकेको छैन् । यो त सीधै सरकारलाई चुनौती दिदा पनि केही फरक पर्दैन भन्नेजस्तो देखिन्छ’, बोर्डका एक अधिकारीले भने ।

कम्पनीका शाहलाई सवारी चालकमा नियुक्ति

त्रिभुवन बिमानस्थलमा रक्सी काण्डका कारण बदनाम भएका सिइओ डा. रेग्मी अहिले आफ्नो चार वर्षे कार्यकालको केही समय बाँकी रहँदा नयाँ बजेटमा पनि आफ्नो कम्पनीलाई फाइदा पुग्नेगरि बजेट बनाउन व्यस्त छन् । विस २०७९/०८० को बजेट तथा कार्यक्रम शीर्षक ३.४.१.३ मा ‘इन्टरनेसनल सस्टेनेवल माउन्टेन डेभलपमेन्ट कन्फेरेन्स’ को नाममा आफ्नै कम्पनीलाई २० लाख रुपैंया विनियोजित गरेका रेग्मीले यसपटक पनि बजेटमा सो कार्यक्रलाई निरन्तरता दिएका छन् ।

२०७९ मंसिर १५ देखि १७ सम्म चन्द्रागिरी हिल्समा आयोजना भएको कार्यक्रममा मुख्य आयोजक नै नेपाल पर्यटन बोर्ड थियो । कार्यकारी प्रमुख डा. रेग्मी बोर्डमा आबद्ध हुन अगाडि यस्तै किसिमको कार्यक्रम आयोजना गर्ने गर्थे । उक्त कार्यक्रममा सहभागीहरुबाट उठाइएको पैसा बोर्डको साइट प्रयोग गरेर अर्कै साइटमा पठाइएको र खर्च पनि नबाँधिएको स्थिति छ । आर्थिक वर्षको अन्तिमसम्म पनि ६ महिनाअघि सकिएको कार्यक्रमको बोर्डले गर्नुपर्ने भुक्तानी नगरी दायित्व सिर्जना भएको छ । पर्यटन बोर्डको ब्यानरबाट भएको सो कार्यक्रममार्फत सहभागीबाट उठाइएको लाखौं रुपैयाँ कार्यकारी प्रमुख डा रेग्मीले दुरुपयोग गरेको आशंका छ ।

समाचार प्रकाशन भएपछि साइटबाट नम्बर हटाइयो

बोर्डका सिइओ डा. रेग्मीका का यस्ता धन्दा अनेक चलिरहेका छन् । ‘इन्टरनेसनल सस्टेनेवल माउन्टेन डेभलपमेन्ट कन्फेरेन्स’ बारे श्रावण ८ मा बिजखबर डटकममा समाचार प्रकाशन भएपछि अहिले उनको कम्पनी हिमालयन रिसर्च सेन्टरको वेवसाइट himalayanresearch.org.np मा रहेको रेग्मीको सम्पर्क मोबाइल नम्बर हटाइएको छ ।

पर्यटन बोर्डको नियमावलीमा बोर्डको कार्यकारी प्रमुखमा नियुक्त हुने व्यक्ति कुनै सरकारी, गैरसरकारी वा अन्य कुनै व्यवसायमा संलग्न रहेको भए त्यस्तो सेवा वा व्यवसायवाट अवकाश लिनुपर्ने, नलिएमा नियुक्ति स्वत बदर हुने व्यवस्था भएपनि रेग्मीले नीजि कम्पनीको कार्यकारी भूमिकामा काम गरेको पाएर बिगतमा पनि पर्यटन मन्त्रालयले छानबिन गरेको थियो ।

बोर्डको खर्चमा कम्पनीको कार्यक्रम, आम्दानी गोजीमा

बोर्डको सिइओजस्तो गहन जिम्मेवारीमा रहेर पनि निजी स्वार्थमा लिप्त सिइओ डा. रेग्मी पर्यटन बोर्डको कसरी दुरुपयोग गरिरहेका छन् भन्ने प्रमाण नयाँ बजेटमा पनि डा. रेग्मीको चलखेलबाट पुष्टि हुन्छ । नयाँ बजेट बोर्डको कार्यकारी समितिले स्वीकृत गर्न बाँकी छ । हाल बजेटका लागि तयारी र छलफल भइरहेको अवस्थामा उनकै कार्यक्रमलाई बोर्डले साइटमा राखिसकेको छ ।

सम्बन्धित कर्मचारीहरु समेत आश्चर्यमा पर्नेगरी माथि उल्लेखित सम्मेलनको दोश्रो संस्करणका रुपमा पोखरामा २०२३ को अक्टोबर ६ देखि ८ सम्म हुने भनिएको उक्त सम्मेलनका बारेमा बोर्डको साइट ntb.gov.np/conference मा हेर्न सकिन्छ । आफुले वर्षौदेखि गरिआएको कार्यक्रमलाई बोर्डको ब्यानर अनि खर्चमा गराएर पैसा कम्पनीमा आउने बनाउने रेग्मीको धन्दादेखि बोर्डका कर्मचारी नै अचम्ममा परेका छन् । रेग्मीकै कारण बोर्डका कामकारवाहीप्रति नै विभिन्न प्रश्न खडा हुन थालेका छन् । बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) का रुपमा रहेका डा. रेग्मीले बोर्डमा रहेर आफ्नो निजी स्वार्थका कमाउधन्दा चलाउँदा बोर्ड नै विवादमा पर्ने अवस्था आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL