Logo

सेयर धितो कर्जा प्रवाह एक वर्षमै ४९ अर्ब बढ्यो, कुन बैंकले कति गरे लगानी ?

सेयर धितो कर्जा प्रवाह एक वर्षमै ४९ अर्ब बढ्यो, कुन बैंकले कति गरे लगानी ?



काठमाडौं । एक वर्षमा सेयर धितो कर्जा करिब ४९ अर्ब रुपैयाँले बढेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको साउन मसान्तसम्मको तथ्यांकअनुसार वाणिज्य बैंकहरुको सेयर धितो कर्जा प्रवाह ४८ अर्ब ९१ करोड रुपैयाँले बढेर १ खर्ब २० अर्ब ६१ करोड रुपैयाँ पुगेको छ । २०८१ को साउन मसान्तसम्म बैंकहरुले ७१ अर्ब ६९ करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका थिए ।

पछिल्लो समय सेयर बजारमा लगानी आकर्षण बढ्दै गएको छ । जसका कारण बैंकहरुले प्रवाह गर्ने सेयर धितो कर्जामा क्रमिकरुपमा सुधार देखिएको हो । अहिले बैंक तथा वित्तीय संस्थामा अधिक तरलताको अवस्था छ । ब्याजदर घट्दो छ । अधिक तरलता रहेको कारण बैंकहरुले कर्जाको ब्याजदर निर्धारण गर्दा थप्ने प्रिमियम दरसमेत घटाएका छन् ।

प्रणालीमा तरलता कम हुँदा ५ प्रतिशतसम्म प्रिमियम थप्दै आएका बैंकहरुले अहिले एक–डेढ प्रतिशतमात्रै प्रिमियम थपेर कर्जा दिएकाले गर्दा पनि ब्याजदर सस्तिएको छ । यसैगरी, बैंकहरुले निक्षेपको ब्याजदर पनि भारी मात्रामा घटाएकाले पनि लागत कम हुँदै गएको छ ।

यसले पनि कर्जाको ब्याजदर थप तल झार्न सहयोग गरेको देखिन्छ । तथापि, अर्थतन्त्रमा आएको शिथिलताको कारण बैंक–वित्तीय संस्थाबाट अपेक्षित रुपमा कर्जा प्रवाह हुन सकेको छैन । पछिल्लो सयम सेयर बजारमा सुस्तता छाउँदा सेयर धितो कर्जा पनि अपेक्षित रुपमा बढ्न नसकेको बैंकरहरु बताउँछन् । यता, चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत केन्द्रीय बैंकले व्यक्तिगत सेयर कर्जाको सीमा बढाएर २५ करोड रुपैयाँ पुर्याएको छ । यो व्यवस्थासँगै सेयर धितो कर्जा अझै बढ्ने जानकारहरुको भनाइ छ ।

सबैभन्दा धेरै सेयर धितो कर्जा प्रवाह गर्नेमा नबिल बैंक

चालु आर्थिक वर्षको साउन मसान्तसम्म आइपुग्दा सबैभन्दा धेरै सेयर धितो कर्जा प्रवाह गर्नेमा नबिल बैंक रहेको छ । यस बैंकको सेयर धितो कर्जा ५४.६६ प्रतिशतले बढेर १६ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ ।

ग्लोबल आइएमई बैंकको सेयर धितो कर्जा ५८.७७ प्रतिशतले बढेर १२ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ । यसअवधिमा एनआइसी एसिया बैंकबाहेकका अरु सबै बैंकको सेयर धितो कर्जा बढेको छ । यता, स्टान्डर्ड चार्टर्ड बैंकले भने हालसम्म सेयर धितो कर्जा प्रवाह गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्