Logo

सिइओ डा. रेग्मीले प्रस्ताव नलगेपछि डब्लुटीएममा नेपालको सहभागिता अनिश्चित, सिइओको स्वार्थमा डुब्दै नेपाली पर्यटन

सिइओ डा. रेग्मीले प्रस्ताव नलगेपछि डब्लुटीएममा नेपालको सहभागिता अनिश्चित, सिइओको स्वार्थमा डुब्दै नेपाली पर्यटन



काठमाडौं । नेपालको पर्यटन प्रवर्द्धनका लागि स्थापित भएको नेपाल पर्यटन बोर्ड यतिबेला एकजनाको स्वार्थका कारण बन्धक बन्दै गएको छ । आफ्नो स्वार्थ र चलखेलअनुरुप बोर्ड नचलेपछि नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) डा. धनञ्जय रेग्मीले यतिबेला विश्वप्रसिद्ध पर्यटन मेलामा रुपमा रहेको वर्ल्ड टुरिजम मार्ट (डब्लुटीएम) मा नेपालको सहभागिता नै नहुने अवस्था श्रृजना गरेका छन् । पाँचवर्षे कार्यकालको अन्त्यतिर पुगेका र पछिल्लो समय आफ्नै विभिन्न चलखेलका कारण समस्यामा परेका डा. रेग्मीले सार्वजनिक गर्न ठीक्क पारेको आर्थिक वर्ष २०८०–२०८१ को पर्यटन बोर्डको बजेटसमेत सार्वजनिक गर्न सकेका छैनन् ।

laxmi

बोर्डको नेतृत्वमा रहेर आफ्नो स्वार्थसिद्धिमा रमाइरहेका डा. रेग्मी यतिबेला संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले उनीमाथि गम्भीर आरोप लगाउँदै बोर्डको बजेट रोक्ने चेतावनी दिएपछि कसरी बजेट पास गर्ने भन्ने संकटमा परेका छन् । हुन त बोर्डमा पर्यटन मन्त्रीले चाहँदै बजेट नरोकिने अवस्था भएपनि मन्त्रालयका सचिव बोर्डको अध्यक्ष रहने भएकाले सचिवले मन्त्रीको चाहनाविपरित बजेट पास गरिहाल्ने स्थिति भने रहँदैन् ।

यता सिइओ डा. रेग्मी भने अहिले मन्त्रालय, मन्त्री र सचिवका कारण बजेट पास हुन नसकेको भन्दै प्रोपोगाण्डा फैलाउन व्यस्त रहेको बोर्डका एक अधिकारीले बताए । पछिल्लो समय सिइओ डा रेग्मीकै गलत नियतका कारण नेपालको वर्ल्ड टुरिजम मार्ट (डब्लुटीएम) मा सहभागिता अनिश्चित बनेको र कर्मचारीले दुई महिनादेखि तलबसमेत नपाएको बोर्डका ती अधिकारीले बताए ।

यसरकारण डब्लुटीएममा नेपालको सहभागिता अनिश्चित

विश्वप्रसिद्ध पर्यटन मेलामा रुपमा रहेको वर्ल्ड टुरिजम मार्ट (डब्लुटीएम) यसपटक आगामी नोभेम्बर ६ देखि लन्डनमा आयोृजान हुँदैछ । प्रत्येक वर्ष हुने उक्त मार्टमा सहभागी हुन पाउनुलाई नेपाली पर्यटन व्यवसायीहरुले अवसरका रुपमा लिने गरेका छन् । सोका लागि बोर्डले सहभागी हुन इच्छुक व्यवसायीहरुमध्ये छनौट गरेर व्यवसायीहरुलाई डब्लुटीएममा सहभागिताका लागि सहजीकरण गर्ने गर्दछ ।

पर्यटन व्यवसायीहरु विश्वकै ठूलो पर्यटन मेलामा सहभागी भएर बिजनेस टु बिजनेस (वीटुवी) मार्फत नेपालमा पर्यटक भित्र्याउन डब्लुटीएम निकै उपयुक्त थलो रहेको बताउँछन् । व्यवसायीहरुले आफ्नो प्याकेजको बारेमा विश्वलाई नै जानकारी गराएर नेपालमा पर्यटक आकर्षित गर्ने अवसरका रुपमा डब्लुटीएम रहँदै आएको छ । यसैले बोर्डले ठूलै बजेट खर्च गरेर डब्लुटीएममा सहभागिता जनाउँदै आएको छ । तर, यसपटक सिइओ डा. रेग्मीको बदमासीकै कारण सहभागिता अनिश्चित बनेको बोर्डका अधिकारी बताउँछन् ।

सिइओ डा.रेग्मीले बजेट पास नभएका कारण डब्लुटीएममा सहभागी हुन नसकिने भन्दै प्रोपोगाण्डा नै फैलाएको बोर्डको अन्तराष्ट्रिय प्रर्वद्धनसम्बन्धी जिम्मेवार एक अधिकारीले बताए । उनका अनुसार बजेट पास नहुने सम्भावना देखिएसँगै र डब्लुटीएममा सहभागिताका लागि आवश्यक प्रक्रिया अघि बढाउन सिइओ डा. रेग्मीलाई समयमै जानकारी गराइएको थियो । सोका लागि आवश्यक बजेट व्यवस्थापनका लागिसमेत सिइओ रेग्मीलाई १५ प्रतिशत पेश्की बजेट लिन बोर्डका अधिकारीहरुले सुझावसमेत दिएका थिए ।

बजेट पास नभएपनि सिइओ डा रेग्मीले चाहेको खण्डमा बोर्डबाट पेश्की बजेट माग गरेर सहजै डब्लुटीएममा सहभागिता जनाउन सक्ने अवस्था थियो । तर, बजेटमा आफ्नो स्वार्थका कार्यक्रम रोक्न मन्त्रालयबाटै दबाब आएको, बोर्डका सदस्यहरुबाट विरोध भएको र बोर्डको रकम दुरुपयोग रोक्न भन्दै बजेट पास गर्न रोकेको भन्दै रिसाएका सिइओ रेग्मीले डब्लुटीएममा सहभागिता रोकेर व्यवसायीहरुलाई मन्त्री र सचिवले बजेट रोकेर सहभागी हुन नपाउने अवस्था आएको भन्ने भ्रम फैलाएर व्यवसायीबाट सहानुभुति हासिल गर्न खोजेको पनि ती अधिकारीले बताए ।

बजेटका कारण रोकिएको होइन सहभागिता

डा. सिइओ रेग्मी र उनी निकटहरुले बजेट पास नहुँदा डब्लुटीएममा सहभागिता रोकिएको प्रचार गरिरहेपनि वास्तविकता भने फरक रहेको छ । बोर्डका उपाध्यक्ष चन्द्र रिजाल डब्लुटीएममा सहभागिताका लागि बजेट समस्या नरहेको बताउँछन् । ‘डब्लुटीएमबारे बोर्डमा कुनै प्रस्ताव आएको छैन् । प्रस्ताव ल्याउने जिम्मेवारी सिइओको हो । उहाँले प्रस्ताव ल्याएको खण्डमा बोर्डमा छलफल गरेर बजेट निकासका लागि कुनै समस्या छैन्’, रिजालले भने–‘बोर्डले बजेट रोकेको भनेर बाहिर आएका सबै हल्ला भ्रमपूर्ण रहेका छन् । हामीले बोर्डमा प्रस्ताव आए नै निर्णय गर्ने हो ।’ रिजालले नीतिगत रुपमा आफुहरुले नियमानुसार निर्णय गर्ने बताए । तर, प्रशासनिक रुपमा गर्नुपर्ने कामहरु र निर्णयहरुबारे आफुहरु जानकार नहुने रिजालले बताए ।

के हो बजेटको विवाद ?

पर्यटन बोर्डले तयार पारेको बजेट चालु आर्थिक वर्ष २०८०/०८१ को दुई महिना बित्नै लाग्दासमेत पारित हुन सकेको छैन । बोर्डले साउनमै चालु आवको बजेट तयार पारेर सञ्चालक समितमा पेस गरेको थियो । तर, बजेटमा डा सिइओ रेग्मीले आफ्नै निजी कम्पनीको कार्यक्रम राखेको, प्रर्वद्धनको मुख्य उद्देश्यभन्दा बाहिर रहेर कमिसनका लागि पूर्वाधरमा धेरै बजेट छुट्टयाएको तथा विभिन्न चलखेल गरेको भन्दै बोर्डका सदस्यहरुबाटै विरोध भएपछि बजेट पारित हुन सकेको छैन् ।

के भन्छन मन्त्री किराँती ?

मन्त्री किराँती भने बोर्डमा सिइओ डा. रेग्मीबाट बजेटको गम्भीर दुरुपयोगका काम भएको भन्दै पर्यटन बोर्डले सार्वजनिक गर्न ठीक्क पारेको आर्थिक वर्ष २०८०–२०८१ को बजेट नै पास नगर्ने अडानमा छन् । मन्त्री किराँतीले नेपाल पर्यटन बोर्डले बजेट सुधार नगरेसम्म बजेट पास हुन नसक्ने एक सार्वजनिक कार्यक्रममै बताइसकेका छन् ।

यसैबीच तयार भइसकेको बजेट पास गर्न भन्दै यसैहप्ता लगातार बसेका बोर्डको बैठकमा पनि बजेटका लागि सहमति जुटाउन सिइओ डां रेग्मी असफल भएका छन् । पर्यटमन्त्रीमा किराँती आएसँगै सिइओ रेग्मीले मन्त्री किराँतीलाई आफ्नो पक्षमा पार्न निरन्तर पहल गरेका थिए । रेग्मीले मन्त्री किराँतीलाई आफै भेटेर तथा अन्य सुत्रसमेत प्रयोग गरेर आफ्नो पक्षमा पार्न प्रयास गरेपनि उनी असफल भएको मन्त्रालयका एक अधिकारीले बताए । सिइओ डा. रेग्मी आफ्नो स्वार्थसिद्धिका लागि मन्त्रालयका मन्त्रीदेखि कर्मचारीसम्मलाई साम, दाम, दण्ड प्रयोग गरेर भएपनि आफ्नो पक्षमा पार्न माहिर मानिन्छन् । यस्तोमा तालुकवाला मन्त्रालयका मन्त्रीलाई आफ्नो पक्षमा पार्नसके बोर्डमा जे गरेपनि छुट पाइने उनको योजना यसपटक भने फेल खाएको छ ।

सिइओ डा.रेग्मीका विभिन्न काण्ड र चलखेलबारे जानकारी पाएका पर्यटन मन्त्री किराँतीले सिइओ डा. रेग्मीलाई सुध्रन सुझाव दिएपनि डा. रेग्मी भने बोर्डको बजेट निजी फाइदामा खर्च गर्ने, आफु निकटकालाई विभिन्न योजनाको ठेक्का दिएर कमिसन कुम्ल्याउने धन्दामा रमाइरहेपछि मन्त्री किराँती उनीसँग असन्तुष्ट छन् । डा. रेग्मी बोर्डमा सिइओ भएपछि बोर्ड विभिन्न काण्डमा बदनाम बन्दै गएको छ ।

मन्त्री किराँतीले पर्यटन बोर्डको बजेट नसच्चिएसम्म हतारमा पास गर्न नसकिने बताउँदै आएका छन् । मन्त्री किराँतीले पर्यटन बोर्डको बजेट सच्चिएर नआएसम्म पारित नहुने बताए । ‘अहिले नै बोर्डको बजेट हतारमा पास गरेर फेरि पनि कसैको दुनो सोझ्याउनको लागि बजेट आउँदैन,’ किराँतीले भने, ‘भौतिक संरचना बनाउने काम पर्यटन बोर्डको होइन । मैले सुरुमा नै बोर्डमा आएर भनेको छु । भौतिक संरचना निर्माण गर्ने पर्यटन विभाग छ । पर्यटन विभागले पर्यटनसम्बन्धि भौतिक संरचना निर्माण गर्ने हो । पर्यटनको प्रर्वद्धन बोर्डले गर्ने हो ।’

बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीको नाम नलिएको भएपनि मन्त्री किराँतीको भनाई भने उनीप्रति नै लक्षित थियो । मन्त्री किराँतीले भौतिक संरचना बनाउने काम पर्यटन बोर्डको नभएको भन्दै बोर्डको बजेट कमिसनको दुनो सोझ्याउनको लागि तत्काल आउन नसक्ने स्पष्ट पारे । पर्यटन क्षेत्रको विकासको लागि भौतिक संरचना निर्माण गर्ने पर्यटन विभाग रहेको भन्दै बोर्डले पर्यटनको प्रर्वद्धन गर्ने रहेको मन्त्री किराँतीको भनाइ छ ।

बोर्डको बजेटमार्फत भौतिक संरचनामा बजेट छुट्याएर ५ देखि १० प्रतिशत कमिसनमा बस्ने जमानाको अन्त्य भएको उनले बताए । आफू मन्त्रालयमा रहेसम्म भौतिक संरचनामा हुने कमिसनको खेल शून्य बनाएर छाड्ने उनको प्रतिबद्धता छ । मन्त्री किराँतीले पर्यटन बोर्डले पर्यटक ल्याउने नाममा ८० देखि ९० करोड रकम युरोप भ्रमणमा खर्च गर्न नपाउने बताए । दुई छिमेकी राष्ट्रको जनसंख्या अर्बमा रहेको भन्दै पर्यटन प्रवर्द्धनका लागि चीन र भारतमा आधा बजेट खर्च गर्नुपर्ने आवश्यकता रहेकोमा जोड दिए ।

‘भौतिक संरचनामा बजेट छुट्याएर ५ देखि १० प्रतिशत कमिसनमा बस्ने जमानाको अन्त्य भयो । म आइसकेको छु यो मन्त्रालयमा म हुन दिन्नँ । भौतिक संरचनामा कमिसन खेल शून्य बनाएर छोड्छु,’ किराँतीले भने, ‘चीन र भारतमा आधा बजेट खर्च गर्नुपर्छ । भूटान र बंलादेशमा पनि जोड गर्नुपर्छ । नेपालीहरूको धेरै श्रमको गन्तव्य भएको खाडी मुलुकहरूलाई पनि बनाउनु पर्छ । अनि मात्रै युरोपलाई पनि बनाउँला । त्यसैले यस्तो चिजहरु सँच्चिदैन भने पर्यटन बोर्डको बजेट आउँदैन ।’ भूटान, बंगलादेश र नेपालीहरूको धेरै श्रमको गन्तव्य भएको खाडी मुलुकहरूमा पनि जोड्ने प्रयास गर्नुपर्ने किराँतीको भनाइ छ । पर्यटन बोर्डले बजेटमा भौतिक संरचना निर्माण हटाएर प्रर्यटन प्रर्वद्धन गर्ने योजना नसच्याएसम्म बोर्डको बजेट नआउने उनले बताए । पर्यटन बोर्डको पैसामा आफन्त घुमाउने र महंगा सामानहरू ल्याएर बाँड्ने र बेच्ने सुविधा कसैलाई नभएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
MBL