Logo

एक बर्षमा १३ लाख इन्टरनेट प्रयोगकर्ता थपिए : आइएसपीका बढे, टेलिकमका घटे

एक बर्षमा १३ लाख इन्टरनेट प्रयोगकर्ता थपिए : आइएसपीका बढे, टेलिकमका घटे



काठमाडौं । गएको एक बर्षमा मात्रै नेपालमा इन्टरनेट प्रयोगकर्ताको संख्या करिव १३ लाखले बढेको पाईएको छ । नेपाल दूरसंचार प्राधिकरणले हालै सार्वजनिक गरेको तथ्यांक अनुसार गएको बर्ष बैशाख देखि चालु बर्षको बैशाखसम्म १२ लाख ९५ हजार २ सय ४५ जना इन्टरनेट प्रयोगकर्ता थपिएका हुन् ।

laxmi

प्राधिकरणले इन्टरनेटको एउटा कनेक्सन बराबर ४.३७ जनाले चलाउने गरेको तथ्यांकलाई आधार मान्दा हालसम्म नेपालमा ३ करोड ९३ लाख २ हजार ४ सय ४८ जनाको पहुँचमा ब्रोडब्याण्ड इन्टरनेट पुगिसकेको छ । यो नेपालको जनसंख्याको १ सय ३४ प्रतिशत हो । अर्थात नेपालको जनसंख्याभन्दा ३४ प्रतिशत बढी जनसंख्यासम्म ब्रोडब्याण्ड इन्टरनेटको पहुँच पुगिसकेको तथ्यांकमा उल्लेख छ । गत बर्ष बैसाखसम्म नेपालमा इन्टरनेटको पहुँचमा पुगेको नेपालीको संख्या ३ करोड ८० लाख ७ हजार २ सय ३ जना थियो ।

यसरी एकै बर्षमा सबैभन्दा धेरै इन्टरनेट प्रयोगकर्ता भने इन्टरनेट सेवाप्रदायक कम्पनी (आइएसपी) र टेलिकम कम्पनीको फोरजी सेवामार्फत थपिएको पाईएको छ । गत बर्षको बैशाखसम्म आइएसपीहरुले वितरण गर्ने इन्टरनेट सेवाका प्रयोगकर्ता ७८ लाख ६९ हजार २ सय ७७ रहेकोमा यो बर्षको बैशाखमा बढेर १ करोड ३ लाख ७ हजार ८ सय ३ पुगेको छ । यो गत बर्षको बैशाखको तुलनामा करिव २६ लाखले बढी हो ।

यस्तै यसै अवधिमा नेपाल टेलिकम र एनसेलले उपलब्ध गराउने मोबाईल ब्रोडब्याण्ड अन्तर्गतको फोरजी सेवा विस्तारका कारण पनि यो बर्ष इन्टरनेटको पहुँचमा पुग्नेको संख्यामा वृद्धि देखिएको छ । गत बर्षको बैशाखमा फोरजी सेवाका सेवाग्राहीको संख्या जम्मा १ करोड ७६ लाख ६६ हजार थियो । यो बर्षको बैशाखमा भने यो संख्या बढेर १ करोड ९७ लाख ८१ हजार बढी पुगेको छ । यो एक बर्षमै फोरजी चलाउनेको संख्या मात्रै करिव २१ लाख १५ हजारले बढेको पाईएको छ ।

नेपाल टेलिकमका इन्टरनेट प्रयोगकर्ता घटे

नेपालको इन्टरनेट क्षेत्रमा सबैभन्दा ठुलो योगदान भने नेपाल टेलिकमको रहेपनि यसबीचमा टेलिकमको इन्टरनेट प्रयोगकर्ता भने उल्लेख्य घटेको पाईएको छ । प्राधिरकणको तथ्यांकलाई आधार मान्दा गत बर्षको बैशाख देखि चालु बर्षको बैशाखसम्म मात्रै टेलिकमले प्रदान गर्ने इन्टरनेट प्रयोगकर्ताको संख्या १२ लाख ११ हजार २ सय ९३ जनाले घटेको हो । गत बर्षको बैशाखमा नेपाल टेलिकमको इन्टरनेट प्रयोगकर्ताको संख्या २ करोड १२ लाख १९ हजार रहेकोमा यो बर्षको बैशाखमा घटेर २ करोडमा सीमित भएको हो ।

यस अवधिमा नेपाल टेलिकमको फोरजी सेवाका प्रयोगकर्ता भने १ करोड ८ लाखबाट बढेर १ करोड २६ लाख पुगेपनि थ्रिजी र एडीएसएलका प्रयोगकर्ता भने क्रमशः २८ लाख र साढे २ लाखले घटेका कारण टेलिकमको समग्र इन्टरनेट प्रयोगकर्ता घटेको बताईएको छ ।

नेपाल टेलिकमले निष्कृय रहेका सिमकार्डहरु खारेजसँगै एडीएसएल र थ्रिजीलाई विस्थापित गर्ने नीति लिएपछि इन्टरनेट प्रयोगकर्तामा केहि संकुचन आएको नेपाल टेलिकमका अधिकारीहरुले जानकारी दिएका छन् । यता एनसेलको पनि थ्रिजी प्रयोगकर्ता २० लाख ६८ हजार बाट घटेर १८ लाख २२ हजारमा झरेका छन् ।

यस अवधिमा सबैभन्दा बढी सेवाग्राही भने आइएसपीहरुकै बढेका छन् । प्राधिरकणको तथ्यांकलाई आधार मान्दा गत बर्षसम्म २१ लाख ३७ हजार ९ सय ६१ कनेक्सनमार्फत ७९ लाख ४० हजार १५ जनासम्म इन्टरनेट सेवा पुर्याएएका आइएसपीहरुले यो संख्यालाई गत बैशाखसम्म बढाएर २६ लाख ४७ हजार ३ सय ७९ कनेक्सनमार्फत १ करोड ३ लाख ६९ हजार जनासम्म पुर्याएका हुन् । इन्टरनेट सेवाप्रदायकहरुले केबल/फाईबर र वाईफाईमार्फत इन्टरनेट सेवा प्रदान गरिरहेका छन् ।

इन्टरनेटमा कुन कम्पनीको वर्चस्व ?

नेपालको इन्टरनेट क्षेत्रमा सेवाग्राहीको संख्यालाई आधार मान्दा हालसम्म नेपाल टेलिकमको इन्टरनेट प्रयोगकर्ता नै बढी छन् । प्राधिरकणको तथ्यांक अनुसार नेपाल टेलिकमले एडीएसल, फाईबर/केबल, थ्रिजी, फोरजी र इभीडीओमार्फत इन्टरनेट सेवा प्रदान गर्दै आएकाले यसका प्रयोगकर्ता हालसम्म २ करोड ८ हजार पुगेका छन् । तसर्थ यो नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदान गर्ने कम्पनी पनि हो । तर, फिक्स्ड ब्रोडब्याण्डमा भने नेपाल टेलिकम दोस्रो स्थानमा छ ।

सेवाग्राहीको संख्याकै आधारमा अर्काे ठुलो कम्पनी भने वर्ल्डलिंक हो । नेपालमा गएको बैशाखसम्म यसका प्रयोगकर्ता ३२ लाख २८ हजार बढी छन् । हुन त कम्पनीले हालसम्म ७ लाख ५२ हजार ५ सय ७३ कनेक्सन जडान गरेको छ । एक कनेक्सन बराबर ४.३७ जना सेवाग्राही हुने आँकडाअनुसार यसलाइ गुणन गर्दा उक्त आँकडा निस्कन्छ ।

यसैलाई आधार मान्दा नेपालको इन्टरनेट बजारमा तेस्रो ठुलो कम्पनी भने क्लासिकटेक हो । हाल यसका प्रयोगकर्ता ११ लाख ८० हजार जना छन् । यस्तै चौथो, पाँचौं, छैठौं र सातौ स्थानमा भने क्रमशः भायानेट, सुविसु, डिस मिडिया र वेबसर्फर छन् । यि कम्पनीहरुका सेवाग्राही क्रमशः ११ लाख ५४ हजार, ११ लाख १६ हजार, १० लाख ३ हजार र ६ लाख ४४ हजार जना छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL