Logo

अर्थमन्त्री र निजी क्षेत्रका प्रतिनिधिहरुबीच छलफल : क्षति भएका संरचनाको पुनःनिर्माण र सहुलियतको आश्वासन

अर्थमन्त्री र निजी क्षेत्रका प्रतिनिधिहरुबीच छलफल : क्षति भएका संरचनाको पुनःनिर्माण र सहुलियतको आश्वासन



काठमाडौं । गत भदौ २३ र २४ गतेको प्रदर्शनबाट निजी क्षेत्रको उद्योग व्यवसाय तथा लगानीमा पुगेको क्षतिलाई सम्बोधन गर्न अर्थमन्त्री रामेश्वर खनालले आज निजी क्षेत्रका प्रतिनिधिहरूसँग अर्थ मन्त्रालयमा छलफल तथा अन्तरक्रिया गरेका छन्।

छलफलमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ, नेपाल अटो डिलर्स एशोसिएसन, चौधरी तथा भाटभटेनी समूहसहितका उद्योगी व्यवसायीहरूको सहभागिता रहेको थियो। निजी क्षेत्रका प्रतिनिधिहरूले नवनियुक्त अर्थमन्त्रीलाई बधाई ज्ञापन गर्दै उद्योग व्यवसायको सुरक्षा, प्रवर्द्धन तथा लगानी प्रोत्साहनका लागि सरकारले विश्वस्त तुल्याउनुपर्ने आग्रह गरे। साथै, प्रदर्शनका क्रममा भएको क्षतिको भरपाईका लागि कर सहुलियत, सहुलियतपूर्ण कर्जा र बिमा रकम छिटो भुक्तानीको व्यवस्था गर्न माग राखे।

छलफलमा अर्थसचिव घनश्याम उपाध्यायले दशैंबाहेक अन्य सार्वजनिक विदामा पनि बैंक तथा भन्सार खुला राख्ने र पहिरोले अवरुद्ध तातोपानी नाका खोल्ने प्रयास भइरहेको जानकारी दिए।

यसै अवसरमा मन्त्री खनालले थापाथलीस्थित अटो सेक्टर, कोटेश्वरको भाटभटेनी सुपरस्टोर, अन्नपूर्ण र कान्तिपुर मिडिया हाउस तथा ट्राफिक प्रहरी कार्यालयलगायत क्षतिग्रस्त संरचनाको अवलोकन गरेको उल्लेख गर्दै निजी क्षेत्रका समस्यासँग आफू परिचित भएको बताए। उनले सार्वजनिक तथा निजी क्षेत्र दुवैमा पुगेको क्षतिको पुनःनिर्माणका लागि कोष खडा गर्ने निर्णय भइसकेको जानकारी पनि गराए।

अर्थमन्त्री खनालले उद्योग व्यवसायीको समस्या सरकारको पनि समस्या भएको बताउँदै इन्टिग्रेटेड बिजनेस रिकभरी प्लान ल्याइने स्पष्ट गरे। कर र मौद्रिक नीतिबाट दिन सकिने सहुलियतप्रति सरकार सकारात्मक रहेको उल्लेख गर्दै उनले सार्वजनिक निकायका कर्मचारीलाई सेवा प्रवाहलाई नागरिकले प्रत्यक्ष महसुस गर्न सक्ने खालको कार्यप्रणाली अपनाउन निर्देशन दिइएको बताए।

प्रतिक्रिया दिनुहोस्