काठमाडौं । दशैंको यात्रालाई सहज बनाउन सरकारले घटस्थापना (असोज ६) देखि असोज २२ गतेसम्म नेपालभर रुट परमिट खुला गर्ने निर्णय गरेको छ । मंगलबार बसेको सरोकारवालासँगको बैठकपछि यातायात व्यवस्था विभागले यस्तो जानकारी दिएको हो ।
विभागका अनुसार कुनै विशेष कारणले प्रतिबन्धित मार्गमा भने निषेध कायम रहनेछ । साथै, मध्यम तथा लामो दूरीका सार्वजनिक यातायातका लागि अग्रिम टिकट बुकिङ प्रणालीलाई निरन्तरता दिने निर्णय समेत गरिएको छ ।
यात्रुहरूको सहज आवागमन सुनिश्चित गर्न खाद्यान्न तथा अत्यावश्यक वस्तु ढुवानी बाहेकका ट्रेलरजस्ता ठूला सवारी साधनलाई असोज ६ देखि असोज २० सम्म नारायणघाट–काठमाडौं मार्गमा सञ्चालन गर्न नपाइने व्यवस्था गरिएको विभागले जनाएको छ ।
तर, आयात–निर्यातका मालवाहक सवारीसाधन भने भन्सार कार्यालय खुला रहने दिनमा उक्त मार्ग प्रयोग गर्न सक्नेछन् ।