Logo

नेपाल टेलिकमको उपभोक्तामाथि निरन्तर शोषण : सेवामा अवरोधले उपभोक्ता पीडित, नियामकको वेवास्ता

नेपाल टेलिकमको उपभोक्तामाथि निरन्तर शोषण : सेवामा अवरोधले उपभोक्ता पीडित, नियामकको वेवास्ता



काठमाडौं । देशको सबैभन्दा ठूलो सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमको नेटवर्क अवरोधका कारण पछिल्लो समय उपभोक्ताले निरन्तर सास्ती बेहोर्दै आएका छन् । रकम खर्च गरेर पनि सहज सेवा उपभोग गर्न नपाइरहेका कारण नेपाल टेलिकमका उपभोक्ताले टेलिकमबाट निरन्तरको शोषण भोगिरहेका छन् । कम्पनीले प्रदान गर्ने गुणस्तरहीन भ्वाइस र डाटा सेवाका कारण बदनाम हुँदै गएपनि सुधारको पहल भने शून्य छ । खासगरी २०७९ यता नै कम्पनीको प्रणालीमा लगातार अवरोध सिर्जना हुँदै आएको छ । अझ पछिल्लो समय त कम्पनीको सेवामा बढी नै अवरोध आउन थालेसँगै सेवाग्राही हैरान हुँदै गएको देखिन्छ ।

विस २०७९ देखि हालसम्म कम्पनीको नेटवर्कमा फोन नलाग्ने, इन्टरनेट नचल्ने, एसएमएस नजाने, र ब्यालेन्स चेक नहुने समस्या दर्जनौपटक देखिइसकेको छ । यसैका कारण कम्पनीका लाखौँ सेवाग्राहीको दैनिकी नै प्रभावित हुनेगरेको छ । हालैमात्रै गएको जेठ २६ र २७ गतेका दिन दिनभर नै टेलिकमको सेवामा अवरोध देखिएको थियो । त्यतिमात्रै होईन हिजो (साउन १२ गते) पनि टेलिकमको सेवा बिहान साढे १२ बजेपछि साँझसम्म नै अवरुद्ध भयो । पछिल्ला ३ बर्षलाई फर्केर हेर्दा मात्रै पनि टेलिकमको सिस्टममा एक दर्जन बढीपटक समस्या देखिएको टेलिकम स्रोतले जानकारी दिएको छ ।

नेपाल टेलिकमका प्रवक्ता रविन्द्र मानन्धरले पछिल्लो समय देखिएका सेवा अवरोधहरु भने अनलाइन चार्जिङ सिस्टम (ओसीएस) मा देखिएको प्राविधिक खराबीका कारण भएको बताएका छन् । केहि समयका लागि सेवामा समस्या देखिएपनि प्राविधिक टोलीले त्यसलाई छिट्टै समाधान गर्ने गरेको उनी बताउँछन् । तर, यसरी लगातार नै टेलिकमको सेवामा अवरोध दोहोरिरहँदा टेलिकमले ग्राहकप्रतिको न्यून जवाफदेहिता र नियामकलाई गरेको अटेरी सावित हुने यससम्बद्ध सरोकारवालाहरु बताउँदै आएका छन् । यता नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणको कमजोर अनुगमन र सेवाग्राहीको मौनताले टेलिकमलाई यस्ता समस्याबाट उम्किने बाटो दिएको छ । दीर्घकालीन समाधानको कुनै योजना नहुँदा प्रयोगकर्ता आजित छन्, र नियामक नेतृत्वको निरिहताले यो अवस्था झन् जटिल बन्दै गरेको आभास हुनेगरेको छ ।

टेलिकमले देशभर मोबाइल, इन्टरनेट, र ल्यान्डलाइन सेवा प्रदान गर्दै आएको छ । तर, प्राविधिक खराबी, अपर्याप्त पूर्वाधार, प्राकृतिक प्रकोप, र स्थानीय अवरोधले नेटवर्कमा बारम्बार समस्या देखिँदै आएको छ । यसअघि २०७९ फागुन ३ गते देशव्यापी नेटवर्क अवरोधले व्यक्तिगत र व्यावसायिक सञ्चारमा कठिनाइ भयो । त्यसदिन दिउँसो १ः३० बजेपछि शुरू भएको यो समस्या केही घण्टासम्म कायम रह्यो । अनलाइन कारोबार र आपतकालीन सम्पर्क प्रभावित भए । सामाजिक सञ्जालमा प्रयोगकर्ताले टेलिकमप्रति तीव्र असन्तुष्टि व्यक्त गरे, तर नियामक निकायले कुनै ठोस कदम चालेन । त्यसपश्चात २०८१ फागुन २८ गते काठमाडौँ, पोखरा, र बुटवलमा मोबाइल र ल्यान्डलाइन सेवामा अवरोध देखियो । अनलाइन कक्षा र डिजिटल नै गर्न नपाएर धेरैजसो सेवाग्राहीहरु आक्रोशित बने । टेलिकमले कारण खुलाएन, र नियामक मौन रह्यो ।

त्यसपश्चात गएको जेठ २६ र २७ गते डेढ घण्टासम्म सेवा ठप्प हुँदा अनलाइन कारोबार, शिक्षा, र आपतकालीन सञ्चारमा ठूलो प्रभाव प¥यो । पुनः हिजो अर्थात साउन १२ गते पनि यस्तै समस्या दोहोरियो । यसैका कारण दिउँसो १२ बजेदेखि साँझ ५ बजेसम्मै पोस्टपेड मोबाईलमा फोन नलाग्ने र टेलिकमको डाटा नै नचल्ने समस्या देखियो । यी त केहि प्रतिनिधि र बाहिर देखिने ठुला अवरोधहरु मात्रै हुन् । त्यसबाहेकका अवरोधहरु पनि बग्रेल्ती रहेका नेपाल टेलिकमकै एक कर्मचारीले नाम नबताउने शर्तमा भने । ‘आन्तरिक रुपमा धेरैदिन टेलिकमको सेवामा अवरोध आईरहन्छ तर त्यस्ता अवरोधहरुमा सेवाग्राहीले खासै चासो दिँदैनन् पनि,’ उनले भने, ‘टेलिकमको बिलिङ सिस्टम नै पुरानो हुँदा सेवाग्राहीले थाहै नपाउनेगरी पनि सयौंपटक सेवा अवरुद्ध भएका प्रमाणहरु छन् ।’

नेपाल टेलिकमको ओसीएसले प्रयोगकर्ताको ब्यालेन्स, रिचार्ज, र डेटा व्यवस्थापन गर्छ । यसमा खराबी आउँदा समग्र सेवा अवरुद्ध हुन्छ । गएको जेठ २६ र २७ को अवरोधले यो प्रणालीको कमजोर मर्मत र अपग्रेडको कमी देखायो । टेलिकमले आधुनिक प्रविधिमा लगानी गर्नुको सट्टा परम्परागत शैली नै अपनाइरहँदा लगातार समस्या निम्तिएको देखिन्छ । तर, टेलिकमले नयाँ बिलिङ सिस्टम स्थापना गर्न कोशिस गरिरहेपनि टेलिकममा आउने नेतृत्वको खराव चरित्र, त्यसमाथि छोटो समयमै निलम्बनमा पर्नुपर्ने समस्याहरुका कारण प्रणाली स्थापनामा ढिलाई हुँदै आएको छ । यसैबीच नयाँ बिलिङ प्रणाली स्थापनाका लागि टेलिकमले गरेको खरिद प्रक्रियामै भ्ष्टाचारको आरोप लागेपछि टेलिकमको नेतृत्वमाथि हाल छानविन पनि भईरहेको छ । यता नियामक निकायले यस्ता प्रणालीको नियमित जाँच र गुणस्तर मापदण्ड लागू गर्न कुनै कदम नचालेको देखिन्छ । सेवाग्राहीले सामाजिक सञ्जालमा गुनासो गरेपनि संगठित विरोध वा कानुनी कदम चाल्ने हिम्मत देखाएका छैनन् । यो मौनताले टेलिकमलाई जवाफदेही बनाउन कठिन हुँदै गएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्