काठमाडौं । हालै जेन जीको आह्वानमा भएको आन्दोलनका क्रममा ३० जनाको मृत्यु र एक हजारभन्दा बढी घाइते भएपछि प्रमुख युवा संगठनहरूले संयुक्त वक्तव्य जारी गर्दै गहिरो दुख प्रकट गरेका छन् ।
नेपाल तरुण दल, राष्ट्रिय युवा संघ नेपाल, वाइसीएल नेपाल, युवा संघ नेपाल र अखिल नेपाल युवक संघले संयुक्त वक्तव्य जारी गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् भने घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । साथै, घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडाभन्दा कडा कारबाही गर्न माग गरेका छन् ।
वक्तव्यमा भ्रष्टाचारमुक्त राष्ट्र, पारदर्शिता, न्याय र जवाफदेहितामा आधारित शासन प्रणालीका जेन जी युवाको मागलाई समर्थन गर्दै भ्रष्टाचारमा संलग्न व्यक्तिहरूलाई कानूनी सजाय दिनुपर्नेमा जोड दिइएको छ ।
युवा संगठनहरूले प्रधानमन्त्रीले राजीनामा दिएपछि समेत तोडफोड, आगजनी र लुटपाट भइरहनु दुर्भाग्यपूर्ण भएको उल्लेख गर्दै सुरक्षा निकाय किन मुकदर्शक बनेर बसिरहेको भन्ने प्रश्न उठाएका छन् । उनीहरूले सुरक्षा निकायको भूमिकाको गम्भीर समीक्षा र टोलटोलमा सुरक्षा समिति गठन गरेर विध्वंसकारी गतिविधि रोक्न माग गरेका छन् ।
साथै, मुलुकको आगामी राजनीतिक निकास लोकतान्त्रिक मूल्य र संविधानभित्रैबाट खोजिनुपर्नेमा जोड दिँदै आन्दोलनको शुद्धता र उद्देश्यलाई क्षति पुर्याउने गतिविधि तत्काल रोक्न सबैलाई आह्वान गरेका छन् ।
संयुक्त वक्तव्यमा नेपाल तरुण दलका सभापति विद्वान गुरुङ, राष्ट्रिय युवा संघ नेपालका क्षितिज थेबे, वाइसीएल नेपालका अध्यक्ष पुष्प ओली, युवा संघ नेपालका अध्यक्ष रोशन थापा र अखिल नेपाल युवक संघका अध्यक्ष गणेश अधिकारीको हस्ताक्षर रहेको छ ।
