काठमाडौं । विश्वमा १४ वर्षअघि नै व्यवसायिक रुपमा संचालनमा आएको चौथो पुस्ताको (फोरजी) दूरसञ्चार सेवा नेपालका धेरै स्थानमा अझै पुग्न सकेको छैन । नेपालले पनि करिव ९ बर्षअघि नेपालभर फोरजी सेवा पुर्याउने प्रतिवद्धतासहित विस्तारको काम सुरु गरेको थियो । तर, यस्तो काम सुरु भएको ९ बर्ष वितिसक्दा पनि हाल धेरै स्थानका सेवाग्राहीहरु फोरजीसँग साक्षात्कार हुन पाएका छैनन् । अझ फोरजी सेवा उपलब्ध भएका काठमाडौं, पोखराजस्ता प्रमुख शहरभित्रैपनि उपभोक्ताले गुणस्तरीय सेवा पाउन नसकेको गुनासो गर्दै आएका छन् ।
सन २००९ डिसेम्बर १४ का दिन टेलिकम कम्पनी टेलियासोनेराले नर्वेको राजधानी ओस्लो र स्वीडेनको राजधानी स्टकहोमबाट फोरजी सेवाको व्यवसायिक सुरुवात गरेको थियो । त्यसको झण्डै ५ बर्षपछि अर्थात विसं २०७३ कार्तिकमा मात्रै नेपाल टेलिकमले नेपाल दूरसंचार प्राधिकरणबाट पहिलोपल्ट फोरजी सेवा संचालनको अनुमति पाएको थियो । नर्वे र स्वीडेनमा व्यवसायिक रुपमा संचालनमा आएको ५ बर्षपछि फोरजी सेवा संचालन गर्ने अनुमति पाएपनि यसको विस्तारको काम सुरु हुन भने झण्डै ३ बर्ष थप लाग्यो । अनुमति पाएको २ बर्षपछि २०७५ माघमा नेपाल टेलिकमले दुई चिनियाँ कम्पनी हुवावे र जेडटीईलाई १ बर्षभित्रै नेपालभर फोरजी सेवा संचालन गर्नेगरी त्यसको जिम्मेवारी सुम्पिएको थियो ।
सम्झौत अनुसार ती दुई कम्पनीले २०७७ को माघभित्रमा नेपालका ७७ वटै जिल्लामा फोरजी सेवा विस्तार गरी संचालनमा ल्याउनुपर्ने भएपनि त्यसको करिव ६ बर्ष वितिसक्दा पनि नेपालका धेरैजसो हिमाली र केहि पहाडी जिल्लाका धेरैजसो स्थानहरुमा यसको पहुँच पुगिसकेको छैन । हालसम्म सबै जिल्लाका सदरमुकाममा फोरजी सेवा पुगेपनि सबै स्थानमा भने पुगिनसकेको नेपाल टेलिकमका प्रवक्ता रविन्द्र मानन्धर स्वीकार्छन् । ‘हुम्लामा बाहेक सबै जिल्लामा अप्टिकल फाइबरबाटै फोरजी सेवा विस्तार भईसकेको छ भने हुम्लामा रेडियो वेभमार्फत फोरजी पुयाईएको छ,’ उनले भने, ‘तर, यी जिल्लाहरुका सबै स्थानमा फोरजी सेवा पुग्यो भनेर भन्न सकिने अवस्था छैन, अझैपनि हिमाली जिल्लाहरुका धेरै स्थानमा टुजी सेवा नै संचालनमा छ ।’
हाल धेरै जिल्लाका धेरै स्थानहरुमा फोरजी सेवा नपुगेपछि पुरानो प्रविधि टुजी र थ्रिजीले नै काम चलाइरहेकोसमेत उनले बताए । खासगरी हालसम्म नेपालका सबै स्थानहरुमा फोरजी सेवाको पहुँच नपुग्नुमा नेपाल दूरसंचार प्राधिकरणले गरेको उपकरण आयातमा असहजीकरण, कोरोना महामारीलगायत समस्या टेलिकमले देखाउने गरेको छ । यति मात्रै नभएर फोरजी सेवा विस्तारको सम्झौता हुने बेलामै यो असम्भव सम्झौता गरिएको दूरसंचार विज्ञहरुले बताउँदै आएका छन् । नेपालभर फोरजी सेवा विस्तार गरी संचालन गर्न सकिने कुरा चानचुने थिएन । तर, राजनीतिक पहुँच र खिचातानीका आधारमा एक बर्षमै सेवा संचालन गर्नेगरी असम्भव सम्झौता गरिएको विज्ञ आनन्दराज खनाल बताउँछन् ।
‘सर्वप्रथमतः फोरजी सेवा विस्तारको सम्झौता हुनेबेलामै गल्ती भएको छ,’ उनले भने, ‘नेपालभरको त्यसबेलासम्मको दूरसंचारको पहुँच र प्रविधिको उपलब्धतालाई ध्यान दिएर मात्रै सम्झौता गर्नुपर्नेमा राजनीतिकै कारण यो आयोजनामा समस्या निम्तिएको देखिन्छ ।’ सम्झौताअनुसार काम एक वर्षमा सम्भव नभएको अवस्थामा बीचमा कोरोना महामारीले फोरजी विस्तार प्रभावित भएको उनको तर्क छ । कोरोना महामारीपछि पनि नेपाल दूरसंचार प्राधिकरणले फोरजी विस्तारका लागि आवश्यक उपकरणहरु आयातका लागि सहजीकरण नगरिदिनाले यसको विस्तारमा ढिलाई हुँदा हालसम्म अर्थात सम्झौता भएको ९ बर्षसम्म पनि देशभरका धेरैजसो स्थानमा फोरजी सेवाको पहुँच पुग्न नसकेको उनको भनाई छ ।
नेपाल दूरसंचार प्राधिकरणको तथ्यांकलाई आधार मान्दा मोबाइल ब्रोडब्याण्ड सेवाका कुल २ करोड ६५ लाख सेवाग्राहीमध्ये २ करोड ५६ लाख ३६ हजार जनाले फोरजी सेवाको उपयोग गर्न पाइरहेका छन् । यस्तै बाँकी रहेका ८ लाख ६३ हजार सेवाग्राही अझै थ्रिजी प्रविधिको भरमा इन्टरनेटको उपयोग गर्ने गरेको देखिन्छ । प्राधिकरणको तथ्यांकलाई आधार मान्दा नेपाल टेलिकमको फोरजी सेवा प्रयोग गर्ने सेवाग्राहीको संख्या १ करोड ४० लाख हुँदा एनसेलका सेवाग्राहीको संख्या १ करोड १६ लाख ३३ हजार माथि छ । यो गएको असार मसान्तसम्मको तथ्यांक हो । गत बर्ष असार मसान्तसम्म यी दुबै सेवाप्रदायकको फोरजी सेवाग्राहीको संख्या क्रमशः १ करोड ५२ लाख र ६९ लाख ५० हजार बढी थियो । यो बर्ष नेपाल टेलिकमका फोरजी सेवाग्राहीको संख्या घट्दा एनसेलका सेवाग्राही भने बढेको प्राधिकरणको तथ्यांकले पुष्टि गरेको छ ।
ठेक्का लाग्नै ३ बर्ष
विश्वका विकसित देशहरुमा चौथो पुस्ताको फोरजी सेवा विस्तार हुँदै गर्दा नेपाल दूरसंचार प्राधिकरणले नेपाल टेलिकमलाई २०७३ कार्तिक ५ गते अनुमति दिएको थियो । प्राधिकरणको बोर्ड बैठकले १८ सय मेगाहर्ज ब्याण्डमा १५ मेगाहर्ज फ्रिक्वेन्सी दिएर फोरजी संचालनको अनुमति दिएको थियो । टेलिकमले अनुमति पाएको २ महिनापश्चात २०७३ पुष १७ गतेदेखि काठमाडौं र पोखराको केहि बिटिएस टावर थ्रिजी स्तरोन्नति गरी फोरजी सेवा संचालनमासमेत ल्याइएको थियो ।
टेलिकमले थ्रीजी स्तरोन्नति गरेर फोरजी संचालनमा ल्याउँदा पछि फाइभजी संचालनका लागि थप खर्च लाग्ने भएपछि फाइभजीलाई पनि सपोर्ट गर्नेगरी फोरजी विस्तार गर्ने नीति अवलम्बन गरेको थियो । जसका लागि २०७४ कार्तिकमा टेलिकमले ३ छुट्टाछुट्टै परियोजना बनाएर ठेक्का आह्वान गरेको थियो । सो टेण्डर आह्वान गर्दा टेलिकम नेतृत्व र चिनियाँ कम्पनी हुवावेका प्रतिनिधिले अरुले प्रतिस्पर्धामा भागै लिन नपाउने गरी ‘स्पेसिफिकेसन’ तयार पारेको भन्दै अख्तियारमा उजुरी परेको थियो । जसको फाइलको टुंगो लगाउनै अख्तियारलाई करिव १ बर्षको समय लाग्यो ।
अख्तियारले टेलिकमको उक्त फाइल टुंगो लगाएपछि २०७५ पुष १७ गते बसेको मन्त्रिपरिषदको बैठकले एक बर्षभित्रमा नेपालभर फोरजी विस्तार गर्न भन्दै यसको जिम्मा हुवावेको अर्काे कम्पनी सीसीएसआई र जेडटीईलाई दिने निर्णय भएको थियो । मन्त्रिपरिषदले निर्णय गरेपश्चात २०७५ माघ २० गते फोरजीको कोर नेटवर्कका लागि जेडटीईले र रेडियो एक्सेस नेटवर्किङ (र्यान)का लागि सिसिएसआईले टेन्डर हात पारे । उक्त टेण्डर सम्झौताकै बेलामा दुबै कम्पनीलाई एक बर्षभित्र नेपालभर फोरजी सेवा विस्तार गर्नुपर्ने सर्त राखिएको थियो ।
सम्झौता भएको १ बर्ष वा २०७६ फागुनसम्म देशभर फोरजी विस्तार गरिसक्नुपर्ने थियो । तर, त्यो म्याद सकिएको नै हाल साढे ५ बर्ष वितिसक्दा पनि यी दुई कम्पनीले नेपालभर फोरजी सेवा विस्तार गर्न भने सकेका छैनन् । यसअघि नेपाल टेलिकमले २०७६ को असोजमा आफ्नो सेवा सातै प्रदेशमा पुगिसकेको घोषणा गरेको थियो । कम्पनीले एक कार्यक्रमको आयोजना गरेरै सातै प्रदेशका मुख्य सहरहरुमा फोरजी सेवा सुचारु गरेको घोषणा गरेको थियो । पुनः बेलाबेलामा टेलिकमले विभिन्न सहरमा र स्थानीय तहमा फोरजी सेवा पुर्याएको घोषणा गर्दै आएको भएपनि भनेबमोजिम न सेवा विस्तार भएको देखिन्छ न फोरजी सेवाको गुणस्तर नै राम्रो छ ।
विस २०७५ सालमा दुई चिनियाँ कम्पनीसँग फोरजी सेवा विस्तारको सम्झौता गर्ने बेलामै ३६ महिना लाग्ने परियोजनालाई १ बर्षको म्याद राखेर सम्झौता गरिएको थियो । यसरी कम समय राखेर सम्झौता गर्दा पनि यसको विस्तारमा केहि ढिलाई भएको टेलिकम बताउँदै आएको छ । कोरोना महामारीलगायतका कारण त छँदैछन् । टेलिकमले भेण्डरलाई समयमै ताकेता गर्न नसक्नुले फोरजी विस्तारमा ढिलाई भईरहेको टेलिकमकै एक उच्चपदस्थ कर्मचारी बताउँछन् । ‘समयमै भेण्डरले उपकरण ल्याउँदैन, काम गरिदिँदैन,’ उनले भने, ‘यसको दोष टेलिकमलाई गएपनि सोहीअनुसार टेलिकमको व्यवस्थापन पक्ष चुपचाप छ ।’
देशभर फोरजी सेवा संचालन गर्नका लागि ५ हजार ८ सय स्थानमा ६ हजार ८ सय स्मालसेल पनि स्थापना गर्नुपर्नेमा त्यसको काम पनि भइसकेको छैन । कम्पनीको फोरजी सेवा भित्री गल्ली र ठुला भवनहरुमा पनि पुर्याउनका लागि यस्तो स्मालसेल जोड्ने सम्झौतामा उल्लेख छ ।
फाइभजीको चर्चा
टेलिकमको फोरजी सेवा विस्तारको सम्झौतामा फोरजी विस्तार गर्ने कम्पनी जेडटीई र हुवावेले नै फाइभ–जी परीक्षणका उपकरण ल्याएर जडान गर्ने सहमति भएको थियो । तर, सबैतिर फोरजीको विस्तृत विस्तार भइसकेपछि मात्रै गर्नुपर्ने फाईभ जी परीक्षण फोरजीको विस्तार नसकिँदै सुरु गरिएको थियो । माथि उल्लेख गरिएझैं नेपाल टेलिकमले हालसम्म नेपालका धेरै स्थानमा फोरजी सेवा पुर्याउन नसकेपनि फाइभजी प्रविधिको परीक्षण भने गरिसकिएको घोषण गर्दै आएको छ ।
फाईभजी परिक्षणका लागि भन्दै २०७८ मा प्राधिकरणले एक बर्षका लागि २६ सय मेगाहर्ज ब्याण्डमा ६० मेगाहर्ज फ्रिक्वेन्सी नेपाल टेलिकमलाई दिएको थियो । तर, समयमै त्यसको परिक्षण गर्न नसकेपछि त्यसको म्याद लम्ब्याउँदै काम अघि बढाईएको थियो ।
यसबीचमा टेलिकमले हालसम्म ४ स्थानमा फाईभजी परीक्षण गरिसकेको बताउँदै आएको छ । तर, त्यसको नतिजा के कस्तो भयो र यो उपयुक्त हो या होइन भन्ने यकिन विवरण टेलिकमले हालसम्म दिएको छैन । यता एनसेलले पनि फाइभजी परीक्षणका लागि अनुमति मागेको तर, हालसम्म नपाएको बताउँदै आएको छ । यद्यपि नेपालमा फाइभजी हालको अवस्थामा आवश्यक नै नभएको र यो उचित पनि नहुने दूरसंचार विज्ञ खनाल बताउँछन् । ‘नेपालमा हालको अवस्थामा फाइभजी सेवा आवश्यकै होइन,’ उनले भने, ‘फाइभजीको नाममा राजनीति गरिँदैछ ।’