Logo

अटेर इन्टरनेट सेवाप्रदायक, टेरेनन् मन्त्रिपरिषदकै निर्णय

अटेर इन्टरनेट सेवाप्रदायक, टेरेनन् मन्त्रिपरिषदकै निर्णय



काठमाडौं । नेपालमा संचालित इन्टरनेट सेवाप्रदायक कम्पनीहरु सरकारी निर्देशनको पालनामा अटेर सावित भएका छन् । भदौ ११ गते बसेको मन्त्रिपरिषदको बैठकको निर्णय अनुरुप नेपाल दूरसंचार प्राधिकरणले नेपालमा फेसबुकलगायतका सामाजिक संजाल प्लेटफर्म निष्क्रिय गर्न निर्देशन दिएपनि हालसम्म प्राय इन्टरनेट सेवाप्रदायकले त्यो निर्देशन लत्याएका छन् ।
टेलिकम सेवाप्रदायक कम्पनीहरु नेपाल टेलिकम र एनसेलले प्राधिकरणको पत्र पाउनेवित्तीकै आफ्नो सर्भरमा २६ सामाजिक संजाल प्लेटफर्मका एप र वेबसाइट चल्न नमिल्ने बनाएपनि इन्टरनेट सेवाप्रदायक कम्पनीहरुले भने त्यसको पालना नगरेको देखिएको हो ।

यद्यपी मन्त्रिपरिषदको निर्णय, प्राधिकरणको निर्देशन र इन्टरनेट सेवाप्रदायक संघ (आइस्पान)कै परिपत्रका बाबजुद पनि नाम चलेका र ठुला भनिएका इन्टरनेट सेवाप्रदायक कम्पनीहरुले आफ्नो सर्भरमा यी २६ प्लेटफर्मको आइपी ब्लक गर्न नसकेको देखिन्छ । हाल वर्ल्डलिंक, सुविसु, भायानेट, क्लासिकटेक, सीजी नेट, डिस मिडिया नेटवर्कलगायतका इन्टरनेटबाट सबैजसो सामाजिक संजाल प्लेटफर्महरु संचालनमै छन् ।

यद्यपी यसअघि बिहीबारै ग्राहक संख्याका हिसावले सबैभन्दा ठुलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंकले आफ्नो सर्भरबाट २६ प्लेटफर्महरुको आइपी एड्रेस ब्लक गरिसकेको बताएको थियो । तर, हालसम्म पनि वर्ल्डलिंककै इन्टरनेटमा पनि सरकारले प्रतिवन्ध लगाउन भनिएका सबैजसो प्लेटफर्महरु संचालनमै रहेको देखिन्छ ।

यसअघि प्राधिकरणका विभिन्न निर्णय र निर्देशनहरुलाई लगातार बेवास्ता गर्दै आएका इन्टरनेट सेवाप्रदायक कम्पनीहरुले पुनः त्यहि प्रवृत्ति दोहोर्याएका छन् । यद्यपी नेपाल दूरसंचार प्राधिकरणले भने यस्ता प्लेटफर्महरु विस्तारै निष्क्रिय हुँदै जाने बताएको छ । ‘हामीले निर्देशन दिईसकेका छौं, आज दिनभरी र भोलीसम्ममा नेपालमा सूचीकरण नभएका सामाजिक संजालहरु निष्क्रिय हुनेछन्,’ प्राधिकरणका एक अधिकारीले भने, ‘यसका लागि केहि समय भने पक्कै लाग्नेछ ।’

उनका अनुसार नेपालमा इन्टरनेट आउने बाटोमै नेपालमा प्रतिवन्धित सामाजिक संजाल प्लेटफर्महरुको आइपी एड्रेस ब्लक गर्नुपर्छ । खासगरी भिपीएन र ओपन डिएनएस प्रयोग गरेर नेपालमा सामाजिक संजाल चलाउन सकिने भएपनि सबैजसो इन्टरनेट सेवाप्रदायकले भने डिएनएस ब्लक नगरिसकेको देन्छि । ओपन डिएनएस र भिपिएनको प्रयोगमा पूर्ण रुपमा रोक लगाउन नसकिने भएकाले यसमा भने समस्या निम्तिने पक्का छ ।

नेपालका इन्टरनेट सेवाप्रदायकहरुले ओपन डिएनएस ब्लक गर्न सक्दैनन् । त्यसमाथि भिपिएन ब्लक गर्न सकिने कुरै भएन । तर, प्रतिवन्धित सामाजिक संजालहरुको डिएनएस सर्भर भने छोटो समयमै ब्लक गर्न सकिने भएपनि सोही अनुसार नगरेको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्