Logo

नेप्सेको ओरालो यात्रा कायमै, यसकारण छाड्दै छ कारोबार रकमले पनि साथ

नेप्सेको ओरालो यात्रा कायमै, यसकारण छाड्दै छ कारोबार रकमले पनि साथ



काठमाडौं । केही दिनयता ओरालो लाग्न सुरु गरेको नेप्से परिसुचक सोमबार (आज) पनि घट्न पुगेको छ । सोमबार बजार खुलेको केही समय बढेको नेप्से परिसुचक अन्तमा १८ अंकले घट्न पुगेको हो ।

laxmi

अघिल्लो हप्तासम्म नेप्से परिसुचक उच्च रुपमा बढ्दै २६ सय अंक पार गरेकोमा त्यसयता ओरालो यात्रा तय गरेको नेप्से परिसुचक सोमबार घटेर २ हजार ३ सय ८९ अंकमा झरेको छ । कोरोनाका कारण नेप्सेमा सुचीकृत कम्पनीहरुको बोनसमा संकुचन तथा पछिल्लो समयको बढ्दो राजनीतिक अस्थिरताका कारण लगानीकर्ताको मनोवल खस्किदा नेप्सेले ओरालो यात्रा तय गरेको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् ।

‘कोरोनाका कारण नेप्सेमा सुचीकृत कम्पनीहरुले आर्थिक बर्ष २०७६÷०७७ को मुनाफाबाट राम्रो बोनस दिन सकेनन् भने चालू आवको कमाईमा अझै गिरावट आउने देखिएको छ,’ एक लगानीकर्ताले भने, ‘साथै बढ्दो राजनीतिक अस्थिरताका कारण लगानीकर्ताहरुले आफुसँग भएको सेयर बिक्री गर्दै बजारबाट बाहिरिरहेका छन् ।’

सोमबार दोहोरो अंकले घटेको बजारमा निर्जीवन बीमा समुहको परिसुचक १९२ अंकले घट्न पुगेको छ । यसैगरी बजारमा जीवन बीमा समुहको परिसुचक १२१ अंकले घट्दा बजारमा बढी प्रभुत्व रहेको बैंकिङ समुहको परिसुचकमा १७ अंकको गिरावट आएको छ ।

घट्दो बजारमा होटल एण्ड टुरिजम समुहको परिसुचक भने ९१ अंकले बढ्न पुगेको छ । विशेषगरी चन्द्रगिरी हिल्सले सकारात्मक सर्किट हान्दा सो समुहको परिसुचकमा उच्च सुधार देखिएको हो । यसैगरी बजारमा व्यापार समुहको परिसुचक पनि ५५ अंकले बढ्न पुगेको छ ।

पछिल्लो समय घट्दो बजारमा कारोबार रकमले पनि साथ छोडेको छ । दैनिक १० अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार हुँदै आएको बजारमा सोमबार ४ अर्ब २४ करोड रुपैयाँको मात्रै सेयर कारोबार भएको छ ।

बजार २६ सय अंक आसपासमा पुग्दा केही ठूला लगानीकर्ता तथा कारोनाको समयमा बजारमा प्रवेश गरेका व्यापारीहरु एक्जिट भएको र सो समयमा सेयर खरिद गरेका धेरैजसो लगानीकर्ताहरु अहिले मारमा परेको समेत सम्बद्ध लगानीकर्ताहरु बताउँछन् ।

‘अहिले कोरोनाको समयमा सेयर बजारमा प्रवेश गरेको प्रायःजसो व्यापारीहरु एक्जिट भएर आफ्नै व्यापार व्यवसायमा लागेका छन्,’ एक लगानीकर्ताले भने, ‘उनीहरु बाहिरिँदा बजारमा सेयरको माग घट्नुका साथै समग्रमा कारोबार रकममा समेत दैनिक रुपमा गिरावट आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL