काठमाडौं । एक वर्षमा सेयर धितो कर्जा साढे ५० अर्ब रुपैयाँले बढेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको असार मसान्तसम्मको तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाहरुको सेयर धितो कर्जा प्रवाह ५० अर्ब ६० करोड रुपैयाँले बढेर १ खर्ब ४० अर्ब ७० करोड रुपैयाँ पुगेको छ । २०८१ को असार मसान्तसम्म बैंकहरुले ९० अर्ब ९ करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका थिए ।

पछिल्लो समय सेयर बजारमा लगानी आकर्षण बढ्दै गएको छ । जसका कारण बैंक तथा वित्तीय संस्थाहरुले प्रवाह गर्ने सेयर धितो कर्जामा क्रमिक रुपमा सुधार देखिएको हो । यसअवधिमा वाणिज्य बैंकहरुको मात्रै सेयर धितो कर्जा ६६.०५ प्रतिशतले बढेर १ खर्ब १६ अर्ब ८० करोड रुपैयाँ पुगेको छ । विकास बैंकहरुको सेयर धितो कर्जा २५.३१ प्रतिशतले बढेर १९ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, फाइनान्स कम्पनीहरुको सेयर धितो कर्जा ४.७४ प्रतिशतले बढेर ४ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ ।
अहिले बैंक तथा वित्तीय संस्थामा अधिक तरलताको अवस्था छ । ब्याजदर घट्दो छ । अधिक तरलता रहेको कारण बैंकहरुले कर्जाको ब्याजदर निर्धारण गर्दा थप्ने प्रिमियम दर समेत घटाएका छन् । प्रणालीमा तरलता कम हुँदा ५ प्रतिशतसम्म प्रिमियम थप्दै आएका बैंकहरुले अहिले एक–डेढ प्रतिशतमात्रै प्रिमियम थपेर कर्जा दिएकाले गर्दा पनि ब्याजदर सस्तिएको छ । यसैगरी, बैंकहरुले निक्षेपको ब्याजदर पनि भारी मात्रामा घटाएकाले पनि लागत कम हुँदै गएको छ ।
यसले पनि कर्जाको ब्याजदर थप तल झार्न सहयोग गरेको देखिन्छ । तथापि, अर्थतन्त्रमा आएको शिथिलताको कारण बैंक–वित्तीय संस्थाबाट अपेक्षित रुपमा कर्जा प्रवाह हुन सकेको छैन । पछिल्लो सयम सेयर बजारमा सुस्तता छाउँदा सेयर धितो कर्जा पनि अपेक्षित रुपमा बढ्न नसकेको बैंकरहरु बताउँछन् । यता, चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत केन्द्रीय बैंकले व्यक्तिगत सेयर कर्जाको सीमा बढाएर २५ करोड रुपैयाँ पुर्याएको छ । यो व्यवस्थासँगै सेयर धितो कर्जा अझै बढ्ने जानकारहरुको भनाइ छ ।
नबिलको सबैभन्दा धेरै
गत आर्थिक वर्षको असार मसान्तसम्म आइपुग्दा वाणिज्य बैंकहरुले मात्रै १ खर्ब १६ अर्ब ८० करोड रुपैयाँ बराबरको सेयर धितो कर्जा प्रवाह गरेका छन् । पछिल्लो १ वर्षमा वाणिज्य बैंकहरुको मात्रै सेयर धितो कर्जा ६६.०५ प्रतिशतले बढेको हो । २०८१ को असार मसान्तसम्ममा वाणिज्य बैंकहरुले ७० अर्ब ३४ करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका थिए ।

सबैभन्दा धेरै सेयर धितो कर्जा प्रवाह गर्नेमा नबिल बैंक रहेको छ । यस बैंकको सेयर धितो कर्जा ४६.६९ प्रतिशतले बढेर १६ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ । ग्लोबल आइएमई बैंकको सेयर धितो कर्जा ६३.७५ प्रतिशतले बढेर १२ अर्ब ३० करोड रुपैयाँ पुगेको छ । यसअवधिमा एनआइसी एसिया बैंकबाहेकका अरु सबै बैंकको सेयर धितो कर्जा बढेको छ । यता, स्टान्डर्ड चार्टर्ड बैंकले भने हालसम्म सेयर धितो कर्जा प्रवाह गरेको छैन ।