काठमाडौं । चालु आर्थिक बर्ष २०८२/८३ को पहिलो महिना साउनमा नेपालको मूल्यवृद्धिदर १ प्रतिशतमा झरेको छ । नेपाल राष्ट्र बैंकले चालु आवको पहिलो महिनाको तथ्यांक सार्वजनिक गर्दै साउनमा बार्षिक विन्दुगत मुद्रास्फीति १.६८ प्रतिशतको विन्दुमा पुगेको जानकारी दिएको हो ।
गत आर्थिक बर्षको यहि अवधिमा यस्तो मुद्रास्फीति ४.०९ प्रतिशत रहेको थियो । चालु आवको साउनमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति –२.२८ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.९५ प्रतिशत रहेको छ । गत वर्षको सोही अवधिमा यी समूहहरूको मुद्रास्फीति क्रमशः ६.१७ प्रतिशत र २.९४ प्रतिशत रहेको थियो ।
चालु आवको साउनमा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १०.९७ प्रतिशत, गैर–मदिराजन्य पेय पदार्थको ४.६४ प्रतिशत र फलफूलको ३.०१ प्रतिशतले बढेको छ भने तरकारी उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १८.५६ प्रतिशत, मरमसलाको ४.८१ प्रतिशत र माछा तथा मासुको २.४१ प्रतिशतले घटेको छ ।
यता गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १०.६० प्रतिशत, शिक्षाको ७.६७ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पलको ६.८४ प्रतिशत, फर्निसिब तथा घरायसी उपकरणको ५.०६ प्रतिशत र सुर्तीजन्य पदार्थको ४.६८ प्रतिशतले बढेको छ ।
बीमा तथा वित्तीय सेवा उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ०.२२ प्रतिशतले घटेको छ । समीक्षा महिनामा ग्रामीण क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १.६५ प्रतिशतले र सहरी क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १.७० प्रतिशतले बढेको छ ।