Logo

सेयर कारोबारमा आफ्नै टीएमएस प्रयोगमा ल्याउन ब्रोकर असफल, प्राविधिक असफलता कि अर्कै छन् कारण ?

सेयर कारोबारमा आफ्नै टीएमएस प्रयोगमा ल्याउन ब्रोकर असफल, प्राविधिक असफलता कि अर्कै छन् कारण ?



काठमाडौं । सेयर कारोबारमा आफ्नै अनलाइन ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) सञ्चालनमा ल्याउन ब्रोकर कम्पनी असफल भएका छन् । सेयर धितोपत्र दलाल (ब्रोकर) कम्पनीले आफैले सञ्चालनमा ल्याउने भनिएको सो प्रणाली परीक्षणमै अलमल भएको छ । ब्रोकर कम्पनीहरुले गत असोजमा नै टीएमएस परीक्षण सम्पन्न गरेर सञ्चालनमा ल्याउने तयारी गरेको भनिएपनि ब्रोकर कम्पनीहरुले हालसम्म पनि टीएमएस सञ्चालन ल्याउन नसकेका हुन् ।

laxmi

अहिले सञ्चालनमा रहेका पुराना ५० वटा ब्रोकर कम्पनीमध्ये ३३ वटाले आफ्नै लगानीमा कम्पनी बनाएर टीएमएस सञ्चालनमा ल्याउने तयारी गरेका थिए । यस्तो तयारी थालेको दुई वर्ष बित्न लाग्दा पनि ब्रोकर कम्पनीले आफ्नै टीएमएस सञ्चालन ल्याउन नसकेसँगै यो विषय नै अब के हुने् हो भन्ने अन्यौल बढेको छ । ब्रोकर कम्पनीले गत असोजको अन्तिम हप्ताभित्र नयाँ टीएमएसको परीक्षण सुरु गरेका थिए । सोअनुसार असोजमा परीक्षण सम्पन्न गरेर कात्तिकबाट सञ्चालनमा ल्याउने भनिएको टीएमएस चैत लाग्दासम्म पनि सञ्चालनमा आउन नसकेको हो ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले असोजमा नै ब्रोकर कम्पनीहरुले सञ्चालनमा ल्याउन लागेको नयाँ टीएमएस प्रणालीलाई परीक्षणका लागि स्वीकृति दिइसकेको थियो । सोहीअनुसार सेक्योर सेक्युरिटिज (ब्रोकर नम्बर ३६) ले टीएमएस परीक्षण पनि गरेको नेप्से स्रोतले बतायो । तर, प्राविधिक त्रुटिहरु धेरै भएको कारण परीक्षण सफल हुन नसको ब्रोकर कम्पनीहरु बताउँछन । टीएमएस प्रणाली पूर्णरुपमा सञ्चालनमा ल्याउन नसकेको ब्रोकर कम्पनीहरुले पनि स्वीकार गरेका छन । ‘ब्रोकर नम्बर ३६ ले परीक्षण गरेको टीएमएसको सफ्टवेयर ३३ वटा ब्रोकर कम्पनी मिलेर श्रीलंकाको ‘आइरन’ कम्पनीसँग मिलेर आफ्नै टीएमएस सञ्चालनमा ल्याउन लागेको भएपनि सफल हुन सकेन,’ एक ब्रोकर सञ्चालकले भने ।

हाल उक्त टीएमएस चलाउन पुराना ३३ वटा ब्रोकर कम्पनी सहमत भइसकेका छन । ‘हाल परीक्षणका लागि ३३ ब्रोकर कम्पनी सहमत भइसकेका छन्, उक्त ३३ ब्रोकर कम्पन भित्र पुराना ब्रोकर कम्पनी छन ।’ नेपाल ब्रोकर एसोसिएसनका पुर्व अध्यक्ष सन्तोष मैनाली भन्छन, ‘परीक्षण सफल भएमा नयाँ ब्रोकर कम्पनीहरु पनि यसको प्रयोग गर्ने तयारीमा छन ।’ यसैगरी, एकल टीएमएस ल्याएर चलाउने तयारीमा दुई ब्रोकर कम्पनी रहेका छन । सनी सेक्युरिटिज ( ब्रोकर नम्बर ४२) र नासा सेक्युरिटिज (ब्रोकर नम्बर ५८) कम्पनीले आफ्नै लगानीमा टीएमएस सञ्चालनमा ल्याउने तयारी गरेका छन् । सनी सेक्युरिटिजले सञ्चालनमा ल्याउन लागेको भारतीय कम्पनीको टीएमएसले पनि हालसम्म सञ्चालनको तयारी अगाडि बढाउन नसकेको उक्त ब्रोकर कम्पनीका अध्यक्ष सन्तोष पौडेल बताउँछन । नेप्सेबाट परीक्षणको लागि कम्पनीको टीएमएसले एलओआई पाइसकेको छ ।

यसैगरी, नासा सेक्युरिटिज (ब्रोकर नम्बर ५८) ले आफ्नै टीएमएस सञ्चालनमा ल्याउने तयारी गरेको छ । नासाले बेग्लै टीएमएस सञ्चालनमा ल्याउनको लागि नेप्सेमा निवेदन दिएको छ । नासाले सञ्चालनमा ल्याउने भनेको टीएमएस भारतको डिओन ग्लोबल सोलुसनले बनाएको हो । सो टीएमएस नेपालका लागि एस्टेरिस्क टेक्नोलोजीले कष्टमाइज्ड गर्ने भनिएको छ । नासाले गत भदौ १५ गते नयाँ टीएमएस सञ्चालनको लागि नेप्सेमा निवेदन दिएको थियो । नासाले निवेदन दिएपनि आवश्यक कागजात नपुगेकोले अझै पनि एलओआई दिएको थिएन । तर, अहिले उक्त ब्रोकर कम्पनीलाई टीएमएस सञ्चालन गर्नको लागि नेप्सेले एलओआइ पनि दिइसकेको छ । तर, कम्पनीले पनि आफ्नै टीएमएस सञ्चालनमा ल्याउने कामलाई पूर्णता दिनसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
MBL