Logo

अव ब्रोकरले पनि आइपीओ ल्याउन पाउने, सबै ब्रोकरलाई मार्जिन सुविधा

अव ब्रोकरले पनि आइपीओ ल्याउन पाउने, सबै ब्रोकरलाई मार्जिन सुविधा



काठमाडौं । अर्थ मन्त्रालयले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली २०८२ को छैठौं संशोधन स्वीकृत गरेको छ । मन्त्रालयले २०८२ असार ३० गते बसेको मन्त्रीस्तरीय निर्णयअनुसार संशोधित नियमावलीलाई स्वीकृति प्रदान गरेको हो ।

नेपाल धितोपत्र बोर्डले २०८२ असार २२ गते पठाएको पत्रका आधारमा मन्त्रालयले स्वीकृति दिएको हो । मन्त्रालयले बोर्डलाई पठाएको पत्रमा ‘छैठौं संशोधन नियमावली’ स्वीकृत गरिएको उल्लेख गर्दै बोर्डलाई उक्त संशोधन कार्यान्वयनका लागि अनुरोध गरिएको छ ।

यसअघि मन्त्रालयले असार १६ गते पत्र लेख्दै पुनः संशोधनको प्रक्रिया अघि बढाउन निर्देशन दिएको थियो । सोही अनुसार आएको संशोधित मस्यौदालाई मन्त्रालयले अन्ततः स्वीकृति दिएको हो ।

मन्त्रालय स्रोतका अनुसार संशोधन नियमावलीमा तीनवटा महत्वपूर्ण विषय समावेश गरिएको छ :

ब्रोकरको चुक्ता पुँजी वृद्धि गर्नको लागि समयसीमा २०८३ साल चैत मसान्तसम्म थप गरिएको छ । यसअघि चालु आर्थिक वर्ष २०८१/८२ भित्र पुँजी पुर्‍याउन भनिएको थियो ।

अब सबै ब्रोकरहरुले सेयर धितो कर्जा दिन सक्ने व्यवस्था गरिएको छ । पहिले यो सुविधा केवल २० करोड रुपैयाँभन्दा कम चुक्ता पुँजी भएका ब्रोकरलाई मात्र रोकिएको थियो ।

१ अर्ब रुपैयाँभन्दा बढी चुक्ता पुँजी भएका ब्रोकरहरुले प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ) ल्याउन पाउने व्यवस्था गरिएको छ ।

संशोधित नियमावली अब धितोपत्र बोर्डको बैठकबाट पारित भएपछि मात्र कार्यान्वयनमा आउनेछ ।

प्रतिक्रिया दिनुहोस्