काठमाडौं । सरकारले जेनजी आन्दोलनको क्रममा भएका घटनाहरूको छानबिन गर्न उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गर्ने सैद्धान्तिक निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो। गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले आयोगको संरचना र सदस्यहरूको टुंगो लाग्न बाँकी रहेको जानकारी दिए।
‘जुन जनधनको क्षति भयो, ज्यादती भयो, यसको उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गर्ने निर्णय भएको छ,’ मन्त्री अर्यालले भने, ‘त्यसको प्रतिवेदनको आधारमा अघि बढ्ने सैद्धान्तिक निर्णय भएको हो।’ उनले आयोगको संयोजकमा सम्भवतः पूर्वन्यायाधीश चयन गरिने र उपयुक्त व्यक्तिहरू छान्न बाँकी रहेको बताए।
यसैगरी, सुशीला कार्की नेतृत्वको सरकारले जेनजी आन्दोलनमा मारिएकाहरूको सम्झनामा जेनजी स्मारक पार्क निर्माण गर्ने सैद्धान्तिक निर्णय गरेको छ। मन्त्री अर्यालले सञ्चारकर्मीहरूसँग कुरा गर्दै भने, ‘जेनजी आन्दोलनमा मारिएका शहीदहरूको सम्झनामा जेनजी स्मारक पार्क बनाउने निर्णय भएको छ। तर, ठाउँ यकिन भइसकेको छैन।’
यस्तै आजको मन्त्रिपरिषदको बैठकले जेनजी आन्दोलनमा ज्यान गुमाएका सहिदहरुका नामा असोज १ गते शोक विदा दिने निर्णयसमेत गरेको छ । साथै जेनजी आन्दोलनमा मृत्यु भएका सहिदका परिवारलाई जनही १५ लाख रुपैयाँ राहत प्रदान गर्ने निर्णय पनि आजको मन्त्रिपरिषदको बैठकले गरेको हो ।