Logo

ब्रोकर कमिशन घटाउने धितोपत्र बोर्डको निर्णय, व्यवसायीको मात्रै घट्यो सरकारी घटेन, माईन्युटमा हस्ताक्षर हुन बाँकी

ब्रोकर कमिशन घटाउने धितोपत्र बोर्डको निर्णय, व्यवसायीको मात्रै घट्यो सरकारी घटेन, माईन्युटमा हस्ताक्षर हुन बाँकी



काठमाडौं । नेपाल धितोपत्र बोर्डले ब्रोकर कमिशन घटाउने निर्णय गरेको छ । बोर्डको आईतबार बसेको संचालक समितिको बैंठकले ब्रोकरको कमिशन घटाउने निर्णय गरेको हो ।

laxmi

बोर्डले यसअघि अध्ययन गरेर ब्रोकर र धितोपत्र बोर्डले लिँदै आएको सेयर कारोबारको कमिशन घटाउन अर्थ मन्त्रालयमा पठाएको थियो । तर अर्थमन्त्री वर्षमान पुनले लगानीकर्ताको हित भन्दा पनि सरकारी कमिशन घटाउँदा राजस्वमा असर पर्ने भन्दै ब्रोकरको मात्र कमिशन घटाउन स्वीकृति दिएका थिए । सोही अनुरुप बोर्डका अध्यक्ष रितेश शाक्यको अध्यक्षतामा बसेको बैंठकले बैंठकले जेठ १ गतेदेखि लागू गर्नेगरी ब्रोकर कमिशन घटाउने निर्णय गरेको हो ।

बोर्डको गत कार्तिक १ गते बसेको सञ्चालक समिति बैठकले मौजुदा ब्रोकर कमिशन देखि धितोपत्र बोर्डको कमिशनमा समेत १० प्रतिशतका दरले घटाउने गरी अर्थ मन्त्रालयमा प्रस्ताव गरेको थियो । हाल सेयर कारोबारमा अधिकतम ब्रोकर कमिशनको माथिल्लो सीमा ०.४० प्रतिशत र तल्लो सीमा ०.२७ प्रतिशत कमिशन लाग्दै आएको छ । तर अर्थ मन्त्रालयको स्वीकृतिमा बोर्डको आईतबार बसेको संचालक समितिले गरेको निर्णय अनुसार अब माथिल्लो सीमालाई ०.३६ प्रतिशत र तल्लो सीमालाई ०.२४ प्रतिशतमा झारिएको छ ।

हाल ५० हजार रुपैयाँसम्मको कारोबारमा लगानीकर्ताले ०.४० प्रतिशत, ५० हजार देखि पाँच लाख रुपैयाँसम्मको कारोबारमा ०.३७ प्रतिशत, पाँच लाखदेखि २० लाख रुपैयाँसम्मको कारोबारमा ०.३४ प्रतिशत कमिसन शुल्क तोकिएको छ । त्यस्तै, २० लाखदेखि एक करोड रुपैयाँसम्ममा ०.३० प्रतिशत र एक करोड रुपैयाँमाथि ०.२७ प्रतिशतसम्म कमिसन लाग्दै आएको छ । अर्थमन्त्रालयले बोर्डको प्रस्ताव स्वीकृत गरेसँगै अब ५० हजार रुपैयाँसम्मको कारोबारमा लगानीकर्ताले ०.३६ प्रतिशत, ५० हजारदेखि ५ लाख रुपैयाँसम्मको कारोबारमा ०.३३ प्रतिशत, पाँच लाखदेखि २० लाख रुपैयाँसम्मको कारोबारमा ०३०६ प्रतिशत कमिशन शुल्क लाग्ने भएको छ । यस्तै २० लाखदेखि एक करोड रुपैयाँसम्ममा ०.२७ प्रतिशत र १ करोड रुपैयाँभन्दा माथिको कारोबारमा ०.२४ प्रतिशतसम्म कमिशन लाग्नेछ ।

आईतबार बसेको बोर्ड बैंठकले अर्थ मन्त्रालयबाट गएको प्रस्तावलाई पारित गरेपनि माईन्युटमा संचालकहरुले भने हस्ताक्षर गरिसकेका छैनन् । उक्त माईन्युटमा संचालकहरुले हस्ताक्षर गरिसकेपछि मात्रै घटेको ब्रोकर कमिशनदर कार्यान्वयनमा आउने बोर्ड स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL