काठमाडौं । अन्य क्षेत्रमा कर्जाको माग शिथिल रहेका बेला सेयरधितो कर्जाको भने माग बढेको छ । चालु आर्थिक वर्ष वर्षको साउन महिनामा मात्रै पौने ४ अर्ब रुपैयाँ बराबरको सेयरधितो कर्जा प्रवाह भएको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाहरुले साउन मसान्तसम्म १ खर्ब ४४ अर्ब ५३ करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका छन् । यो असार महिनाको तुलनामा ३ अर्ब ८३ करोड रुपैयाँले बढी हो । असार महिनामा बैंक तथा वित्तीय संस्थाहरुले १ खर्ब ४० अर्ब ७० करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।
साउन महिनामा १ करोडमाथिको सेयर कर्जा २.९ प्रतिशत अर्थात् २ अर्ब ८७ करोड रुपैयाँले बढेको छ । साउन मसान्तसम्म बैंक तथा वित्तीय संसथाले १ करोडसम्मको सेयर कर्जा १ खर्ब १ अर्ब ८० करोड रुपैयाँ प्रवाह गरेका छन् । ५० लाखदेखि १ करोडसम्मको कर्जा ५.५ प्रतिशतले बढेको छ । २५ देखि ५० लाखसम्मको कर्जा भने २.७ प्रतिशतले घटेको छ ।
यता, २५ लाखमुनिको कर्जा ६.७ प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाले एक व्यक्तिलाई २५ करोड रुपैयाँसम्म सेयर धितो कर्जा प्रवाह गर्न पाउँछन् । संस्थाका हकमा यस्तो सीमा छैन । समग्रमा एउटा बैंकले सेयर धितो कर्जामा कोर क्यापिटलको ४० प्रतिशतसम्म मात्रै दिन पाउने व्यवस्था छ ।
