Logo

दशैंको अग्रिम टिकट बुकिङ नखुल्दै दशैंमा घर जानेको थामिनसक्नु भीड, बुकिङबारे आज टुंगो लाग्दै

दशैंको अग्रिम टिकट बुकिङ नखुल्दै दशैंमा घर जानेको थामिनसक्नु भीड, बुकिङबारे आज टुंगो लाग्दै



काठमाडौं । दशैंका लागि भन्दै अग्रिम टिकट बुकिङ नखुल्दै काठमाडौंको बसपार्कमा काठमाडौं छोड्नेको बाक्लो भडि लागेको छ । पछिल्लो समय सृजना भएको विषम परिस्थितिका कारण त्रिभुवन विश्वविद्यालय मातहतका कलेजहरु र धेरैजसो विद्यालयहरु बन्द हुँदा दशैं आउनु आधा महिना अघि नै बसपार्कमा काठमाडौं छोड्नेको भीड लागेको हो ।

पछिल्ला करिव ४ दिनदेखि काठमाडौंको नयाँ बसपार्कमा हरेकदिन काठमाडौंबाट बाहिरिनेहरुको थामीनसक्नु भिड लाग्ने गरेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बताए । खासगरी अघिल्ला बर्षहरुमा सरकार र सार्वजनिक यातायात व्यवसायीहरुबीच दशैको एक महिनाअगावै अग्रिम टिकट बुकिङ खुलाईँदै आएको थियो । यसपटक भने सडकको अवस्था र पछिल्लो समय निम्तिएको जेन–जी आन्दोलनका कारण हालसम्म टिकट बुकिङ खुलेको छैन् । हालसम्म यातायात व्यवसायीहरुले न अग्रिम टिकट बुकिङ खुलाउन सकेका छन् न त सरकारले सडक सुरक्षा र यात्रा सुरक्षाको प्रत्याभूति दिन सकेको छ ।

दशैंमा यात्रुलाई आफ्नो आफ्नो गन्तव्यसम्म पुर्याउने प्रक्रिया सहज गर्न भन्दै यसपटक अग्रिम टिकट बुकिङ खुलाउने गरी आइतबार मात्रै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, ट्राफिक प्रहरी, यातायात व्यवसायीलगायतबीच पहिलो चरणको छलफल भएको थियो । यसरी हेर्दा दशैं आउन करिव १६ देखि १८ दिन मात्रै बाँकी रहँदा विषम परिस्थितिकै कारण बेलैमा अग्रिम टिकट बुकिङ खुलाउन नसकिएकाले पहिलो दिनको छलफलमा उच्चस्तरीय यातायात व्यवस्थापन समिति गठन गर्ने निर्णय भएको थियो । आन्दोलनका कारण सार्वजनिक यातायातमा पुगेको क्षति, बर्षाले सडकमा पुगेको क्षतिलगायतको अध्ययन गरी सोहीअनुसार यात्रा सहज तुल्याउन यातायात व्यवस्था विभागका महानिर्देशकको संयोजकत्वमा उक्त समिति गठन गरिएको हो ।

यसैका बिषयमा आज अर्थात सोमबार पनि छलफल हुने र आजको छलफलले अग्रिम टिकट बुकिङको मिति चयन गरी त्यहि अनुसारको तयारी गर्ने सिटौलाले बिजखबरलाई बताए । यद्यपि यसबर्षको दशैंमा मौसमका कारण हुने सडकको क्षतिलगायतलाई ध्यान दिँदै सकेसम्म सुरक्षित यात्राको प्रत्याभूति गराउने बताए । ‘हामीले यात्रु सुरक्षाको लागि भरपुर तयारी गरी यात्रालाई सहज तुल्याउने कोशिस गरिरहेका छौं,’ उनले भने, ‘सोहीअनुसार आजको छलफलबाट निष्कर्ष निस्कने देखिन्छ ।’

यद्यपि यसपटक अग्रिम टिकट बुकिङ खुलेपनि अघिल्ला बर्षहरुजस्तो भने भीड नहुने उनको अनुमान छ । आन्दोलनका कारण विद्यालय र कलेजहरु बन्द भएपछि विद्यार्थीहरु धमाधम अहिले नै काठमाडौं छोडिरहेका छन् । यहि गतिमा हालै काठमाडौं छोडेको अवस्थामा अग्रिम टिकट बुकिङ भइसकेपछि काठमाडौंबाट बाहिरिने यात्रुको संख्या घट्ने उनी बताउँछन् । ‘अहिल्यै बसपार्कमा फूलपातीको दिनको जस्तो भीड लाग्ने गरेको छ अर्थात लगातार यात्रुहरु घटिरहेका छन्,’ उनले भने, ‘अग्रिम टिकट बुकिङ खोलेपनि यात्रुहरु घट्ने अनुमान यसैपनि लगाउन सकिन्छ ।’ यसपटक करिव १५ लाख नागरिकले दशैंका लागि भन्दै काठमाडौं छोड्ने अनुमान गरिएको र सोहीअनुसार केहि व्यवसायीहरुले नयाँ बसहरु पनि थपेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्