Logo

दुई महिनामा ५३ अर्ब स्वदेशी लगानी स्वीकृत, उत्पादनमुलक क्षेत्रले उछिन्यो उर्जा क्षेत्रलाई

दुई महिनामा ५३ अर्ब स्वदेशी लगानी स्वीकृत, उत्पादनमुलक क्षेत्रले उछिन्यो उर्जा क्षेत्रलाई



काठमाडौं । चालु आर्थिक बर्षको पहिलो २ महिना अर्थात साउन र भदौ महिनामा नेपालमा ५३ अर्ब रुपैयाँ बढीको स्वदेशी लगानी स्वीकृत भएको छ । उद्योग विभागले उपलब्ध गराएको तथ्यांकअनुसार साउन र भदौ मसान्तसम्म स्वदेशी उद्योगमा लगानी गर्ने गरी ५३ अर्ब ६ करोड ५४ लाख रुपैयाँ बढी लगानी स्वीकृत भएको हो ।

laxmi

विभागका अनुसार विभिन्न ६० परियोजनामा लगानी गर्ने प्रतिववद्धताअनुसार उक्त लगानी स्वीकृत गरिएको हो । पछिल्लो २ महिनामा स्वीकृत भएको लगानीमध्ये सबैभन्दा बढी लगानी प्रतिवद्धता भने उत्पादनमुलक क्षेत्रमा आएको देखिन्छ । यसअघि सबैभन्दा धेरै लगानी प्रतिवद्धता उर्जामुलक क्षेत्रमा आउने गरेको भएपनि यसपटक भने उर्जा क्षेत्रलाई उत्पादनमुलक क्षेत्रले उछिनेको देखिन्छ ।

चालु आवको २ महिनामा सबैभन्दा बढी लगानी प्रतिवद्धता ल्याउन सफल उत्पादनमुलक क्षेत्रमा २१ अर्ब १७ करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ । यस्तै उर्जा क्षेत्रमा भने पछिल्लो २ महिनामा जम्मा १२ अर्ब ७८ करोड रुपैयाँको प्रतिवद्धता आएको छ । गत आवको सोही अवधिमा उर्जा क्षेत्रमा ३७ अर्ब १८ करोड रुपैयाँको लगानी प्रतिवद्धता आउँदा उत्पादनमुलक क्षेत्रमा भने जम्मा २ अर्ब १७ करोड रुपैयाँ बराबरको मात्रै लगानी प्रतिवद्धता आएको थियो । गत आर्थिक बर्षको २ महिनामा नेपालमा ४३ अर्ब ६३ करोड रुपैयाँ बराबरका ३३ उद्योगमा लगानी प्रतिवद्धता आएको थियो । जसमा सबैभन्दा बढी लगानी उर्जा क्षेत्रमै थियो ।

यस्तै, चालु आवमा गत आवको तुलनामा सेवा र पर्यटनमुलक उद्योगमा पनि लगानी प्रतिवद्धता बढेको देखिन्छ । उद्योग विभागका अनुसार चालु आवको २ महिनामा सेवा र पर्यटनमुलक क्षेत्रमा क्रमशः १५ अर्ब ९ करोड र २ अर्ब १ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत भएको छ । यी क्षेत्रमा गत आर्थिक बर्ष भने क्रमशः १ अर्ब ६८ करोड र १ अर्ब ४४ करोड रुपैयाँ बराबरको मात्रै लगानी स्वीकृत भएको थियो ।

यता चालु आवको २ महिनामा सूचना प्रविधि क्षेत्र र कृषि तथा वन पैदावार क्षेत्रमा क्रमशः २० करोड र ९४ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत भएको छ । यसरी पछिल्लो २ महिनामा विभिन्न ६० उद्योगमा लगानी प्रतिवद्धता आउँदा ५ हजार ५ सय २७ जनाले रोजगारीको अवसर पाउने विभागको तथ्यांकमा उल्लेख छ ।

वैदेशिक लगानीमा ४ अर्बको वृद्धि

नेपालका उद्योगमा स्वदेशी लगानी प्रतिवद्धता बढीरहँदा यता वैदेशिक लगानीमा पनि वृद्धि आएको देख्न सकिन्छ । उद्योग विभागको तथ्यांकलाई केलाउँदा चालु आवको साउन र भदौ महिनामा ११ अर्ब ७५ करोड ५२ लाख रुपैयाँ बराबरका परियोजनामा वैदेशिक लगानी प्रतिवद्धता आएको छ । यो गत आर्थिक बर्षको साउन र भदौ महिनाको तुलनामा ४ अर्ब १९ करोड ७४ लाख रुपैयाँले बढी हो । गत आवको सोही अवधिमा नेपालमा विभिन्न ४८ परियोजना मार्फत ७ अर्ब ५५ करोड ७८ लाख रुपैयाँ बराबरको लगानी प्रतिवद्धता स्वीकृत भएको थियो ।

समग्र वैदेशिक लगानीमा वृद्धि हुँदा सबैभन्दा बढी वैदेशिक लगानी भित्र्याउने क्षेत्र भने पर्यटन र सेवा क्षेत्र रहेका छन् । विभागका अनुसार पछिल्लो २ महिनामा पर्यटनमुलक उद्योगका ३० परियोजनामार्फत ५ अर्ब ६० करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आउँदा सेवा क्षेत्रका २० परियोजनामार्फत ३ अर्ब ४० करोड रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिवद्धता आएको देखिन्छ ।

गत आर्थिक बर्षको यही अवधिमा यी दुबै क्षेत्रमा क्रमशः ५ अर्ब ५५ करोड र २ अर्ब रुपैयाँ बराबरका ४८ परियोजनामा लगानी प्रतिवद्धता आएको थियो । गत आर्थिक बर्षको पहिलो २ महिनामा पर्यटन र सेवामुलक क्षेत्रमा मात्रै लगानी प्रतिवद्धता आएको थियो । तर, चालु आवको पछिल्लो २ महिनामा भने पर्यटन, सेवामुलकसँगै उत्पादनमुकल, कृषि तथा वन पैदावार, सूचना तथा संचारसँग सम्बन्धित र उर्जामुलक क्षेत्रमा पनि वैदेशिक लगानी भित्रिएको देखिन्छ ।

उद्योग विभागका अनुसार यस अवधिमा उत्पादनमुलक क्षेत्रका १५ परियोजनामार्फत १ अर्ब ९४ करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ । यस्तै कृषि तथा वन पैदावार, सूचना तथा संचार र उर्जामुलक क्षेत्रमा भने क्रमशः ६० करोड, १५ करोड र ५ करोढ ६० लाख रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिवद्धता आएको छ । कुल ७२ परियोजनामार्फत आएको वैदेशिक लगानी प्रतिवद्धतामार्फत ४ हजार ९ सय ८३ जनाले रोजगारी पाउने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL