Logo

नेपालमा सबैभन्दा धेरै वैदेशिक लगानी भारतबाट, यी हुन् धेरै लगानी ल्याउने १० देश

नेपालमा सबैभन्दा धेरै वैदेशिक लगानी भारतबाट, यी हुन् धेरै लगानी ल्याउने १० देश



काठमाडौं । नेपालमा सबैभन्दा धेरै वैदेशिक लगानी भारतबाट भित्रिने गरेको छ । हालसम्म आएको वैदेशिक लगानी प्रतिवद्धता (एफडीआई)मध्ये हालसम्म सबैभन्दा धेरै भारतबाट आएको पाइएको छ । नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले सार्वजनिक गरेको नेपालमा प्रत्यक्ष वैदेशिक लगानी सर्वेक्षण प्रतिवेदनले यस्तै देखाएको हो । प्रतिवेदनअनुसार नेपालले गत आर्थिक बर्षमा विभिन्न ६० देशहरूबाट प्रत्यक्ष वैदेशिक लगानी प्राप्त गरेको छ । कुल प्रत्यक्ष वैदेशिक लगानी अघिल्लो आवको तुलनामा भने १२.७ प्रतिशतले वृद्धि भई ३ खर्ब ३३ अर्ब रुपैयाँ पुगेको छ । यसमा चुक्ता पूँजी ५०.७ प्रतिशत, रिजर्भ ३६.७ प्रतिशत र ऋण १२.६ प्रतिशत रहेको छ ।

कुल वैदेशिक लगानीको ३२.३ प्रतिशत हिस्सा ओगट्ने भारतबाट मात्रै हालसम्म १ खर्ब ७६ अर्ब रुपैयाँको वैदेशिक लगानी भित्रिएको छ । यसपछि चीनबाट १०.२ प्रतिशत अर्थात् ३४ अर्ब रुपैयाँ, सिङ्गापुरबाट ८.३ प्रतिशत अर्थात् २७.६ अर्ब रुपैयाँ, आयरल्यान्डबाट ६.९ प्रतिशत अर्थात् २३ अर्ब रुपैयाँ र दक्षिण कोरियाबाट ६.१ प्रतिशत अर्थात् २०.३ अर्ब रुपैयाँ विदेशी लगानी नेपाल भित्रिएको छ । यी देशहरूले नेपालको औद्योगिक र सेवा क्षेत्रमा उल्लेख्य योगदान दिएको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनअनुसार, नेपालमा धेरै लगानी भित्र्याउने यी देशहरूको लगानी मुख्यतया विद्युत्, उत्पादन, वित्तीय सेवा र सूचना सञ्चार क्षेत्रमा केन्द्रित छ ।

नेपालमा लगानी भित्र्याउने उच्च १० देशहरूको विवरण हेर्दा, भारत पहिलो स्थानमा छ जसको कुल लगानी १ खर्ब ७६ अर्ब रुपैयाँ छ । यसमा चुक्ता पूँजी, रिजर्भ र ऋणको हिस्सा प्रतिवेदनले कुल रूपमा देखाएको छ तर देशगत रूपमा मुख्य लगानी औद्योगिक क्षेत्रमा छ । चीन दोस्रो स्थानमा छ, जसको लगानी ३४ अर्ब रुपैयाँ छ । चिनियाँ लगानी मुख्यतया जलविद्युत् र उत्पादन क्षेत्रमा छ । सिंगापुर तेस्रो स्थानमा छ । सिंगापुरबाट हालसम्म २७.६ अर्ब रुपैयाँ बराबर लगानी आएको छ । जसले सेवा क्षेत्रलाई मजबुत बनाएको छ । आयरल्यान्ड चौथो स्थानमा छ, २३ अर्ब रुपैयाँ लगानीसहित, जसको फोकस वित्तीय सेवामा छ । दक्षिण कोरिया पाँचौँ स्थानमा छ, २०.३ अर्ब रुपैयाँ लगानी, मुख्य रूपमा उत्पादन र सूचना सञ्चारमा ।

छैटौँ स्थानमा सेन्ट किट्स एण्ड नेभिस छ, जसको लगानी ५.८ प्रतिशत अर्थात् १९.३ अर्ब रुपैयाँ छ । यो देशबाट मुख्यतः होल्डिङ कम्पनीहरूमार्फत लगानी आएको देखिन्छ । सातौँ स्थानमा अष्ट्रेलिया छ । यो देशबाट कुल विदेशी लगानीको ४.० प्रतिशत अर्थात् १३.३ अर्ब रुपैयाँ लगानी भित्रिएको प्रतिवेदनमा उल्लेख छ । यससँगै आठौँ स्थानमा मरिसस नवौं स्थानमा संयुक्त राज्य अमेरिका र दसौँ स्थानमा जापान छ ।

वैदेशिक लगानीको क्षेत्रगत विवरण हेर्दा, औद्योगिक क्षेत्रले ५९.४ प्रतिशत हिस्सा ओगटेको छ । यो क्षेत्रमा जसमा विद्युत्, ग्यास, वाफ र वातानुकूलन क्षेत्र २९.५ प्रतिशत र उत्पादन क्षेत्र २९.३ प्रतिशत छ । सेवा क्षेत्रले ४०.५ प्रतिशत हिस्सा लिएको छ, जसमा वित्तीय र बीमा सेवाहरू २४.४ प्रतिशत, सूचना र सञ्चार ८.१ प्रतिशत र आवास तथा खाद्य सेवा ६.५ प्रतिशत छ । यी क्षेत्रहरूमा शीर्ष देशहरूको लगानी केन्द्रित रहेको छ । ६० देशहरूबाट प्राप्त लगानीले नेपालको अर्थतन्त्रलाई बहुपक्षीय बनाएको प्रतिवेदनमा उल्लेख छ । शीर्ष १० देशहरूको लगानी कुल लगानीको ८३ प्रतिशतभन्दा बढी छ ।

प्रतिक्रिया दिनुहोस्