काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना अर्थात साउनमा हालसम्मकै उच्च विदेशी लगानी प्रतिवद्धता आएको छ । उद्योग विभागले उपलब्ध गराएको तथ्यांकअनुसार साउनमा २४ अर्ब १० करोड ४९ लाख ९५ हजार रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिवद्धता आएको हो । यो प्रतिवद्धता एक महिनाभित्र आएको हालसम्मकै उच्च हो । साउनमा विदेशी लगानीका १ सय २७ परियोजना दर्ता भएका छन् । जसमार्फत कुल ८ हजार २ सय बढी जनाले रोजगारी पाउने बताईएको छ ।
कृषि क्षेत्रका ३ परियोजनामै भित्रियो २० अर्ब बढी
साउनमा वैदेशिक लगानी प्रतिवद्धता उच्च हुनुमा कृषि क्षेत्रका ३ परियोजनामा आएको प्रतिवद्धता मुख्य रहेको देखिएको छ । विभागले उपलब्ध गराएको तथ्यांकलाई आधार मान्दा कृषिमुलक क्षेत्रका ३ परियोजनामा मात्रै साउनमा २० अर्ब ४ करोड ५५ लाख रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ । खासगरी यसअघिका महिनाहरुमा सबैभन्दा बढी लगानी प्रतिवद्धता सेवा र पर्यटन क्षेत्रमा आउने गरेको भएपनि यसपल्ट भने कृषि क्षेत्रका सबैभन्दा बढी लगानी प्रतिवद्धता आएको देखिएको छ ।
यस्तै यसै अवधिमा पर्यटन क्षेत्रमा पनि ३ अर्ब २ करोड रुपैयाँ बराबरको विदेशी लगानी प्रतिवद्धता आएको विभागले जानकारी दिएको छ । विभागका अनुसार यस अवधिमा पर्यटन क्षेत्रका ४१ परियोजना नेपालमा दर्ता भएका छन् । यस अवधिमा सूचना प्रविधि क्षेत्रका सबैभन्दा बढी परियोजना दर्ता भएको विभागको तथ्यांकमा उल्लेख छ । पछिल्लो १ महिनामै सूचना प्रविधि क्षेत्रका ७१ परियोजना नेपालमा दर्ता भएको देखिन्छ । यी परियोजनामार्फत विदेशी लगानीकर्ताहरुले ३६ करोड ५२ लाख रुपैयाँ लगानी गर्ने प्रतिवद्धता जाहेर गरेका छन् ।
यता सेवामुलक क्षेत्रका ८ परियोजनामार्फत ३३ करोड ५० लाख रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आउँदा उर्जामुलक क्षेत्रमा १८ करोड ४२ लाख र उत्पादनमुलक क्षेत्रमा १५ करोड ५० लाख रुपैयाँ बराबरको विदेशी लगानी प्रतिवद्धता आएको विभागले जनाएको छ । गएको साउन महिनामा खानी र पूर्वाधार क्षेत्रमा भने विदेशी लगानी प्रतिवद्धता नआएको देखिन्छ ।