Logo

एक बर्षमा ६५ अर्बको लगानी प्रतिवद्धता, सेवा र पर्यटन क्षेत्रमा उल्लेख्य आकर्षण

एक बर्षमा ६५ अर्बको लगानी प्रतिवद्धता, सेवा र पर्यटन क्षेत्रमा उल्लेख्य आकर्षण



काठमाडौं । गएको आर्थिक बर्ष २०८१/८२ मा नेपालमा झण्डै ६५ अर्ब रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिवद्धता आएको छ । गत आवको साउनदेखि असार मसान्तसम्म विभिन्न मुलुकका लगानीकर्ताहरुले ८ सय ४० परियोजनामार्फत ६४ अर्ब ९६ करोड ५१ लाख ४३ हजार रुपैयाँ बराबरको लगानी प्रतिवद्धता जाहेर गरेका हुन् । यो अघिल्लो आर्थिक बर्ष २०८०/८१को यहि अवधिको तुलनामा २ अर्बले बढी हो । अघिल्लो आवको यहि अवधिमा ६२ अर्ब रुपैयाँ बढीको लगानी प्रतिवद्धता आएको थियो ।
गएको आर्थिक बर्षमा आएको लगानी प्रतिवद्धतामध्ये ४ अर्ब ६१ करोड रुपैयाँ बराबरको प्रतिवद्धता अनलाइन अर्थात अटोमेसन प्रणालीमार्फत आएको छ ।

पछिल्लो नेपालमा विदेशी लगानीकर्ताहरुको नेपालप्रति हेर्ने नजर फरक भएको बताईँदै आएपनि गत आवभरी आएको लगानी प्रतिवद्धताले त्यसको विपरित संकेत गरेको देखिन्छ । उक्त बर्षभरी आएको लगानी प्रतिवद्धतामध्ये ४८ प्रतिशत अर्थात ३० अर्ब ९० करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता सेवाक्षेत्रमा मात्रै आएको उद्योग विभागले जानकारी दिएको छ । विभागका अनुसार यस अवधिमा नेपालमा सेवा क्षेत्रका ८४ परियोजनाहरु नेपालमा दर्ता भएका छन् ।

यस्तै यसै अवधिमा कुल विदेशी लगानी प्रतिवद्धताको ४१ प्रतिशत अर्थात २६ अर्ब ८२ करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता पर्यटन क्षेत्रमा आएको तथ्यांकले देखाउँछ । यस अवधिमा यो क्षेत्रका ३ सय ४ परियोजना नेपालमा दर्ता भएका हुन् ।

यस्तै उत्पादनमुलक र सूचना तथा प्रविधि क्षेत्रमा क्रमशः ६ र ३ प्रतिशत अर्थात ३ अर्ब र १ अर्ब ८४ करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आउँदा कृषि क्षेत्रमा २ प्रतिशत अर्थात १ अर्ब ४६ करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ ।

यसरी हेर्दा गत आर्थिक बर्षभर फागुनमा सबैभन्दा बढी अर्थात झण्डै १८ अर्ब रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको उद्योग विभागले जानकारी दिएको छ । विभागका अनुसार उक्त महिना हालसम्मकै महिनाका आधारमा सबैभन्दा बढी लगानी प्रतिवद्धता आएको हो ।

प्रतिक्रिया दिनुहोस्