Logo

आयात व्यापार र दशैँको चपेटामा सेयर बजार, घट्दो बजारमा सेलिङ प्रेसर आउँदा पनि कारोबार रकमले छाड्यो साथ

आयात व्यापार र दशैँको चपेटामा सेयर बजार, घट्दो बजारमा सेलिङ प्रेसर आउँदा पनि कारोबार रकमले छाड्यो साथ



काठमाडौं । साताको पहिलो दिन नेप्से परिसुचकमा उच्च गिरावट आएको छ । प्रि ओपनिङ सेसनमा बजारमा दोहोरो अंकको वृद्धि देखिएपनि त्यसयता ओरालो लागेको बजार अन्तत ६१ अंकले घट्न पुगेको छ ।

laxmi

कोरोना महामारी पश्चातको लकडाउन पछि सेयर बजारमा प्रवेश गरेका लगानीकर्ता बाहिरिएको र हाल लकडाउन खुकुलो हुँदै गएपछि लगानीका अन्य क्षेत्रहरुपनि खुला भएका कारण बजारबाट त्यस्ता लगानीकर्ताहरु बाहिरिएका छन् । विशेषगरी आयात व्यापारमा केन्द्रित लगानीकर्ताहरु लकडाउन खुकुलो भएसँगै उनीहरु आआफ्नै व्यापार व्यवसायमा फर्किएका कारण बजारमा उच्च गिरावट आउनुका साथै कारोबार रकममा समेत गिरावट आएको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् ।

‘देशमा लगानीको वातावरण नहुँदा उद्योगी व्यापारीदेखि कर्मचारी समेत सेयर बजारमा होमिएका थिए,’ एक लगानीकर्ताले भने, ‘अहिले लकडाउन खुकुलो हुँदै अन्य क्षेत्रमा समेत लगानीको वातावरण बन्दा यस अघि छिरेका आयात व्यापारमा संलग्न व्यापारीहरु बाहिरिदा बजारमा गिरावट आउनुका साथै कारोबार रकम समेत घट्न पुगेको छ ।’

कोरोनाका कारण अन्य क्षेत्र बन्द हुन पुग्दा उद्योगी तथा व्यापारीले सेयर बजारमा अर्बौ रकम प्रवेश गराएका थिए । उनीहरुले प्रवेश गरिरहँदा बजारले समेत बुलिस ट्रेण्ड समातेको र त्यसरी प्रवेश गर्ने लगानीकर्ताले नेप्से उच्चत विन्दुमा पुग्दा आफुसँग भएको सेयर बिक्री गरेर बजारबाट निस्किएका छन् । ‘कोरोनाले अन्य क्षेत्र बन्द हुँदा व्यापारी तथा उद्योगीहरुले आफुसँग भएको पैसा लिएर सेयर बजारमा छिरे त्यहिँ वेला बजार उच्च अंक बढ्न पुग्यो,’ एक लगानीकर्ताले भने, ‘तिनै उद्योगी व्यवसायीले लकडाउन खुकुलो भएसँगै आआफ्नै व्यापार व्यवसायमा लगानी गर्न बजारबाट सेयर बेचेर निस्किए अहिले त्यसैको प्रभावले बजारमा दैनिक जसो गिरावट आईरहेको छ ।’

अहिले क्लव हाउसमा सेयर बजारसम्बन्धी विभिन्न रुम संचालन गरिरहेका सेयर विश्लेकषहरुले पनि घट्दो बजारमा सेयर बिक्री हैन एभरेजिङ गर्न घट्दो बजारमा पनि सेयर खरिद गर्नुपर्छ भन्दै सुझाव दिँदै आएका छन् । तर बुलिस बजारमा प्रवेश गरेका उद्योगी एवं व्यापारीहरुले उच्च नाफा बुक गरेर लकडाउन खुकुलो भएसँगै आआफ्नो व्यापार व्यवसायमा फर्किएका कारण घट्दो बजारमा पनि सेलिङ प्रेसर उच्च रहेको सम्बद्ध लगानीकर्ताहरुनै बताउँछन् ।

साताको पहिलो दिन उच्च सेलिङ प्रेसर आउँदा पनि बजारमा खरिदकर्ता नभएपछि दिनभर ६ अर्ब रुपैयाँको मात्र सेयर कारोबार भएको छ । सेयर बजारका कतिपय विश्लेषहरुले घट्दो बजारलाई अवसरको रुपमा लिएर सेयर खरिद गर्न सुझाव दिइरहेपनि आम लगानीकर्ताहरु भने सेलिङ प्रेसरमा परेका छन् ।
‘लगानीको अन्य क्षेत्र पनि खुलेको र लकडाउनका बजारमा प्रवेश गरेका धेरैजसो व्यापारीहरु निस्किएर आयातमा केन्द्रित भएका छन्, जुन तथ्याङ राष्ट्र बैंकको एलसीको आँकडा हेर्दा पनि थाहा हुन्छ,’ एक लगानीकर्ता भने, ‘बजारकै ठूलो हिस्सा पैसा आयात व्यापारमा प्रवेश गरेको र राष्ट्र बैंकले ल्याएको सेयर खरिद गर्न अधिकतम १२ करोड रुपैयाँको सेयर कर्जाको सीमाले पनि कर्जा लिएर बजारमा चलखेल गर्दै आएका ठूला लगानीकर्ताहरु मारमा परेका छन् ।’

दिनभर ६१.२७ अंकले घटेको बजारमा म्युचुअल फण्ड समुह सामान्य अंकले बढेपनि अन्य सबै समुहका परिसुचकमा गिरावट आएको छ । जसमध्यै जीवन बीमा समुह सबैभन्दा बढि ३७१ अंकले घट्दा निर्जीवन बीमा समुहको परिसुचकमा ३५६ अंकको गिरावट आएको छ । यसैगरी सधैजसो उच्च रुपमा उतारचढा आइरहेको जलविद्युत समुहको परिसुचक १३५ अंकले घट्दा विकास बैंक समुहको परिसुचक १३० अंकले ओरालो लागेको छ ।

बजारमा सबैभन्दा बढि प्रभुत्व रहेको बैंकिङ समुहको परिसुचक १८ अंकले गिरावट आउँदा माईक्रोफाइनान्स १२१ र उत्पादनमुलक समुहको परिसुचक ११६ अंकले घट्न पुगेको छ । बजारमा दिनभर कुल २३३ कम्पनीको १ करोड ४४ लाख कित्ता सेयर खरिदबिक्री भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL