Logo

पुनर्निर्माण गर्न राहत कोष स्थापना गर्नुपर्छ : राजेन्द्र मल्ल

पुनर्निर्माण गर्न राहत कोष स्थापना गर्नुपर्छ : राजेन्द्र मल्ल



काठमाडौं । निर्जीवन बीमा व्यवसायी संघका अध्यक्ष राजेन्द्र मल्लले आन्दोलनका क्रममा राष्ट्रिय सम्पत्तिमा भएको क्षतिको मूल्याङ्कन गरी पुनर्निर्माण गर्न राहत कोष स्थापना गर्नुपर्नेमा जोड दिएका छन् । नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालसँग भेटवार्ता गर्दै मल्लले राष्ट्रिय सम्पत्तिको पुनर्निर्माणमा निजी क्षेत्रको पूर्ण साथ र सहयोग रहने प्रतिवद्धता जनाए ।

मल्लले भने ‘सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत लगायतका महत्वपूर्ण सरकारी संरचनाहरू पुनर्निर्माणका लागि निजी क्षेत्र र व्यक्तिगत तवरमा पनि सरकारलाई सहयोग गर्न हामी तयार छौं, मुलुकमा सुशासन कायम गर्दै आर्थिक समृद्धि गर्न सरोकारवाला सवै निकाय जिम्मेवार भएर लाग्न आवश्यक छ ।’

निजी क्षेत्रमा भएको भौतिक क्षतिको बीमा प्रक्रिया लगायात अन्य सहजीकरण गर्न सरकारले उपयुक्त वातावरण बनाउनुपर्नेमा मल्लले बताए ।

मल्लले आन्दोलनबाट प्रभावित उद्यमी तथा व्यवसायीहरूका लागि राहतका कार्यक्रम तत्काल ल्याउन आवश्यक रहेको बताए ।

उनले मुलुकमा रोजगारीको वातावरण सिर्जना गरी युवाहरूको अपेक्षा पूरा गर्नुपर्नेमा विशेष जोड दिए । युवालाई पार्टटाइम रोजगारी उपलब्ध गराउन सकेमा तत्कालीन समस्याको केही हदसम्म समाधान हुने उनको भनाई थियो ।

त्यस्तै, मुलुकभित्र विद्यमान प्राकृतिक स्रोत र साधनको पहिचान गरी उत्पादन र उपभोगमा जोड दिँदै निर्यात बढाउन सक्ने खालका नीतिगत कदम चाल्नुपर्ने सुझाव पनि अध्यक्ष मल्लले अर्थमन्त्रीसमक्ष प्रस्तुत गरे ।

मल्लले निजी क्षेत्र सरकारसँग सहकार्य गर्दै मुलुकलाई आर्थिक स्थिरता र दीर्घकालीन समृद्धितर्फ अघि बढाउन सधैं तत्पर रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्