काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले २०८२ सालको बडादशैंका शुभ साइतहरू सार्वजनिक गरेको छ । समितिले विज्ञप्ति जारी गर्दै यस वर्षको दशैं असोज ६ गते सोमबार घटस्थापनाबाट औपचारिक रूपमा सुरु हुने जानकारी दिएको हो ।
समितिका अध्यक्ष प्रा. शम्भु प्रसाद ढकालद्वारा हस्ताक्षरित सूचनाअनुसार घटस्थापनाको साइत असोज ६ गते बिहान ९ बजेर १३ मिनेटमा तोकिएको छ । यसै दिनदेखि नौदुर्गा पूजा आरम्भ हुने परम्परा छ । असोज ७ गते मंगलबार बिहान ९ बजेर ५३ मिनेटमा झण्डा फेर्ने साइत तय गरिएको छ भने असोज ११ गते शनिबार श्रीपचलीभैरव यात्रा हुनेछ ।
फूलपाती असोज १३ गते सोमबार बिहान ७ बजेर १७ मिनेटमा तुलजाभवानी यात्रासहित मनाइनेछ । असोज १४ गते मंगलबार महाष्टमी र कालरात्रि पर्छ भने असोज १५ गते बुधबार महानवमीको दिन बिहान ९ बजेर २३ मिनेटमा स्थिरासन हुने उल्लेख गरिएको छ । यसैबीच, यस वर्षको दशैंको मुख्य दिन विजया दशमी असोज १६ गते बिहीबार परेको छ । समितिका अनुसार सो दिन बिहान ९ बजेर २३ मिनेटमा देवी विसर्जनको साइत रहेको छ भने टीका लगाउने साइत बिहान ११ बजेर ५३ मिनेटमा तोकिएको छ ।
परम्पराअनुसार टीका लगाउँदा पूर्व मोहाडा फर्केर लगाउने प्रचलन रहेको छ । सोही दिन दिउँसो १२ बजेर १९ मिनेटमा तुलजाभवानी यात्रा, दिउँसो १ बजेर १७ मिनेटमा स्थिरासन र खड्गयात्रा हुने सूचनामा उल्लेख छ । दशैंको अन्तिम चरणमा असोज २० गते सोमबार अखिलबलिपूर्ति, कोजाग्रतव्रत तथा पूर्णिमा व्रत पर्छ । समितिले सार्वजनिक गरेका साइतलाई आधिकारिक मान्न अनुरोध गर्दै देशभरका हिन्दूहरूले धार्मिक परम्पराअनुसार पूजाआजा, व्रत तथा अनुष्ठान गर्न सक्ने व्यवस्था मिलाइएको जानकारी गराएको छ ।