Logo

लगानीकर्ता हतोत्साहित हुँदा सेयर बजारमा सिथिलता, यी ४ कारणले ओरालो लाग्दैछ नेप्से

लगानीकर्ता हतोत्साहित हुँदा सेयर बजारमा सिथिलता, यी ४ कारणले ओरालो लाग्दैछ नेप्से



काठमाडौं । पछिल्लो समय लगातार ओरालो लागेको सेयर बजारमा बुधबार पनि ३० अंकको गिरावट आएको छ । नेप्से परिसुचक २२ सय अंकबाट बढेर पुनः ओरालो लागेर २ हजार ५ सय १४ अंकमा झर्दा कतिपय कम्पनीका सेयरमा लगानीकर्ताले ५० प्रतिशतभन्दा बढी गुमाइसकेको छन् । जसमा जलविद्युत, विकास बैंक, फाइनान्स, व्यापारलगायतका क्षेत्रमा लगानी गर्ने लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् ।

laxmi

बुधबार पनि बजारमा व्यापार समुहका लगानीकर्ताले सबैभन्दा बढी ३ प्रतिशत गुमाएका थिए । यस्तै विकास बैंक समुहका लगानीकर्ताले २.३५ प्रतिशतले गुमाउँदा फाईनान्स २.२ प्रतिशत र जलविद्युत समुहका लगानीकर्ताले १.८३ प्रतिशतले गुमाउन पुगेका थिए ।

बजारमा थप लगानी गर्न पैसा नहुने र लगानीकर्ताले आफ्नो समस्या समाधान गर्न जति मुल्यमा पनि सेयर बिक्री गर्न थालेपछि बजारमा उच्च गिरावट आएको एक ठूला लगानीकर्ताले बताए । ‘अहिले बजारमा मार्केट डेप्थ हेर्ने हो भने खरिदकर्ताले एकदमै सस्तो मुल्यमा सेयर उठाउन चाहेका छन् मुल्य बढेर खरिदकर्ता बसेकै छैनन्,’ ती लगानीकर्ताले भने, ‘बिक्रीकर्ताहरुले एकछिनका लागि बढी मुल्यमा आफुसँग भएको सेयर बिक्रीका लागि राखेपनि समस्यामा भएका कारण जति मुल्यमा खरिदकर्ता छन् सोही मुल्यमा बिक्री गर्न थालेका छन् ।’ जसका कारण बजार केही बढ्न खोजेपनि अन्तत घट्दै गएको ती लगानीकर्ताको भनाई थियो ।

लगानीकर्ताको दोस्रो रोजाई

२०७२ सालको महाभुकम्प होस वा २ बर्ष अघिको कोरोना त्यसमा लगानीकर्ताको एउटा मात्र विकल्प थियो सेयर बजार । उद्योग व्यापार देखि पर्यटन व्यवसायमा लागेको सबै उद्योगी व्यवसायीले आफुसँग भएको पैसा सेयर बजारमा लगानी गरेका थिए । तर कोरोना पछि सबै क्षेत्र सहज बन्दै जाँदा उद्योगी व्यापारीहरु आआफ्नै क्षेत्रमा फर्किएका छन् । उनीहरुले आफुले गर्दै आएका उद्योग व्यवसायलाई पहिलो प्राथमिकता दिनुपर्ने कारण सेयर बजार दोस्रो रोजाईमा परेको छ । ‘कोरोना पछि सबै क्षेत्रका सबैजसो उद्योग व्यवसायमा समस्या देखिएको छ,’ एक लगानीकर्ताले भने, ‘अहिले बैंकबाट ऋण लिएर उद्योग व्यवसायमा देखिएको समस्या समाधान गर्न बैंकले कर्जा दिँदैन तसर्थ उनीहरुले आफुसँग भएको सेयर बिक्री गर्दै समस्या समाधान गर्दै आएका छन् ।’

उच्च ब्याजदर

अहिले सेयर बजारमा गिरावट आउनुको अर्को मुख्य कारण उच्च व्याजदर हो । कुनैबेला सेयर धितो कर्जामा बाणिज्य बैंकले ७.२५ प्रतिशत ब्याजदरमा ऋण दिँदै आएकोमा अहिले त्यहि ऋणको ब्याजदर बढेर १४ प्रतिशतभन्दा माथि पुगेको छ । अबका दिनमा ऋणको ब्याज बढेर १८ प्रतिशतभन्दा माथि पुग्ने बाणिज्य बैंकहरुले बताउँदै आएका छन् । घट्दो बजारमा उच्च ब्याजदरमा ऋण लिएर लगानीगर्दा सोही अनुरुप कमाई नहुने भएकाले पनि लगानीकर्ताहरु अहिले पर्ख र हेरको अवस्थामा बसेका छन् ।

बैंकबाट ऋण नपाउनु

अर्को मुख्य समस्या भनेको बैंकबाट कर्जा नै नपाउनु हो । सेयर बजारलाई नै मुख्य पेशा बनाएका लगानीकर्ताहरुले घट्दो बजारमा एभरेजिङ गर्नका लागि कर्जा लिएरै भएपनि सेयर खरिद गर्दथे । तर, अहिले राष्ट्र बैंकले पनि सेयर बजारलाई अधोषित रुपमा अनुत्पादक क्षेत्रमा राखेर कडाई गरेको र मौद्रिक नीतिको अर्धवार्षिक समिक्षामार्फत सेयर धितो कर्जाको जोखिम भार बढाएर १५० प्रतिशत पुर्याएका कारण बैंकहरुले कर्जा नै दिन छाडेका छन् । बजारमा तरलता अभाव र राष्ट्र बैंकले पनि सेयर, घरजग्गा, हायरपर्चेजजस्ता क्षेत्रमा जाने कर्जालाई कडाई गरेका कारण लगानीकर्ताले कर्जा नपाउदा सस्तो मुल्यमा पनि सेयर खरिद गर्ने क्षमतामा ह्रास आएको छ ।

नियामकबीचको आन्तरिक द्वन्द्व

पछिल्लो समय सेयर बजारमा नियामक निकायहरुबीच अन्तर सम्बन्ध नहुँदा पनि त्यसले सेयर बजारमा नकारात्मक असर पारेको छ । सरकारको आर्थिक सल्लाहकार नेपाल राष्ट्र बैंक र पुँजी बजारसम्बन्धी तालुक मन्त्रालय अर्थ मन्त्रालबीच अन्तरसम्बन्ध नहुँदा पनि पुँजी बजारमा ठूलो असर पर्न गएको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् । ‘पछिल्लो समय मन्त्री तथा सम्बद्ध नियामक निकायका प्रमुखहरुको बोली र व्यवहारमा फरक हुँदा लगानीकर्ता अझै बढी होत्साहित भएका छन्,’ अर्का एक लगानीकर्ताले भने, ‘लामो समयपछि धितोपत्र बोर्डका नियुक्त भएर आएका अध्यक्षले ब्रोकर कमिशन घटाउने कुरा मिडियामा बोल्दिएपश्चात झन बढी चलखेल हुन थाल्यो ।’

प्रतिक्रिया दिनुहोस्
MBL