काठमाडौं । कर्मचारी बोनसलाई देखाएर संस्थाका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएका नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) का कर्मचारीको आन्दोलनमा नयाँ ट्वीस्ट भएको छ । जेनजी आन्दोलन पश्चात बनेको नयाँ सरकारले नेप्सेका कर्मचारीले पाउँदै आएको बोनसलाई घटाएर १ प्रतिशतमा झारेसँगै नेप्सेकै ११ औं तहमा कर्मचारी निरञ्जन फुयाँलको नेतृत्वमा जसरी भएपनि अध्यक्ष र सीईओले राजीनामा दिनुपर्ने भन्दै आन्दोलन गरेका थिए । तर, त्यसरी राजीनामा माग गर्दा फुयाँलले नेप्सेभित्र बसेर गरेको गैरकानूनी कामको फेहरिस्त बाहिर आउने भएपछि सो अहिले आन्दोलन नै रोकेर नयाँ टुईस्ट गरिएको छ ।
नेप्से भित्र बसेर फुयाँलका साथै आईटीमा काम गर्ने कर्मचारी निसा अधिकारीलगायले सिस्टम नै आफ्नो कब्जामा लिएर सोही संस्था भित्रबाट सेयर खरिदबिक्री गरेको भन्दै प्रमाणसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । यसअघि अख्तियारले सोको प्रमाण माग गर्दा फुयाँलले शक्तिको दुरुपयोग गर्दै आफुहरुले त्यस्तो कार्य नगरेको भन्दै जवाफ पठाउन सफल भएका थिए । तर, अहिले अध्यक्ष र सीईओको राजीनामा माग गर्दै गरिएको उक्त आन्दोलनले नेप्से भित्र रहेर संस्थाकै आईपी प्रयोग गरी गैरकानूनी रुपमा सेयर खरिदबिक्री गर्ने फुयाँललगायत कर्मचारीको सम्पूर्ण डिटेल अख्तियारमा पुग्ने भएपछि त्यसलाई जसरी पनि मिलाईदिनुपर्ने भन्दै राजीनामाको मागलाई छाडेर फुयाँल सीईओ चुडामणि चापागाईँको शरणमा पुगेको नेप्से भित्रकै एक कर्मचारीले जानकारी दिए । ‘बुधबार रातीसम्म भएको छलफलमा बोनसभन्दा पनि अध्यक्ष र सीईओको राजीनामा पहिलो सर्त राखिएको थियो,’ ती कर्मचारीले भने, ‘सोही दिन फुयाँलले नेप्सेकै आइपी प्रयोग गरी सेयर खरिदबिक्री गरेको समाचार आएपछि भोलीपल्ट (बिहीबार) राजीनामाको एजेण्डा छाडेर अब मिलेर अघि बढ्ने विषय हामीलाई जानकारी गराईयो ।’
शुरुवाती चरणमै अध्यक्ष र सीईओको राजीनामा पहिलो सर्त राख्दै तत्काल राजीनामा नदिएसम्म नछाड्ने भन्दै १३ घण्टासम्म बन्धक बनाएका थिए । तर, प्रहरीको साहारामा अध्यक्ष र सीईओलाई कार्यालयबाट निकालेर घर पठाइएको थियो भने राजीनामाको एजेन्डा यथावत नै थियो । तर, फुयाँलले गरेको गैरकानूनी क्रियाकलापको समाचार बाहिर आएपछि राजीनामाको एजेण्डा एकाएक हट्न पुगेको उक्त कर्मचारीले जानकारी दिए ।
सीईओ चापागाई र फुयाँलको नाइट मिटिङ
अघिल्लो दिन नेप्सेका कर्मचारीले बन्धक बनाएसँगै बुधबार करिव ५ बजे सीईओ र नेप्से संचालक समितिबीच छलफल गर्ने कार्यतालिका तय भएको थियो । तर अन्तिम समयमा आएर सीईओ चापागाईले सो दिन छलफलमा बस्न नसकिने भन्दै संचालकहरुलाई जानकारी गराएका थिए । ‘अघिल्लो दिन कर्मचारीको बन्धकमा परेका सीईओ आफैले निकास निकाल्न भोलिपल्ट संचालक समितिका अध्यक्ष सहित अन्य संचालकसँग छलफल गर्ने भनेका थिए,’ नेप्सेका एक संचालकले जानकारी दिए, ‘तर, फुयाँलले नेप्से भित्र बसेर गरेको गैरकानूनी कामको समाचार बाहिरिएसँगै फुयाँल नेतृत्वको आन्दोलन केही कम भयो भने सीईओ पनि संचालक समितिसँग टाढिन थाले ।’
तर बिहीबार बिहान हुँदा फुयाँलको कर्तुतको ढाकछोप र राजीनामाको एजेन्डा छाडेर आन्दोलनलाई सहज रुपमा मिलाउने जानकारी सीईओले गराएको नेप्सेका एक संचालकले जानकारी दिए । ‘फुयाँलको नेतृत्वमा सीईओ चापागाईँ र त्यसमा संलग्न केही कर्मचारी बुधबार रातभर मिटिङमा बसेको जानकारी हामीले पायौं,’ एक संचालकले भने, ‘अघिल्लो दिन साह्रै तनाव भयो भनेर हराउनु भएको सीईओ भोलिपल्ट बिहान कुरा मिल्यो भन्दै फोन गर्न थाल्नु भयो ।’
फुयाँलले आफ्नो गैरकानूनी कामको ढाकछोप गर्न अहिले आन्दोलनको मोडालिटी नै फरक गराएका छन् । उनले सीईओसँगको लेट नाईट मिटिङमा आफुलाई अख्तियारको फन्दाबाट बचाईदिनुपर्ने सर्तमा राजीनामाको विषय छाडेर बोनसको विषयमा वीनवीन कण्डिशनमा सहमति गरेर अघि बढ्नुपर्ने माग अघि सारेका छन् ।
फुयाँलले आफ्नो कर्तुतको ढाकछोप गर्न सीईओ चापागाईसँग सहमति गरेसँगै उनको पछि लागेर आन्दोलनमा उत्रिएका कर्मचारी उल्लु बन्नुका साथै अन्यौलमा परेका छन् । ‘हामी त सोझो तरिकाले बोनसको विषयलाई लिएर अध्यक्ष र सीइओको राजीनामा माग गरेको बुझेर अन्दोलनमा उत्रिएका थियौं,’ एक कर्मचारीले भने, ‘तर नयाँ अध्यक्ष आएसँगै आफ्नो सम्पूर्ण गैरकानूनी कामको फेहरिस्त बाहिर आउने भएपछि फुयाँललगायत कर्मचारी साथीहरुले राजीनामाको विषयलाई जोडबलका साथ उठाएका रहेछन् ।’
साथै बिहीबारदेखि राजीनामाको विषय छाँयामा परेको समेत ती कर्मचारीले जानकारी दिए । यसैगरी सीईओ चापागाई पनि आफ्नो जागिर जोगाउने सर्तमा फुयाँलको गैरकानूनी कामको बचाउमा देखिएको समेत उक्त स्रोतले जानकारी दिएको छ ।