काठमाडौं । नेपालीको सबैभन्दा ठूलो चाड दशैं शुरु भइसकेको छ । आजकाल दशैंमा परिवार तथा साथीभाईसहित घुम्न निस्किने प्रचलन बढ्दो छ । विशेषत दशैंमा लामो समय बिदा हुने भएकाले यो समयमा घुम्न निस्किने प्रचलन बढ्दो छ । मौसमको हिसाबले पनि यो समय घुम्न निस्किनको लागि उपयुक्त छ । न जाडो, न त गर्मी हुने भएकाले अहिलेको मौसमलाई घुमघामको सिजन भन्दा पनि हुन्छ । तपाईं पनि घुमघामको योजनामा हुनुहुन्छ भने यहाँ हामी नेपालका सुन्दर र रमणीय पर्यटकीय गन्तव्यबारे हामी तपाईंलाई जानकारी दिँदै छौं ।
लाङटाङ भ्याली
लाङटाङ भ्याली दशैं बिदामा यात्राका लागि उपयुक्त गन्तव्य हो । काठमाडौंबाट एक सय २० किलोमिटर बसमा यात्रा गरेपछि रसुवाको स्याफ्रुबेसी पुगिन्छ । त्यहाँबाट सुरु हुन्छ, लाङटाङको पदयात्रा । साढे दुई दिनको यात्रामा खाम्जङि, शेर्पा गाउँ, रिम्चे, लामा होटेल, घोडा तबेला, लाङटाङ गाउँ हुँदै पदयात्राको अन्तमि गन्तब्य क्यान्जिङ पुगिन्छ । क्यान्जिङबाट २ घण्टा उकालो लागेपछि क्याञ्जिङ री पुगिन्छ । रीबाट आँखै अगाडि लाङटाङ हिमाल देखिन्छ । सात हजार दुई सय २७ मिटर अग्लो लाङटाङसँगै ६ हजार मिटरभन्दा अग्ला चाङ्बु र युब्रा हिमाल पनि देखिन्छन् । दुई हिमालको बीचबाट बग्ने लरिुङ हमिनदी र त्यसबाट बनेको ताल छन् । यस्तै उत्तरपूर्वमा देखिने ५५ सय मिटर अग्लो याल्ला पिक, दक्षिण पश्चिममा देखिने सेर्गो री, काङजा हिमाल तथा दक्षिणमा काग्रा हिमालका कारण क्यान्जिङ री, लाङटाङ छुटाउनै नहुने गन्तव्य हुन् ।
रुवी भ्याली
धादिङ जिल्लामा रहेको रुवी भ्याली पुग्न काठमाडौंबाट त्यति धेरै समय खर्च हुँदैन । तामाङ समुदायको मौलिक मेन्दोमायासँगै लाखे नाच, माने नाच, पारु नाच यहाँ भेटिनेछ । रुवी भ्याली यात्राको अर्को विशेषता यहाँको दशैंको माहौल पनि हो । स्थानीय भाषामा ‘मार हान्ने’ भन्ने चलन अनुसार युवाहरुले दशैंमा राँगा काट्ने गर्छन् । यसबेला ठूलै मेला लाग्छ । अलि फरकखालको दशैंको झल्को रुवी भ्यालीको यात्रामा मिल्नेछ । रसुवाको लाङटाङबाट गत्लाङ हुँदै रुवी भ्याली पदयात्रामा निस्कियो भने गणेश हिमालको आकर्षक दृश्यावलोकन गर्न सकिन्छ ।
रारा ताल
‘स्वर्गकी अप्सरा’ अर्थात् रारा ताल । यहाँ पुग्न जोकोहीको पनि इच्छा हुन्छ । यो नेपालकै सबैभन्दा ठूलो ताल हो । रारा ताल नेपालगञ्जबाट हवाईमार्ग हुँदै पनि जान सकिन्छ र सडकमार्गबाट पनि । रारा जाँदा नेपालगञ्जबाट ताल्चा एयरपोर्टसम्म जान सकिन्छ । जुम्ला सदरमुकामबाट गाडी रिजर्व गरेर पनि रारा जान सकिन्छ । रारा तालबाट २ घण्टा उकालो हिँडेपछि मुर्मामा पुगिन्छ । मुर्माबाट ‘स्वर्गकी अप्सरा’ लाई नजिकबाट नियाल्न सकिन्छ ।
अन्नपूर्ण पदमार्ग
अन्नपूर्ण पदमार्ग पर्यटकको आकर्षणको केन्द्रको रुपमा रहेको छ । विश्वका उत्कृष्ट दश पदमार्गभित्र पर्ने भएकोले यो पदमार्ग विश्वभर परिचित छ । लमजुङको बेंसीसहरलाई अन्नपूर्ण पदमार्गको प्रवेशद्वार भनिन्छ । बेंसीसहर हुँदै खुदी, भुलभुले, स्याँगे, जगत हुँदै मनाड जिल्लाको ताल, बगरछाप,चामे, थोरङपास हुादै मनाङ पुगेपछि अन्नपूर्ण पदमार्ग सकिन्छ । पदमार्गका सबैजसो स्थानमा सुविधासम्पन्न होटल तथा लजहरु भएकाले पदयात्राका क्रममा खान र बस्न सहज हुन्छ ।
मुस्ताङ
माथिल्लो मुस्ताङ पर्यटकको मुख्य आकर्षणको केन्द्र रहेको छ । पछिल्लो समय माथिल्लो मुस्ताङमा आन्तरिक पर्यटकको चाप बढ्न थालेको छ । विशेषत जोमसोमदेखि माथिल्लो मुस्ताङसम्म सवारी साधन चल्न थालेपछि आन्तरिक पर्यटकहरुको चहलपल बढ्न थालेको हो । जोमसोमबाट सवारी साधनमार्फत एक दिनको यात्रा गरेपछि माथिल्लो मुस्ताङ पुगिन्छ भने पैदल यात्रा गर्दा तीन दिन लाग्छ । काठमाडौंबाट जोमसोमसम्म हवाई यात्रा पनि गर्न सकिन्छ ।
चितवन
चितवनलाई नेपालकै प्रमुख पर्यटकीय गन्तव्यका रुपमा लिइन्छ । सौराहा, मेघौलीलगायतका ठाउँ घुम्न सकिन्छ । चितवनको राष्ट्रिय निकुञ्ज दुर्लभ एकसिंगे गैंडा, हात्ती, पाटेबाघ, विभिन्न चराचुरुङ्गी, जङ्गल सफारीको आनन्द लिन सकिन्छ । छोटो, सहज र रमणीय यात्राको लागि चितवन एक उत्कृष्ठ गन्तव्य हुन्छ ।
शे–फोक्सुण्डो ताल
शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज नेपालको सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज हो । यो राष्ट्रिय निकुञ्ज पश्चिम नेपालको डोल्पा तथा मुगु जिल्लामा फैलिएको छ । यस निकुञ्ज भित्र नेपालको सबैभन्दा गहिरो ताल फोक्सुण्डो रहेको छ । हवाई यात्रामा नेपालगञ्जबाट सिधै डोल्पाको जुफाल विमानस्थलमा उत्रेर त्यहाँबाट पैदल त्रिपुरा हुँदै तालसम्म पुग्न सकिन्छ । स्थलमार्गबाट यहाँ जान बाँकेको कोहलपुर पुग्नुपर्छ । त्यहाँबाट सुर्खेतको छिन्चु हुँदै दायाँ लागेर जाजरकोटको सदरमुकाम खलंगा हुँदै रिन्मा पुग्नुपर्ने हुन्छ । हिमालको बाटो चट्टानमा हिँड्नु पर्ने भएकाले त्यहाँ पुग्न अलि धेरै दिन छुट्याउनुपर्ने हुन्छ ।
नगरकोट
नगरकोट काठमाडौं उपत्यकाबाट छोटो दूरीमा पुग्न सकिने प्रसिद्ध र रमणीय स्थल हो । काठमाडौंबाट ३२ किलोमिटर र भक्तपुरबाट २० किलोमिटर पूर्वमा पर्दछ नगरकोट । नागवेली घुम्ती पार गर्दै पुगिने नगरकोटबाट सूर्योदयको दृष्य अवलोकन गर्न सकिन्छ । छिनमै मौसम परिवर्तन हुने नगरकोटबाट विभिन्न हिमाल श्रृंखलाको मनोरम दृष्य देख्न सकिन्छ । धौलागिरी, कञ्चनजंघा हिमश्रृखला, मनास्लु, गणेश हिमाल, लाङटाङ गौरीशंकरलगायतका हिमाल चुचुरा देख्न सकिन्छ ।
दामन
मकवानपुरको दामन पनि पछिल्लो समय पर्यटकलाई लोभ्याउने गन्तव्यका रुपमा विकसित भइरहेको छ । कुलेखानी हुँदै पुगिने दामन प्राकृतिक दृष्यावलोकनका लागि प्रसिद्ध छ । दामनबाट अन्नपूर्ण, मनास्लु, लाङटाङ, दोर्जे, लाक्पा, गौरीशंकर लगायतका हिमाल हेर्न सकिन्छ । दामन साइकलयात्रीका लागि पनि राम्रो गन्तव्यस्थल रहेको छ । छोटो यात्राको लागि दामन एक उत्कृष्ठ गन्तव्य हो ।
अपि बेस क्याप
अपि बेस क्याप दार्चुला जिल्लामा अवस्थित छ । यो पदयात्रा दार्चुला जिल्लाको मकरीघाटबाट सुरु भई सोही ठाउँमा समाप्त हुन्छ । अपि हिमाल पदयात्रा पश्चिम नेपालको कमै मात्रामा गइने पदमार्ग हो, जुन अपि हिमालको आधार शिविर (बेस क्याम्प) सम्म जान्छ । दार्चुला सदरमुकाम खलंगादेखि खार, सिप्टी र सितोला हुँदै अपि बेस क्याम्पसम्म पुगिन्छ । पर्याप्त प्राकृतिक सुन्दर दृश्यावलोकनसँगै यस रुटबाट अपि बेस क्याम्पसम्म पुग्न सकिन्छ । तर बाटो र बासको अभावमा भने यो यात्रामा झेल्न पर्छ । तथापि, लामो समय निकालेर यात्रा गर्ने हो भने यो गन्तव्य उत्कृष्ठ हुन्छ ।