काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले स्थानीय दातृ निकायका प्रमुखहरुसँग छलफल तथा अन्तरक्रिया गरेका छन् । आज असोज १० गते अर्थ मन्त्रालयमा स्थानीय दातृ निकायका प्रमुखहरुसँग बैठक सम्पन्न भएको हो । उक्त बैठकमा नेपालमा हालै भएको राजनीतिक परिवर्तन र नयाँ सरकारले अवलम्वन गरेको आर्थिक कार्यदिशा र प्राथमिकताका विषयमा छलफल भएको हो । छलफलमा विभिन्न देशका नेपाल स्थित राजदूतहरु, नेपाल स्थित संयुक्त राष्ट्रसंघीय एजेन्सीहरुका प्रमुख तथा प्रतिनिधिहरु, मिशनका प्रतिनिधिहरु र बहुपक्षीय तथा द्धिपक्षीय विकास साझेदारका प्रमुख तथा प्रतिनिधिहरु सहभागि थिए ।
उक्त बैठकमा अर्थमन्त्री खनालले विकास साझेदारहरुले नेपालको आर्थिक तथा सामाजिक विकासमा उल्लेख्य योगदान पुर्याउदै आएकोमा धन्यवाद दिंदै वर्तमान सरकारका तत्कालका प्राथमिकताहरु प्रकाश पारेका थिए । साथै, उनले नेपालमा हाल भएको परिवर्तन पश्चात गठित अन्तरिम सरकार युवाहरुको चाहना अनुरुप पारदर्शिता, जवाफदेहिता, भ्रष्टाचार मुक्त समाज र विधिको शासन स्थापनामा प्रतिवद्ध रहेको बताए ।
आन्दोलनका कारण सार्वजनिक तथा निजी क्षेत्रमा ठूलो आर्थिक क्षती भएको उल्लेख गर्दै अर्थमन्त्री खनालले अनुपयुक्त खर्च कटौती र मितब्ययीताका माध्यमवाट पुनर्निमाण अघि बढाईने र आर्थिक सुधारका कार्यक्रम लाई तीव्रता दिईने उल्लेख गरे । कार्यक्रममा विकास साझेदारहरु, विभिन्न देशका राजदूतहरु, विश्व खाद्य कार्यक्रममा प्रतिनिधि लगायतले आफ्नो भनाई राख्दै नेपालको वर्तमान अवस्था प्रति जानकार रहेको र वर्तमान सरकारले लिएका नीति तथा कार्यक्रम प्रति सहमति जनाएका थिए । विकास साझेदारहरुले चालू रहेका आयोजनाहरुलाई निरन्तरता दिने र थप कार्यक्रम संचालनका लागि नेपाल सरकारसँग सहकार्य गर्न सधै तयार रहेको उल्लेख गरेका छन् ।