काठमाडौं । सरकारले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका १९ निर्णय सार्वजनिक गरेको छ। सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलनमार्फत् बैठकका निर्णयहरू सार्वजनिक गरेका हुन्।
बैठकले राज्यकोषको लगानी भएका प्रतिष्ठान, बोर्ड, समिति तथा सार्वजनिक संस्थानका पदाधिकारी र कर्मचारीको पारिश्रमिक तथा सेवा सुविधामा एकरूपता कायम गर्ने सम्बन्धी सुझाव कार्यदलको कार्यावधि थप गर्ने निर्णय गरेको छ। पूर्वसचिव रामुप्रसाद डोटेलको संयोजकत्वमा गठन गरिएको सो कार्यदललाई थप ४५ दिन समय दिने निर्णय भएको छ।
त्यस्तै, नेपाली सेनाका दुई प्रमुख सेनानीलाई महासेनानीमा बढुवा गर्ने, नौ जना महासेनानीलाई सहायक रथीमा बढुवा गर्ने र तीन जना सहायक रथीको सरुवा गर्ने निर्णय बैठकले गरेको छ।
यसबाहेक नेपाल विविध सेवा, राजपत्रांकित प्रथम श्रेणी सूचना प्रविधितर्फका दुई जना सचिवको राजीनामा पनि बैठकले स्वीकृत गरेको छ। राजीनामा दिनेमा रामगोविन्द अर्याल र रमेश शर्मा रहेका छन्।

