काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) भित्रै बसेर सेयर खरिदबिक्रीलगायतका गैरकानूनी काम गर्न रोक लाग्ने भएपछि नेप्सेका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । विषेशगरि नेप्सेको ११ औं तहका कर्मचारी निरञ्जन फुयाँयललगायतले गैरकानूनी रुपमा नेप्सेभित्रै बसेर नेप्सेको आइपी प्रयोग गरि सेयर कारोबार गर्दै आएकोमा अध्यक्षमा हेमन्त बस्याल आएसँगै उक्त कार्य रोकिने भएपछि कर्मचारी आन्दोलित भएका हुन् ।
कतिपय कर्मचारीहरु आफुले पाउँदै आएको ५ प्रतिशत बोनस घटाएर १ प्रतिशतमा झारेको भन्दै आन्दोलनमा उत्रिएपनि वास्तविकतामा फुयाँललगायतले गरेको गैरकानूनी कामको फेरहिस्त बाहिर आउने भउपछि उनको नेतृत्वमा कर्मचारीहरु आन्दोलित भएका हुन् । नेप्सेका उच्च तहका कर्मचारी फुयाँलको नेतृत्वमा भएको उक्त आन्दोलनले कर्मचारीले खाईपाई आएको बोनस बढाउनुपर्ने भन्दापनि अध्यक्ष बस्याल र प्रमुख कार्यकारी अधिकृत चुडामणी चापागाईँको राजीनामालाई पहिलो सर्तको रुपमा अघि सारेका छन् ।
नेप्सेका कर्मचारीको बोनसलगायतको सुविधा अर्थ मन्त्रालयले घटाइदिएको थियो । नेप्सेका कर्मचारीले आफ्नो बोनस सुविधा १ प्रतिशतबाट बढाएर ५ प्रतिशत पुर्याउनुपर्ने माग राखेपनि अर्थमन्त्री रामेश्वर खनाल त्यस्ता माग सम्बोधन गर्न नसकिने भन्दै पन्छिएको अर्थ मन्त्रालय स्रोतले जानकारी दिएको छ ।
फुयाँलेको नेतृत्वमा नेप्सेभित्रकै कर्मचारीले कार्यालयमा बसेर त्यहींको आईपी प्रयोग गर्दै सेयर खरिद बिक्री गरेको भेटिएपछि उनीहरुको विरुद्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । सो विषय हालसम्म नेप्सेमा गुपचुप अवस्थामा रहेपनि बस्याल अध्यक्ष भएर आएसँगै कार्यालय भित्र सुशासनको विषय उठान गरेका थिए । बस्यालले सुशानको विषय उठान गर्दा अख्तियारमा परेको उजुरीको समेत छानविन हुने र आगामी दिनमा कार्यालयभित्रै बसेर गैरकानूनी काम गर्न नपाइने भएपछि फुयाँलको नेतृत्वमा कर्मचारीहरु अन्दोलित भएको नेप्से स्रोतले नै जानकारी दिएको छ ।
‘बस्याल अध्यक्ष भएर आएसँगै कर्मचारीहरुसँगको छलफलमा नेप्सेभित्रका विकृति विसंगतिका विषयमा आफुलाई जानकारी आएको र त्यस विषयमा छानविन गर्ने जानकारी गराउनुभएको थियो,’ उक्त छलफलमा सहभागी नेप्सेकै एक कर्मचारीले भने, ‘त्यसरी छानविन गर्दा धेरैजसो कर्मचारीको गैरकानूनी क्रियाकलाप बाहिर आउने भएपछि फुयाँलको नेतृत्वमा कर्मचारीहरु आन्दोलित भएका हुन् ।’ बस्याल अध्यक्ष भएर गएसँगै उनले नेप्सेभित्र सुशासन तथा संचालक समितिमा संचालक र कम्पनी सचिवबाहेक अन्य व्यक्ति सहभागी हुन नपाउने व्यवस्था गरेका थिए । यसअघि कानूनविपरित निरञ्जन फुयाँललगायतका कर्मचारी पावर देखाउँदै संचालक समितिको बैंठकमा बस्दै आएपनि बस्याल अध्यक्ष भएर आएसँगै हटाएका थिए । तर, बस्यालले नेप्सेभित्र सुशासन ल्याउन खोज्दा फुयाँललगायत कर्मचारीको गैरकानूनी धन्दा रोकिने भएपछि बोनसको नाममा अन्य कर्मचारीलाई उचाल्दै अध्यक्ष र सीईओको राजीनामा माग गरिएको उक्त स्रोतको भनाई छ ।
फुयाँलले अष्ट्रेलियामा रहेको आफ्नो भान्जा प्रकाश दाहालको नाम प्रयोग गरी विभिन्न मिति र सयममा आफ्नो आफन्तसमेत रहेको ब्रोकर नम्बर १ बाट नेप्से कोड एम्घढघढघठ तथा ब्रोकर आईडी ज्ञघण्ज्ञछडण्ण्ण्ण्ण्छद्धडद्दण् प्रयोग गरी नेप्सेको प्रणालीभित्रबाट नेप्सेको कम्प्युटर आइपी ज्ञज्ञट।ढण्।द्दघण्।ढण् प्रयोग गरी नेप्सेको प्रणाली कब्जामा लिएर पटक–पटक नेप्से भित्रबाटै आफैले गैरकानूनी रुपमा कोल्याट्रल लोड गरी सेयर खरिदबिक्री गर्दै आएको भन्दै अख्तियारमा उजुरी परेको छ । यसैगरी जानुका न्यौपानेको नामबाट समेत नेप्से कोड व्ल्घटद्दछद्ध तथा ब्रोकर आईडडी ज्ञघण्ज्ञघडण्ण्ण्ण्ण्ण्ज्ञछडठ बाट नेप्सेभित्रकै प्रणाली प्रयोग गरी नेप्से परिसर भित्र (अफिस) बाटै कार्यालय समयमा नेप्सेकै आईपी प्रयोग गरी ब्रोकर नम्बर १ को टीएमएसमा अनाधिकृत रुपमा पहुँच पुर्याई आफुखुशी कोल्याट्रल लोड गरी सेयर खरिद गरेर अनुचित लाभ लिएको उक्त उजुरीमा उल्लेख छ । बस्याल अध्यक्ष भएर आएसँगै अबका दिनमा त्यस्ता गैरकानूनी कार्य रोकिने र यसअघि भएको गैरकानूनी धन्दाको समेत छानविन हुने भएपछि फुयाँलले जवर्जस्ती कर्मचारीलाई उचालेर अध्यक्ष र सीईओको विरुद्ध आन्दोलन सुरु गरेको नेप्सेकै कर्मचारीले जानकारी दिए ।
बस्याल अध्यक्ष भएर आएसँगै नेप्सेका केही कर्मचारीले आफुहरुको विरोधमा गएमा त्यस्ता व्यक्तिमाथि यसअघि पनि हातपात भएको र अबका दिनमा पनि भौतिक आक्रमण हुनसक्ने भन्दै धम्की दिएका थिए । तर, सो छलफलमा बस्यालले आफुमाथि जस्तोसुकै भौतिक आक्रमण भएपनि सुशासनविपरित गएर काम गर्न नदिने भन्दै कर्मचारीलाई अबका दिनमा सच्चिएर संस्थाको हितमा काम गर्न चेतावनी दिएको छलफलमा सहभागी ती कर्मचारीले जानकारी दिए । अध्यक्ष बस्यालले संस्थागत अनुसाशनको विषय अघि बढाएसँगै फुयाँल नेतृत्वमा आन्दोलित कर्मचारीले मंगलबार अध्यक्ष र सीईओलाई नेप्से परिसरमै १३ घण्टासम्म थुनेका थिए । फुयाँल नेतृत्वमा आन्दोलित कर्मचारीले अध्यक्ष र सीईओलाई लामो समयसम्म बन्धक बनाएपछि उनीहरुलाई उद्धार गर्न प्रहरी नै परिचालित गर्नुपरेको थियो ।