Logo

सहकारी नियमनलाई प्रभावकारी बनाउन आइक्यान र प्राधिकरणबीच समझदारी

सहकारी नियमनलाई प्रभावकारी बनाउन आइक्यान र प्राधिकरणबीच समझदारी



काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) र राष्ट्रिय सहकारी नियमन प्राधिकरणबीच सहकारी संस्थाको नियमन, अनुगमन र सुपरिवेक्षणलाई प्रभावकारी बनाउन समझदारीपत्रमा हस्ताक्षर गरिएको छ ।

सम्झौतामा आइक्यानका अध्यक्ष सिए निलबहादुर सारु मगर र प्राधिकरणका अध्यक्ष डा। खगराज शर्माले हस्ताक्षर गर्नुभयो । कार्यक्रममा प्राधिकरणतर्फबाट सदस्य (सहकारी विज्ञ) डा. रमेश चौलागाई, सदस्य महेश खनाल र कार्यकारी निर्देशक डा। शेषनारायण पौडेल उपस्थित हुनुहुन्थ्यो भने आइक्यानतर्फबाट उपाध्यक्ष सिए आनन्द राज शर्मा वाग्ले, कार्यकारी निर्देशक सिए विमल डंगोल, प्रशासन निर्देशक विनोदप्रसाद न्यौपाने, प्राविधिक निर्देशक सिए किरणकुमार खत्री र उपनिर्देशक सिए सन्तोष विष्ट सहभागी थिए ।

सहकारी ऐन, २०७४ र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स ऐन, २०५३ अनुरूप गरिएको यस सहकार्यले सहकारी संस्थाहरू, विशेषगरी बचत तथा ऋण कारोबार गर्ने संस्थाको नियामकीय परीक्षण (प्रुडेन्सियल अडिट), नियामक मापदण्ड विकास, अनुगमन र सुपरिवेक्षणका लागि प्राविधिक सहयोग, वित्तीय प्रतिवेदन मानक लागू गर्ने जस्ता क्षेत्र समेट्नेछ । साथै, प्राधिकरणमा नियामकीय परीक्षणका लागि रोस्टर तयार गर्न दुवै संस्थाले समन्वय गर्नेछन् ।

सो अवसरमा प्राधिकरणका अध्यक्ष शर्माले सहकार्यले सहकारी क्षेत्रको सुरक्षा र सदस्य–निक्षेपकर्ताको हित संरक्षणमा बल पुर्‍याउने बताए । उनले अर्थतन्त्रमा वित्तीय स्थिरता कायम राख्न सहकारी नियमन महत्त्वपूर्ण हुनेमा जोड दिए ।
त्यस्तै, आइक्यानका अध्यक्ष सारु मगरले सहकारी क्षेत्रमा पारदर्शिता र जवाफदेहिता बढाउन, नियामकीय परीक्षण प्रभावकारी बनाउन र वित्तीय मापदण्ड कार्यान्वयनमा आफ्नो प्राविधिक योगदान दिने प्रतिबद्धता जनाए ।

सम्झदारीलाई दुवै संस्थाले महत्त्वपूर्ण मानेका छन् । यसले सहकारी क्षेत्रमा विद्यमान कमजोरी कम गर्न, विश्वास बढाउन र नेपालको वित्तीय प्रणाली तथा आर्थिक विकासमा सकारात्मक योगदान गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
Skip This

Skip This