Logo

यसकारण ओरोलो लाग्दैछ नेप्से, परिसूचक ७३ अंकले घट्दा कारोबार रकमले पनि छाड्यो साथ

यसकारण ओरोलो लाग्दैछ नेप्से, परिसूचक ७३ अंकले घट्दा कारोबार रकमले पनि छाड्यो साथ



काठमाडौं । केही दिनयता ओरालो लाग्न सुरु गरेको नेप्से परिसुचकलाई कारोबार रकमले पनि साथ छाडेको छ । नेप्से परिसुचक ३१ सय अंकमाथि पुग्दा बजारबाट ठूला लगानीकर्ता तथा व्यापारीहरु बाहिरिएको र पछिल्लो समय पुनः त्यस्ता लगानीकर्ताको प्रवेश नहुँदा बजारमा उच्च गिरावट आउनुका साथै कारोबार रकमले समेत साथ छाडेको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् ।

laxmi

‘कोरोना पछिको लकडाउनका कारण अन्य क्षेत्र ठप्प हुँदा प्रवेश गरेका उद्योगी तथा व्यापारीहरु अन्य क्षेत्र खुला भएसँगै उपयुक्त समयमा बाहिरिए,’ एक लगानीकर्ताले भने, ‘बजार उच्च विन्दुमा पुग्दा केही ठूला लगानीकर्ताहरु पनि बाहिरिएको र अहिले उनीहरु पर्ख र हेरको अवस्थामा रहेका कारण बजारमा दैनिक जसो गिरावट आउनुका साथै कारोबार रकमले समेत साथ छोड्दै गएको छ ।’

राष्ट्र बैंकको नीतिका कारण सेयर बजारलाई नै पेशा बनाउँदै आएको बैंक तथा वित्तीय संस्थाको अल्पकालिन लगानीको लागि प्रवेश बन्द भएको र दिर्घकालिन लगानीकर्ता धेरैजसो कम्पनीले दिने लाभांशले ब्याजदर समेत नधान्ने भएपछि अहिले बैंक तथा फाइनान्सहरुको बजारमा प्रवेशसमेत रोकिएको छ ।

पछिल्लो समय राष्ट्र बैंक तथा सरकारले नै देशमा औद्योगिकरणलाई प्राथमिकता दिँदै ठूलो मात्रामा सेयर कर्जामा गरिने कर्जा प्रबाहलाई रोक लगाउँदा त्यसले समेत बैंक तथा वित्तीय संस्थाबाट ठूलो ऋण लिएर बजारमा चलखेल गर्दै आएका लगानीकर्ता समेत मारमा परेका छन् । जसका कारण एउटै व्यक्तिले बैंकबाट अर्बौ रुपैयाँ ऋण लिएर लगानीकर्ता आएका ठूला लगानीकर्ताहरु १२ करोड रुपैयाँको सीमा भित्र खुम्चिनु परेको छ ।

‘अहिले राष्ट्र बैंकको ४ करोड १२ करोड नीतिका कारण ठूला लगानीकर्ताहरु मारमा परेका छन् जसका कारण बजारमा केही गिरावट आएको देखिन्छ,’ एक लगानीकर्ताले भने, ‘उक्त नीतिका कारण बजारमा केही दिन गिरावट आएपनि दिर्घकालिन रुपमा समग्र लगानीकर्ताको हितमा हुनेछ ।’

सोमबार प्रिओपनिङमा बजार दोहोरो अंकले बढेपनि त्यसयता ओरालो यात्रा तय गरेको नेप्से अन्तत ७३ अंकले घटेर बन्द भएको छ । नेप्सेमा केही समय जलविद्युत समुहको परिसुचकले बजार धन्न खोजेको देखिएपनि अन्तमा सबै समुहका परिसुचक घटेको छ । जसमा सबैभन्दा बढि निर्जीवन बीमा कम्पनीको परिसुचक ४३९ अंकले घट्दा जीवन बीमा कम्पनीको परिसूचक ४३७ अंकले ओरालो लागेको छ । यसैगरी बजारमा सबैभन्दा बढि प्रभुत्व रहेको बैंकिङ समुहको परिसुचक समेत ४४ अंकले घटेको छ ।

पछिल्लो समय उच्च उतारचढाव हुँदै आएको जलविद्युत समुहको परिसुचकमा ८० अंकको गिरावट आउँदा माईक्रोफाइनान्स १३९, उत्पादनमुल १०४, होटल तथा पर्यटन ९० र फाइनान्स समुहको परिसुचकमा ११२ अंकको गिरावट आएको छ ।

यसैगरी घट्दो बजारमा कारोबार रकमले समेत साथ छाडेको छ । बजारबाट अन्य क्षेत्रबाट प्रवेश गरेका उद्योगी तथा व्यापारीहरु लगानीका अन्य क्षेत्र खुला भएसँगै नेप्से उच्च विन्दुमा पुग्दा बाहिरिएको र ठूला लगानीकर्ताको समेत प्रवेश नुहँदा दैनिक जसो कारोबार रकम घटिरहेको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् । सोही अनुरुप सोमबार ५ अर्ब रुपैयाँका मात्र सेयर कारोबार भएको छ । जसमा २२७ कम्पनीको १ करोड ४ लाख कित्ता सेयर खरिदबिक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL