Logo

कोरोनाका कारण उद्योगमा लगानी खुम्चियो, बिदेशी लगानी घट्दा स्वदेशी लगानीमा पनि भारी गिरावट

कोरोनाका कारण उद्योगमा लगानी खुम्चियो, बिदेशी लगानी घट्दा स्वदेशी लगानीमा पनि भारी गिरावट



काठमाडौं । विश्व नै अहिले कोरोना भाईरस (कोभिड–१९) संक्रमणको महामारीले आक्रान्त भएको छ । कोरोनाका कारण पछिल्लो ६ महिनायता विश्व अर्थतन्त्र पुरै प्रभावित भएको छ । नेपालमा पनि गत चैत्रदेखि कोरोना संक्रमणका कारण अर्थतन्त्र ठप्प छ । जसको असर नेपालमा आउने प्रत्यक्ष बैदेशिक लगानी र आन्तरिक लगानीमा पनि परेको देखिएको छ ।

laxmi

उद्योग विभागले नेपालमा कोरोना संक्रमण फैलिई लकडाउन सुरु भएयता अर्थात चैत ११ यता मात्रै १५ अर्ब १५ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी स्वीकृत गरेको छ । यस्तै विभागले ४७ अर्ब ६० करोड रुपैयाँ बराबरको आन्तरिक लगानी स्वीकृत गरेको छ ।

सरकारले नेपालमा पनि कोरोना संक्रमण बढ्दै गएपछि चैत ११ गतेदेखि लकडाउन घोषणा गरेको थियो । लकडाउनका कारण नेपालमा उद्योगधन्दा, व्यापारव्यवसाय, कलकारखाना ठप्प भएका थिए ।

विभागका अनुसार गत बर्ष यही अवधिमा १ खर्ब ३७ अर्ब रुपैयाँ बढीको आन्तरिक लगानीका उद्योग दर्ता हुँदा २१ अर्ब रुपैयाँ बढीको वैदेशिक लगानी भित्रिएको थियो । गत बर्षको तुलनामा यो बर्ष भने लगानीमा भारी गिरावट आएको हो । तर कोरोनाको कहरमा पनि करिव ५ महिनामा आन्तरिक र वैदेशिक लगानी गरि करिव ६३ अर्बको लगानी स्वीकृत भएको हो ।

विभागका अनुसार कोरोनाकै कहरबीच सेवा क्षेत्रमा मात्रै ६ अर्ब ६५ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी स्वीकृत भएको छ । धेरै वैदेशिक लगानी भित्र्याउने क्षेत्र भने पर्यटन क्षेत्र रहेको छ । जसमा कोरोना कहरकै बीच ३५ उद्योगमार्फत ६ अर्ब १० करोड रुपैयाँबराबरको लगानी स्वीकृत भएको छ ।
आन्तरिक लगानीकै कुरा गर्ने हो भने कोरोना कहरकै बीच सबैभन्दा बढी उर्जामुलक क्षेत्रमा लगानी भित्रिएको छ । विभागका अनुसार चैत ११ यता उर्जामुलक क्षेत्रमा ३९ अर्ब ४१ करोड रुपैयाँको लगानी स्वीकृत भएको हो । यस्तै उत्पादनमुलक क्षेत्रमा मात्रै चैत ११ यता अर्थात लकडाउनयता ४ अर्ब बढीको लगानी स्वीकृत हुँदा सेवामुलक क्षेत्रमा २ अर्ब ६८ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत भएको हो ।

कोरोना कहरकै बीच २ हजार ६ सय ४७ जनालाई रोजगारी दिनेगरी ५४ ओटा उद्योगमार्फत स्वदेशि लगानी स्वीकृत भएको छ । यस्तै ३ हजार ८ सय १८ जनालाई रोजगार प्रदान गर्नेगरी ८५ ओटा उद्योगमार्फत वैदेशिक लगानी स्वीकृत भएको हो ।

लकडाउन र निषेधाज्ञाको बीचमा जनजीवन सामान्य भएको समयमा सो मात्रामा लगानीका उद्योगहरु दर्ता गरेको विभागको प्रवक्ता बिनोद खड्काले जानकारी दिए । उनका अनुसार लकडाउन भएको सुरुको एक महिना र निषेधाज्ञामा भने उद्योग दर्ताको काम पुरै बन्द भएको छ । तर निषेधाज्ञा अघि र लकडाउन केही खुकुलो भएपश्चात मात्रै विभागले स्वदेशी तथा वैदेशिक लगानी स्वीकृत गरको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
MBL