काठमाडौं । सरकारले कार्यान्वयमा ल्याउन लागेको आइजीन सम्बन्धी निर्देशिकाको कारण आईपीओ ल्याएर दोस्रो बजारमा संस्थापक सेयरधनीबाट हुने गैर कानूनी काम रोकिने भएपछि स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले शक्ति केन्द्र धाउन छालेको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडीएससी)ले कम्पनीहरुको सेयर सूचीकरण गर्दा सुचिकृत कम्पनीको सेयर अभौतिकीकरणमा दोहोरो आइजिन नम्बर राख्ने व्यवस्था हटाउनका लागि इप्पानले ४ वटा निकायको ध्यानाकर्षण गराएको छ ।
सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडीएससी)ले धितोपत्र अभौतीकीकरण कार्य संचालन निर्देशिका २०८२ लाई स्वीकृत गर्दै अबका दिनमा लकइन अबधिभर सर्वसाधारण र संस्थापक सेयरधनीका लागि फरक फरक आइजीन प्रदान गर्ने निर्णय गरेसँगै त्यसलाई रोक्न इप्पानको टोली नै नियामक निकायदेखि शक्तिकेन्द्र धाउन थालेको हो । सीडीएससी संचालक समितिले यहि हप्ता उक्त निर्देशिका सर्वसम्मतीले पास गर्दै स्वीकृतिका लागि नेपाल धितोपत्र बोर्डमा पेश गरेको थियो । तर, बोर्डबाट उक्त निर्देशिका स्वीकृत नगराउनका लागि इप्पान टोलीले अर्थ मन्त्रालयदेखि अर्थ समितिसम्म गुहार्न पुगेको हो ।
सिडिएससीको उक्त प्रस्तावले संस्थापक लगानीकर्ता, निजी क्षेत्र, वैदेशिक लगानीकर्ता, सेयरमा लगानी गर्ने आम सर्वसाधारणमा थप अन्यौलता सिर्जना हुने इप्पानको बुझाई छ । यस्तै इप्पानले लगानीकर्तामा निराशा पैदा हुने अवस्था सिर्जना भएको भन्दै यो प्रस्ताव कार्यान्वयन भएमा नेपालको पुँजी बजारमा लागू भईरहेको प्रचलित कानून, अन्तरराष्ट्रिय मान्यता र स्थापित अभ्यास विपरितको कार्य हुने बताएको छ । यसले नेपालको पुँजी बजारमा दीर्घकालिन प्रभाव पर्नुका साथै नेपालप्रति अन्तरराष्ट्रिय जगतको दृष्टिकोणमा समेत नकारात्मक प्रभाव पार्ने इप्पानको भनाई छ । यस्तो व्यवस्थाले नेपाली निजी क्षेत्र तथा गैरआवासीय नेपाली समुदायको लगानीका साथै प्रत्यक्ष वैदेशिक लगानीमा समेत असर पर्नुका साथै स्वदेशी पुँजी संकलन, गैरआवासीय नेपालीहरुमार्फत आउने लगानी र विदेशी लगानी व्यवस्थापनमा समेत ठूलो कठिनाई हुने पनि इप्पानले ध्यानाकर्षण गराएको छ ।
उक्त निर्देशिका रोक्नका लागि इप्पान टोलीले उक्त निर्देशिका स्वीकृत गर्ने नियामक निकाय धितोपत्र बोर्ड, अर्थमन्त्री, संसदको अर्थसमिति र सिडिएससीको ध्यानाकर्षण गराएको हो । साथै इप्पानले हाल उक्त प्रस्तावले संस्थापक लगानीकर्तादेखि निजी क्षेत्रमै समस्या उत्पन्न हुने भन्दै सम्बद्ध निकायहरुमा गलत व्याख्या गरिरहेको छ । सीडीएससीले तयार पारेको उक्त निर्देशिका लागू भएको खण्डमा संस्थापक लगानीकर्ताले लकइन अबधिमा रहेका आफ्नो सेयर दोस्रो बजारमा बिक्री गरेर भाग्न पाउने छैनन् । यस्तै सेयरको दोस्रो बजारमा खेल्ने लगानीकर्ताहरु थप सुरक्षित हुनुका साथै नेपालको पुँजी बजार शुद्धिकरण हुने सम्बद्ध लगानीकर्ताहरु बताउँछन् । तर इप्पानले भने आफुमातहतका जलविद्युत प्रवद्र्धकहरुलाई गैर कानूनी रुपमा सेयर बिक्री गर्न बन्देज हुने भएपछि त्यसको गलत व्याख्या गर्दै पुँजी बजारमा दीर्घकालिन प्रभाव पर्ने भन्दै गलत प्रचार गर्दै विज्ञप्ती जारी गरेको छ ।
तर, आईजीन सम्बन्धी व्यवस्था कुनै पनि कम्पनी आईपीओमा गएपछि सेयर अभौतिकिकरण गर्दा सर्वसाधारण र संस्थापक सेयरका लागि प्रदान गरिने सिम्बोलिक नम्बर हो । उक्त व्यवस्था लकइन अबधिका लागि हुने भएकाले त्यसले अझ बढी पारदर्शीता बढाउने सम्बद्ध लगानीकर्ताहरु नै बताउँछन् ।
‘अहिले प्रबद्र्धकहरुले बढ्दो मूल्यमा लकइन नखुल्दै आफ्नो सेयर गैरकानूनी रुपमा दोस्रो बजारमा बिक्री गरेर भाग्ने गरेको पाईएको छ तर दुई थरी आईजीन कार्यान्वनयमा आएपछि त्यस्तो गतिविधि रोकिनेछ,’ एक लगानीकर्ताले भने, ‘अहिले जलविद्युतका संस्थापकहरु दुई थरी आइजीनका कारण लकइन अबधिमा गैरकानूनी रुपमा आफ्नो सेयर बिक्री गर्न नपाईने भएपछि स्वदेशी तथा विदेशी लगानी नै प्रभावित हुने भन्दै अनावश्यक हल्ला फैलाउँदै हिडेका छन् जुन कुरा एकदमै गलत हो ।’
यसैगरी इप्पानले संस्थापक र सर्वसाधारणको सेयर एउटै आइजिनमा हुँदा सेयर बजार चलायमान भइरहेको तर छुट्टाछुट्टै आइजिन राख्दा पुँजी बजारको कारोबारमा नै संकुचन आई यसले सरकारको आम्दानीमा समेत ठूलो गिरावट आउने दावी गरेको छ । तर, लकइन अबधिमा संस्थापक सेयर नै बिक्री गर्न नपाइने भएकाले त्यसले दोस्रो बजारमा सेयर कारोबारमा कुनै प्रभाव पार्नेछैन । साथै इप्पानले दावी गरेझै दोहोरो आईजीनले ऊर्जा उत्पादनमा होमिएका हजारौं कम्पनीका लाखौं लगानीकर्ताहरु यसबाट प्रतक्ष्यरुपमा प्रभावित हुने गलत मनशायले लकइन अबधिमा आफ्नो बिक्री गरेर भाग्ने प्रवद्र्धकहरु मात्र समस्यामा पर्ने सम्बद्ध जलविद्युत प्रवद्र्धकहरु नै बताउँछन् ।
यसैगरी इप्पानले दोहोरो आइजिनले ऊर्जा क्षेत्र मात्र नभई, निजी क्षेत्रको लगानी रहेका पर्यटन, स्वास्थ्य, पूर्वाधार लगायतका उत्पादनमूलक उद्योगमा पनि पुँजी संकलन हुन नसक्ने आरोप लगाएको छ । यो व्यवस्थाले आईपीओ जारी गरी सेयर अभौतिकरण प्रक्रियामा रहेका कम्पनीहरु, आईपीओ जारी गरी लकिङ अवधि सकिन लागेका कम्पनीहरु र आईपीओको पाइपलाइनमा रहेका कम्पनीहरुसमेत नराम्ररी प्रभावित भई यसले समग्र पुँजीबजारलाई दीर्घकालसम्म नकारात्मक प्रभाव पार्दै नेपालको अर्थतन्त्रमा पनि ठूलो असर पर्ने धारणा व्यक्त गरेको छ । तर, आईजीनको काम लकइन अवधिभर संस्थापक र सर्वसाधारण समुहको सेयर छुट्याउने मात्रै भएको र सो अबधिमा संस्थापकबाट हुने गैरकानूनी काम रोकिने भएकाले अहिले हाईड्रो प्रवद्र्धकहरु रोइलो गर्दै गैर कानूनी काम गर्न पाउने माग राख्दै शक्तिकेन्द्र धाउन थालेको एक जलविद्युत प्रवद्र्धकले जानकारी दिए ।