Logo

डबल आईजीनको पक्षमा धितोपत्र बोर्ड, भन्यो–लगानीकर्ताको हित सुरक्षा पहिलो दायित्व हो

डबल आईजीनको पक्षमा धितोपत्र बोर्ड, भन्यो–लगानीकर्ताको हित सुरक्षा पहिलो दायित्व हो

चेम्बर र इप्पान विरुद्ध आन्दोलनमा उत्रने लगानीकर्ताको तयारी



काठमाडौं । लामो समयको रस्साकस्सीका बाबजुद नेपाल धितोपत्र बोर्डले आईपीओ पछिको सेयर अभौतिकिकरणमा डबल आइजीनसम्बन्धी व्यवस्था कार्यान्वयनमा ल्याउने भएको छ । जलविद्युतसँगै लगानी र रियल सेक्टरका कम्पनीलाई सिंगल इन्टरनेशनल सेक्युरिटी आइडेन्टिफिकेशन नम्बर (आईजीन) दिँदा विकृति बढेपछि डबल आइजीन कार्यान्वयनमा ल्याउन लागिएको हो ।

सिंगल आइजीनका कारण संस्थापक सेयरधनीले लकइन अवधि नखुल्दै गैरकानूनी रुपमा सेयर विक्री गरी बाहिरिन थालेपछि दोस्रो बजारका लगानीकर्ताहरु त्यसको विरोधमा उत्रिएका थिए । केन्द्रिय निक्षेप सेवा नियमावली २०६७ ले कानून बनाएर केन्द्रिय निक्षेप सेवा प्रदान गर्नुपर्ने व्यवस्था गरेपनि हालसम्म सो सम्बन्धी निर्देशिका बन्न सकेको थिएन । उक्त निर्देशिका नबन्दा सीडीएससी र नेप्सेको तजविजी अधिकारमा कुनै कम्पनीलाई एकल र कुनै कम्पनीलाई डबल आइजीन दिँदै आएको थियो । उदाहरणका लागि एकै प्रकृतिका कम्पनी सीटी होटललाई पहुँचका आधारमा एकल आईजीन दिइएको छ भने कालिन्चोक केवलकारलाई डबल आईजीन दिइएको छ । त्यसरी एकल आईजीन दिँदा बदमासी भएको र आईजीन कानून अनुसार प्रदान गर्नुपर्ने भएपछि सीडीएससीले सो सम्बन्धी निर्देशिका बनाएर धितोपत्र बोर्डमा पेश गरेको हो ।

अबका दिनमा सीडीएससीले संचालक समितिले सर्वसम्मत रुपमा पास गरेर पठाएको डबल आईजीन सम्बन्धी व्यवस्था नै कार्यान्वयनमा ल्याउन लागिएको बोर्ड स्रोतले जानकारी दिएको छ । ‘सीडीएससीले निर्देशिका बनाएर ल्याएसँगै हामीले सिंगल आइजीन र डबल आइजीनको प्रभाव वारे अध्ययन गर्याैँ’ धितोपत्र बोर्ड स्रोतले भन्यो, ‘सिंगल आईजीनका कारण संस्थापक लगानीकर्ताले दोस्रो बजारमा विकृति ल्याएको भेटिएपछि डलब आइजीनलाई कार्यान्वयनमा ल्याउने निर्णयमा पुगेका हौं ।’ साथै सिंगल आईजीनका कारण संस्थापक लगानीकर्ताले लकइन अवधि नखुल्दै दोस्रो बजारमा आफ्नो सेयर बिक्री गरेर बाहिरिएको भेटिएपछि सो सम्बन्धमा अनुसन्धान गरेर कारबाही प्रक्रिया समेत अघि बढाइएको उक्त स्रोतले जानकारी दिएको छ ।

बोर्डको काम र कर्तव्य नै पुँजी बजारको सुधार र लगानीकर्ताको हित सुरक्षा भएकाले आईपीओ पछिको सेयर अभौतिकिकरणमा डबल आइजीन दिनुको विकल्प नरहेको समेत बोर्ड स्रोतको भनाई छ । ‘धितोपत्र बोर्डको काम पुँजी बजारमा भईरहेको गलत कामलाई रोक्नु हो,’ उक्त स्रोतले भन्यो, ‘हालसम्म नियम समेत नबनेको र सिंगल आइजीनका कारण विकृति भएको भेटिएपछि नियम बनाएर डबल आइजीनलाई कार्यान्वनयमा लैजानुको विकल्प छैन ।’

पछिल्लो समय लगानीकर्ताहरु सीडीएससी बोर्डले सर्वसम्मत रुपमा पास गरेको आइजीन सम्बन्धी निर्देशिकालाई यथासक्दो चाँडो कार्यान्वयनमा ल्याउनका लागि दबावसहित ज्ञापन पत्र बुझाउन आएको समेत बोर्डले जानकारी दिएको छ ।

अहिले इप्पान, नेपाल चेम्बर अफ कमर्स जस्ता संस्थाले डबल आइजीनको व्यवस्था कम्पनी ऐन र अन्तरराष्ट्रिय अभ्यास विपरीत रहेको बताउँदै आएका छन् । तर अहिले पनि कम्पनी ऐनअनुसार दर्ता भएका बैंक वित्तीय संस्था र बीमा कम्पनीमा दुईथरी आइजिन छ भने कतिपय होटल तथा लगानी कम्पनीमा दुईवटा आइजिन रहँदै आएको छ । तर निर्देशिका रोक्नका लागि स्वार्थ समूहले अन्तरराष्ट्रिय अभ्यास र कम्पनी ऐनको प्रावधान विरुद्ध हुन्छ भन्दै अनावश्यक भ्रम सिर्जना गरेको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् । ‘यदि अन्तरराष्ट्रिय अभ्यासकै कुरा गर्ने हो भने पनि नेपालले कुन देशको अभ्यासलाई अंगाल्ने त्यो विषय अनुत्तरित छ,’ ती लगानीकर्ताले भने, ‘अन्तरराष्ट्रिय अभ्यास अनुसार पनि एउटै आइजीन रहन्छ भन्ने छैन भने नेपाल सरकारले आफ्नो देशको अभ्यास अनुसार नियम कानुन बनाएर लागु गर्न सक्दछ ।’

यसअघि पनि लगानी र रियल सेक्टरका कम्पनीलाई तजविजी अधिकार प्रयोग गरी कुनैलाई एउटा र कुनैलाई दुईथरी आईजीन दिइएको छ । तर यसअघि लकिङ अवधिमै आफ्नो सेयर बिक्री गरेर दोस्रो बजारमा लगानीकर्तालाई फसाउँदै आएका संस्थापक सेयर धनीहरूले आफ्नो उक्त कार्य अब रोकिने भएपछि अनावश्यक बखेडा निकालेर निर्देशिका कार्यान्वयनमै रोक लगाउन शक्ति केन्द्र धाउँदै आएका सम्बन्ध लगानीकर्ताहरूको आरोप छ । पवल गोल्यानका छोरा अक्षय गोल्यान अध्यक्ष रहेको पियोर इनर्जीले केही समयअघि मात्रै उच्च लागत देखाएर आईपीओमा ल्याई संस्थापक सेयरलाई सेमेत सर्वसाधारण सेयर भन्दै एउटै आइजीनमा राखिदिन सम्बद्ध निकायलाई दबाब दिँदै आएका छन् ।

चेम्बर र इप्पान विरुद्ध आन्दोलन गर्ने लगानीकर्ताको तयारी

नेपाल चेम्बर अफ कमर्स र स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) ले आइजीन सम्बन्धी निर्देशिकाको विरोध गरेसँगै लगानीकर्ता सम्बन्धी संघसंस्थाहरु सोको विरुद्ध आन्दोनमा उत्रने भएका छन् । चेम्बर र इप्पानले जसरी पनि सेयरको दोस्रो बजारमा सर्वसाधारण लगानीकर्तालाई ठगी गर्न पाउनुपर्ने माग राख्दै आइजीन सम्बन्धी निर्देशिका कार्यान्वयनमा विरोध जनाएपछि लगानीकर्ताहरु आन्दोनलमा उत्रन लागेका हुन् ।

आईजीन सम्बन्धी निर्देशिका तयार भएसँगै आफुहरुको गैरकानूनी क्रियाकलाप रोकिने भएपछि इप्पान सोको विरोधमा उत्रिएको थियो । यस्तै चेम्बरले पनि लगानीकर्ताको हितभन्दा पवन गोल्यानलगायत सिमित स्वार्थ समुहको अनुरोधमा विज्ञप्ती नै निकालेर विरोध गरेको सम्वद्ध लगानीकर्ताहरु बताउँछन् । ‘चेम्बर जस्तो नेपालकै पुरानो संस्थाले सेयर बजार शुद्धिकरणका साथै लगानीकर्ता हितमा ल्याइएको उक्त निर्देशिकाको विरोध गर्नु एकदमै दुखद पक्ष हो,’ ती लगानीकर्ताले भने, ‘चेम्बरले बजारमा देखिएको विकृति रोक्न पहलकदमी गर्ने हो चोर्न वा ठग्न पाउनुपर्छ भन्दै सिमित स्वार्थ केन्द्रित व्यापारिक समुहको पक्षपोषण गर्ने होइन ।’ साथै चेम्बरले डबल आइजीन सम्बन्धी व्यवस्थाको विरोधमा आयोजना गरेको कार्यक्रममा जान पवन गोल्यानकै अफिसबाट फोन आएको समेत ती लगानीकर्ताले बिजखबरलाई जानकारी दिए ।

इप्पान तथा चेम्बरले आईजीन सम्बन्धी निर्देशिकाको विरोध गरेपछि डा. केशव श्रेष्ठ नेतृत्वको नेपाल सेयर बजार लगानीकर्ता संघलगायतका संस्थाहरु विज्ञप्ती नै जारी गरी डबल आइजीनको पक्षमा उभिएका छन् । साथै उनीहरुले सीडीएससी र धितोपत्र बोर्डलाई समेत आईजीन सम्बन्धी निर्देशिका तत्काल कार्यान्यनमा ल्याउन ज्ञापन पत्र बुझाएका छन् । लगानीकर्ताहरुले उक्त भेटमा यदि चेम्बर र इप्पानले आईजीन सम्बन्धी निर्देशका ल्याउन रोक लगाउन खोजेमा उनीहरुको संस्थामै गएर विरोध र आन्दोलन समेत गर्ने चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्