Logo

प्राधिकरणको निर्देशन लत्याउँदै इन्टरनेट सेवा प्रदायक, गुनासो गर्नमै मासिक हजारौं रूपैयाँ खर्च गर्छन सेवाग्राही

प्राधिकरणको निर्देशन लत्याउँदै इन्टरनेट सेवा प्रदायक, गुनासो गर्नमै मासिक हजारौं रूपैयाँ खर्च गर्छन सेवाग्राही



काठमाडौं । इन्टरनेट सेवाप्रदायक कम्पनीहरुले उपभोक्ता हितलाई वेवास्ता गर्दा ग्राहकको हजारौ रुपैयाँ अतिरिक्त खर्च हुने गरेको छ ।

laxmi

प्रायः सबै कम्पनीको गुणस्तर एकदमै कमजोर रहेका कारण दैनिकजसो उपभोक्ता इन्टरनेट कम्पनीका ग्राहक सेवा केन्द्रहरुमा फोनबाट गुनासो गर्न बाध्य हुने गरेका छन् । जसका कारण ग्राहकहरुले इन्टरनेट कमपनीले निर्धारण गरेको मासिक शुल्ककै हाराहारीमा टेलिफोनमा पनि खर्च गरिरहेका छन् ।

ग्राहकको अत्याधिक गुनासो पछि नियामक नेपाल दूरसंचार प्राधिकरणले इन्टरनेट सेवाप्रदायकलाई टोलफ्रि नम्बर उपलब्ध गराउन निर्देशन दिएपनि सेवा प्रदायकले भने प्राधिकरणको निर्देशन लत्याएका छन् । ३ महिना अघि प्राधिकरणले एक सूचना जारी गर्दै दिएको निर्देशन सेवाप्रदायक कम्पनीहरुले भने अझै पालना गर्ने छेकछन्द देखिदैंन ।

पछिल्लो समय प्राधिकरणमा सेवाप्रदायककहाँ सेवबारे गुनासो गर्दामात्र प्रतिमहिना १५ सय देखि ३ हजारसम्म खर्च हुने गरेको भन्दै गुनासो आइरहेको प्राधिकरणका एक अधिकारीले बताए । यस्ता गुनासो धेरै आएपछि प्राधिकरणले सेवाग्राहीको गुनासो सुन्नका लागि उपभोक्ताले फोन गर्दा, गुनासो गर्दा पैसा नलाग्ने टोल फ्रि नम्बर उपलब्ध गराउन ईन्टरनेट सेवाप्रदायकहरुलाई निर्देशन दिएको थियो ।

ग्राहकको समस्या तोकिएको समयभित्र समाधान गर्नुपर्ने तथा सेवाग्राहीको सपोर्ट र मेन्टेनेन्स तथा सेवासम्बन्धी गुनासो समाधान गर्नुपर्ने भएकाले त्यसका लागि टोल फ्रि नम्बर सञ्चालन गर्न प्राधिकरणले निर्देशन दिएको थियो ।

प्राधिकरणबाट इन्टरनेट सेवा सञ्चालनको अनुमतिप्राप्त सेवा प्रदायकले इन्टरनेट सेवाको अनुमतिपत्रको शर्तअनुसार ग्राहसकसँग लिइने सेवा शुल्कसम्बन्धी विवरण निस्शुल्क उपलब्ध गरानुपर्ने भएकाले पनि टोल फ्रि सञ्चालन गर्न प्राधिकरणले भनेको छ।

प्राधिकरणले पनि आफुले दिएको निर्देशन कार्यान्यन भए नभएकोबारे भने हालसम्म अनुगमनसमेत गर्न सकेको छैन् । प्राधिरकरणले निर्देशन दिएको ३ महिना बितेपनि नेपालमा पहुँच र ग्राहकका हिसाबले मुख्य इन्टरनेट सेवाप्रदायक मानिने सुबिसु केवलनेट, भायानेट, वल्र्डलिंक, क्लासिकटेकलगायतले ग्राहकहरुका लागि भन्दै एकदमै सहज रुपमा उपलब्ध हुने टोल फ्रि नम्बर व्यवस्था गरेका छैनन् ।

इन्टरनेट सेवाप्रदायक संघ (आईस्पान) का अध्यक्ष भोजराज भट्ट भने कोरोना महामारीका कारण टोल फ्रि नम्बर सेवा प्रदायकले व्यवस्था गर्न नसकेको बताउँछन् ।
उनका अनुसार कोरोना महामारीका कारण निम्तिएको लकडाउन र निषेधाज्ञाका कारण नै यसको प्रक्रिया चाल्न सकिने अवस्था छैन ।

‘हामीले सूचना र निर्देशन पाईसकेका छौं,’ उनले भने, ‘तर, महामारीले निम्त्याएको निषेधाज्ञाका कारण कर्मचारी पनि कम मात्रामा परिचालन गर्दै सेवा प्रदान गरिरहेकाले टेलिकम कम्पनीमा गई टोल फ्रि नम्बर लिनका लागि झन्झटिलो भएकाले गर्न सकिएको छैन ।’

के हो टोल फ्रि नम्बर ?

टोल फ्रि नम्बर एक टेलिफोन नम्बर नै हो । सरकारी निकाय र व्यवसायिक कम्पनीहरुले सेवाग्राहीका लागि प्रायः टोल फ्रि नम्बर राखेका हुन्छन । यसको उद्देश्य सेवाग्राहीले निशुल्क सम्पर्क गर्न सकुन् भन्ने हो । टोल फ्रि राख्ने संस्था, कम्पनी वा व्यक्तिले सम्पूर्ण आगमन कलको शुल्क आफैले तिर्नुपर्छ । यसले ग्राहकलाई आफुले कल गरेको पैसा नलाग्ने भएका कारण आफ्नो पैसा खर्चिनु पर्दैन ।

नेपालका आईएसपीहरुले ग्राहकको गुनासो सुन्नका लागि टोल फ्रि नम्बर राखेमा गुनासो गर्ने ग्राहकलाई टेलिफोन शुल्क लाग्दैन । अर्थात ग्राहकले गरेको टेलिफोन शुल्क ईन्टरनेट सेवाप्रदायकले नै तिर्नुपर्छ ।

पछिल्लो प्राधिकरणको निर्देशनपछि भने टोल फ्रि सेवा प्रदान गर्नका लागि केही सेवाप्रदायकले चासो देखाएको प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले बताए । उनका अनुसार हालसम्म ग्राहकका लागि कुनै कम्पनीले टोल फ्रि सेवा सञ्चालन गरेको प्राधिकरणमा जानकारी आएको छैन ।

प्रतिक्रिया दिनुहोस्
MBL