Logo

स्मार्ट टेलिकमको मूल्य निर्धारण गर्न भेटिएनन भ्यालुएटर, दुवैपटक न्युन आवेदन परेपछि तेस्रोपटक आवेदन माग गरिँदै

स्मार्ट टेलिकमको मूल्य निर्धारण गर्न भेटिएनन भ्यालुएटर, दुवैपटक न्युन आवेदन परेपछि तेस्रोपटक आवेदन माग गरिँदै



काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले स्वतः लाईसेन्स रद्ध भईसकेको स्मार्ट टेलिकमको मूल्य निर्धारण समितिको सदस्यका लागि तेस्रोपटक आवेदन माग गर्न लागेको छ । पहिलो र दोस्रोपटक उक्त समितिको सदस्य र संयोजकका लागि न्युन आवेदन परेपछि तेस्रोपटक आवेदन माग गर्दै सूचना जारी गर्न लागिएको हो ।

laxmi

प्राधिकरणले यसअघि २०८० बैशाख २२ गते सार्वजनिक सूचना जारी विभिन्न ५ पदका लागि योग्य आवेदकलाई सूचीमा दर्ता हुन १५ दिनको समयसहित आवेदन आव्हान गरेको थियो ।

त्यस अवधिमा जम्मा एक पदका लागि मात्रै आवेदन परेपछि प्राधिकरणले पुनः जेठ ८ गते अर्काे सूचना जारी गर्दै आवेदन माग गरेको थियो । त्यसको म्याद पनि १५ दिनकै राखिएकोमा हालसम्म उक्त आवेदनमा आवश्यकभन्दा एक जना कम आवेदनकर्ताले आवेदन दिएका छन् ।

प्राधिकरणले दोस्रोपटक आह्वान गरको आवेदनमा मूल्य निर्धारण समितिको संयोजकका लागि एक जना, चार्टर्ड एकाउन्टेन्टका लागि एक जना, भ्यालुएटरका लागि दुई जना र कानूनका लागि एक जनाको मात्र आवेदन परेको थियो । तर उक्त समितिमा रहने भनिएको सूचना प्रविधि विज्ञ पदमा भने कसैको आवेदन नपरेपछि पुनः आवेदन माग गर्दै सूचना जारी गर्न लागिएको प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिए ।

उनका अनुसार मूल्य निर्धारण समितिमा किन हो मान्छे नै नभेटिने समस्या रहेछ । ‘दोस्रो पटकको सूचना अनुसार पनि भनेजति आवेदन नपरेपछि पुनः सूचना निकाल्ने तयारी गरेका छौं,’ उनले भने, ‘हालसम्म आवश्यक एक पदका लागि भने आवेदन परेको छैन ।’

उनले दुईपटकसम्म सूचना जारी गर्दा पनि आवेदन नपरेपछि तेस्रोपटकका लागि निर्णयको जिम्मा प्राधिकरणको बोर्डमा पुगेको बताए । अब एक जना सदस्य पनि सिधै नियुक्त गर्न नपाईने भएपछि एक जनाकै लागि भएपनि तेस्रोपटक आवेदन माग गर्न सकिने विकल्प रहेको उनको भनाई छ । ‘एक जना नै भएपनि सिधै नियुक्त गर्न सकिने अवस्था छैन, दोस्रोपटकसम्म पनि आवेदन नपरेपछि बोर्डमा पठाईएको छ,’ उनले भने, ‘बोर्डले पनि पुनः सूचना निकाल्ने प निर्णय गर्न सक्छ ।’

उनले त्यसपछि पनि आवेदन नपरेको खण्डमा भने सरकारलाई जानकारी गराएर अर्काे विकल्पमा जान सकिने बताएका छन् ।
प्राधिकरणले समितिको संयोजकका लागि सूचिकृत भ्यालुएटर भई कम्तिमा १५ वर्ष काम गरेको वा मान्यता प्राप्त शैक्षिक संस्थाबाट चार्टर्ड एकाउन्टेन्सी शैक्षिक उपाधि हासिल गरी कम्तिमा १५ वर्ष लेखा परीक्षकको रूपमा काम गरेको वा मान्यता प्राप्त शैक्षिक संस्थाबाट व्यवस्थापन विषयमा कम्तिमा स्नातकोत्तर उपाधि हासिल गरी व्यवस्थापन क्षेत्रमा कम्तिमा १५ वर्ष काम गरेको हुनुपर्ने योग्यता तोकेको छ ।

यस्तै मान्यता प्राप्त शैक्षिक संस्थाबाट सीए शैक्षिक उपाधि हासिल गरेको एक जना, सूचिकृत सम्पत्ति भ्यालुएटर एक जना, सूचना प्रविधि वा दूरसञ्चार क्षेत्रको विज्ञ एक जना र कानून वा व्यवस्थापनको क्षेत्रमा कम्तिमा १० वर्ष कार्य अनुभव भएको एक जना समितिमा सदस्यको रूपमा रहने उल्लेख छ ।

मागजति आवेदन परेपछि आवेदनकर्ताहरुको समुहलाई मिलाएर मूल्य निर्धारण समिति गठन गरिनेछ । उक्त समितिले करिव सरकारी र भेण्डरलगायको गरी करिव २८ अर्ब दायित्व रहेको स्मार्ट टेलिकमको सम्पत्ती र दायित्वको मूल्य निर्धारण गर्नेछ । त्यसपश्चात प्राधिकरणले मूल्य निर्धारणका आधारमा सम्पत्ती र दायित्वको लिलाम बढाबढ गर्ने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL