Logo

जीवन बीमा कम्पनीहरुले कमाए साढे ५ अर्ब नाफा : धेरै कमाउनेमा नेपाल लाइफ, इपीएसमा एसियन लाइफ अगाडि

जीवन बीमा कम्पनीहरुले कमाए साढे ५ अर्ब नाफा : धेरै कमाउनेमा नेपाल लाइफ, इपीएसमा एसियन लाइफ अगाडि



काठमाडौं । नेपाल स्टक मार्केट (नेप्से) मा सूचीकृत १२ जीवन बीमा कम्पनीहरुले साढे ५ अर्ब नाफा कमाएका छन् । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा सूचीकृत जीवन बिमा कम्पनीले समग्रमा ५ अर्ब ५० करोड ७८ लाख २१ हजार रुपैयाँ खुद नाफा कमाएका छन् । यो अघिल्लो वर्षको यसै अवधिमाभन्दा १२.८६ प्रतिशतले कम हो । अघिल्लो वर्षको यसैअवधिमा यी कम्पनीहरुले समग्रमा ६ अर्ब ३२ करोड ८ लाख ८३ हजार रुपैयाँ नाफा कमाएका थिए ।

पछिल्लो समय मुद्दती निक्षेपको ब्याजदर घट्दा बीमा कम्पनीहरुको नाफा प्रभावित भएको हो । बीमा कम्पनीहरुको लगानीको ठूलो हिस्सा मुद्दती निक्षेप रहेको छ । त्यसैले मुद्दती निक्षेपको ब्याजदरको प्रत्यक्ष प्रभाव बीमा कम्पनीको नाफामा पर्छ । अहिले बैंकले मुद्दतीमा दिने ब्याजदर न्यून विन्दुमा झरेको छ । त्यसैले नाफामा पनि असार परेको देखिएको छ ।

चुक्ता पुँजीमा हिमालयन लाइफ र जगेडा कोषमा एलआइसी नेपाल अगाडि

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा नेप्सेमा सूचीकृत १२ जीवन बिमा कम्पनीमध्ये सबैभन्दा धेरै चुक्ता पुँजी हिमालयन लाइफ इन्स्योरेन्सको रहेको छ । यसको चुक्ता पुँजी ९ अर्ब १४ करोड ३२ लाख ३७ हजार रुपैयाँ रहेको छ । त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी ९ अर्ब २ करोड ८७ लाख ६३ हजार रुपैयाँ छ । यसअवधिमा एसियन लाइफ इन्स्योरेन्सबाहेक अरु सबै कम्पनीको पुँजी ५ अर्ब रुपैयाँ पुगेको छ । यता, सबैभन्दा धेरै जगेडा कोष हुनेमा लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआइसी) नेपाल रहेको छ । यसको जगेडा कोषमा २ अर्ब ९९ करोड ८ लाख २३ हजार रुपैयाँ छ । त्यस्तै, नेपाल लाइफ र सिटिजन लाइफ इन्स्योरेन्सको जगेडा कोष १ अर्बभन्दा धेरै रकम छ ।

खुद बीमा शुल्क आर्जनमा नेपाल लाइफ इन्स्योरेन्स अगाडि

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा सबैभन्दा धेरै खुद बिमा शुल्क आर्जन गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । यसको खुद बिमा शुल्क आर्जन १८.८४ प्रतिशतले बढेर ४७ अर्ब ६६ करोड ७० लाख ९३ हजार रुपैयाँ पुगेको छ । दोस्रोमा नेशनल लाइफ इन्स्योरेन्स रहेको छ । यसअवधिमा यसले २१ अर्ब ४७ करोड २७ लाख ७२ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको छ । समग्रमा नेप्सेमा सूचीकृत १२ जीवन बीमा कम्पनीले १ खर्ब ६० अर्ब ५४ करोड ८ लाख ९६ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेका छन् । यो अघिल्लो वर्षको यसैअवधिमाभन्दा १५.४५ प्रतिशतले बढी हो । अघिल्लो वर्षको यसैअवधिमा यी कम्पनीहरुले १ खर्ब ३९ अर्ब ६ करोड १९ लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेका थिए ।

जीवन बीमा कम्पनीको नाफा १२.८६ प्रतिशत घट्यो

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा नेप्सेमा सूचीकृत १२ जीवन बीमा कम्पनीको खुद नाफा १२.८६ प्रतिशतले घटेर ५ अर्ब ५० करोड ७८ लाख २१ हजार रुपैयाँमा आएको छ । अघिल्लो वर्षको यसैअवधिमा यी कम्पनीहरुले ६ अर्ब ३२ करोड ८ लाख ८३ हजार रुपैयाँ खुद नाफा कमाएका थिए । सबैभन्दा धेरै नाफा कमाउनेमा नेपाल लाइफ इन्स्योरेन्स छ । यसले ६० करोड ३२ लाख ६५ हजार रुपैयाँ नाफा कमाएको छ । एक वर्षको अवधिमा ६ जीवन बीमा कम्पनीको नाफा बढेको छ भने ६ कम्पनीको नै नाफा घटेको छ ।

प्रतिसेयर आम्दानीमा एसियन लाइफ इन्स्योरेन्स अगाडि

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा सबैभन्दा धेरै प्रतिसेयर आम्दानी एसियन लाइफ इन्स्योरेन्सको रहेको छ । यसको प्रतिसेयर आम्दानी १२ रुपैयाँ ०४ पैसा छ । आइएमई लाइफको ११ रुपैयाँ ६७ पैसा छ । सन नेपाल लाइफको ११ रुपैयाँ २२ पैसा छ । एक वर्षको अवधिमा ४ कम्पनीको मात्रै प्रतिसेयर आम्दानी बढेको छ भने ८ कम्पनीको घटेको छ ।

प्रतिक्रिया दिनुहोस्
Skip This