काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अन्तरराष्ट्रिय आगमन एसएमएस सेवा सम्बन्धमा कडाइ गरेको छ। प्राधिकरणले साउन १ गते एक सार्वजनिक सूचना जारी गर्दै केवल आधारभुत दूरसञ्चार सेवा, अन्तरराष्ट्रिय ट्रंक टेलिफोन सेवा (आईएलडी) र आधारभुत टेलिफोन सेवाको अनुमतिपत्र प्राप्त संस्थाहरुलाई मात्र अन्तरराष्ट्रिय एसएमएस टर्मिनेट गर्न अनुमति रहेको स्पष्ट पारेको छ।
तर हाल केही संस्थाहरुले प्राधिकरणबाट स्वीकृति प्राप्त सेवा प्रदायकको नेटवर्क प्रयोग गरी अनुमति विना अन्तरराष्ट्रिय आगमन एप्लिकेसन टु पर्सन (एटुपी) एसएमएस प्रवाह गरिरहेको पाइएपछि प्राधिकरणले यस्ता कार्य तत्काल रोक्न निर्देशन दिएको हो।
सूचनामा उल्लेख गरिएअनुसार, अनुमतिपत्र नभएका संस्थाले गैरकानुनी रुपमा एसएमएस सेवा प्रवाह गरेमा प्रचलित कानुनबमोजिम कारवाही गरिने चेतावनी समेत दिइएको छ। प्राधिकरणले सम्बन्धित सबै व्यक्ति तथा संस्थालाई यस्ता कार्य नगर्न र नगराउन आग्रह गरेको छ।