काठमाडौं । भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) ले जारी गर्दै आएको एससिटि–युनियनपे कार्डमार्फत अब विभिन्न मोबाइल वालेटहरूमा रकम लोड गर्न सकिने भएको छ।
यसअन्तर्गत इसेवा, खल्ती, हाम्रो पे लगायतका वालेटहरूमा ग्राहकहरूले सजिलै आफ्नो सिटि–युनियनपे कार्ड प्रयोग गरी रकम लोड गर्न सक्ने सुविधा सुरु भएको हो। नविल बैंकको इलेक्ट्रोनिक भुक्तानी गेटवेमा आबद्ध रहेका सम्पूर्ण वालेट तथा मर्चेन्ट एपमार्फत पनि ग्राहकहरूले सो सुविधा उपयोग गर्न सक्नेछन्।
यस सुविधाले कार्डधारकहरूलाई पिओएसमा मात्र नभई अब डिजिटल वालेट, इ–कमर्स भुक्तानी, एअरलाइन टिकट खरिद लगायतका सेवामा समेत सजिलै भुक्तानी गर्न सहज हुने भएको सिटिले जनाएको छ।
हाल सिटिले २३ वटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थामार्फत सिटि–युनियनपे कार्ड जारी गर्दै आएको छ। उक्त कार्ड लिन इच्छुक ग्राहकहरूले सदस्य बैंक तथा वित्तीय संस्थाबाट सजिलै प्राप्त गर्न सक्नेछन्।