काठमाडौं । महालक्ष्मी विकास बैंकले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासको अन्त्यसम्म सन्तुलित वित्तीय प्रगति हासिल गर्दै अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।
प्रकाशित विवरण अनुसार बैंकको खुद नाफा ४० करोड ३ लाख पुगेको छ भने लाभांश वितरण क्षमतामा उल्लेख्य वृद्धि भई ११.५१ प्रतिशत पुगेको छ। सोही अवधिसम्म बैंकले ५६.२२ अर्ब निक्षेप संकलन गर्दै ४५.८५ अर्ब कर्जा परिचालन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ५.०५ प्रतिशतले बढेको हो।
सेयरधनी कोषमा प्रतिफल ११.७९ प्रतिशत र कर्जा–निक्षेप अनुपात ८३.९८ प्रतिशत रहेको विवरणमा उल्लेख छ। यस बैंकको खराब कर्जा अनुपात ४.८६ प्रतिशत मात्र रहेको छ, जुन नेपाल राष्ट्र बैंकले तोकेको सीमा भित्रै छ। पर्याप्त पुँजी पर्याप्यता भएकाले आगामी दिनमा व्यवसाय विस्तारमा कुनै पुँजीगत दबाब नपर्ने देखिन्छ।
कोष लागत प्रतिशत यस वर्ष ४.५६ प्रतिशतमा झरेको छ, जुन अघिल्लो वर्षको तुलनामा २.४७ प्रतिशत कम हो। यसले बैंकको आधार दरमा पनि सुधार ल्याउँदै २०८२ श्रावण मसान्तसम्म ६.५४ प्रतिशतमा झारेको छ। आधार दर कम हुँदा ऋणीहरूले लिने कर्जाको ब्याजदरमा समेत कमी आउने भएकाले ग्राहकलाई प्रत्यक्ष लाभ पुग्नेछ।
बैंकले हालै आफ्नो मोबाइल बैंकिङ एप ‘महालक्ष्मी स्मार्ट साथी’ मार्फत भर्चुअल क्रेडिट कार्डको सुविधा सुरु गरेको छ। ‘सबल बैंक, सफल सहकार्य’ नाराका साथ हाल बैंकले १०३ शाखामार्फत सेवा दिँदै ८ लाखभन्दा बढी ग्राहकलाई आकर्षित गरिसकेको छ।