Logo

राष्ट्रिय आपतकालिन दूरसञ्चार योजना अन्तिम चरणमा, के–के छन् मस्यौदामा ?

राष्ट्रिय आपतकालिन दूरसञ्चार योजना अन्तिम चरणमा, के–के छन् मस्यौदामा ?


बिजखबर संवाददाता
0
Shares

कार्यसमितिले तयार पारेको मस्यौदामा अपरेटरले संकटको लागि आवश्यक न्यूनतम उपकरण स्टकममा राख्नुपर्ने छ । यस्तै विग्यान, युएचआर, स्याटलाइट, वाकीटकीलगायत अत्यावश्यक उपकरण समेत स्टकमा राख्नुपर्ने योजनामा समाबेश छ ।

काठमाडौं । राष्ट्रिय आपतकालिन दूरसञ्चार योजनाको मस्यौदा अन्तिम चरणमा पुगेको छ । योजनाको मस्यौदा एक हप्ताभित्र तयार हुने नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले जानकारी दिए ।

‘इन्टरनेशनल टेलिकम्युनिकेशन युनियन (आइटियु)का विज्ञले भूकम्पपछिको नेपालको दूरसञ्चारको अवस्था तथा सो योजना लागु गर्न मिल्ने नमिल्ने बारे अध्ययनको रिपोर्ट बुझाइसकेको छ,’ उनले भने ‘त्यसको पुनरावलोकन गरी मस्यौदा तयार गरिरहेका छौं ।’ दूरसञ्चार प्रदायकले संकटका बेलामा प्रयोगकर्तालाई दिनुपर्ने सुविधालगायतको बारेमा सुझावसहित सो योजना तयार पारिएको हो । गत बैशाखमा गएको भुकम्प पछि सो योजनाको आवश्यकता महशुस गरिएको अर्यालले जानकारी दिए । ‘नेपाल प्रकृतिक प्रकोपको जोखिमयुक्त देश भएकोले यसप्रकारको योजना ल्याउन लागेका हौं,’ उनले भने ।

सो कार्यक्रमका लागि गृह मन्त्रालय, नेपाल आर्मी, युएन, एनटिएलगायतको प्रतिनिधि तथा आइटीयुको विज्ञ सहितको कार्य टोलि गठन गरिएको थियो ।

सो कार्य टोलिले मस्यौदा तयार गरेपछि स्वीकृतिका लागि एनटीए बोर्डलाई बुझाउने छ । एनटीए बोर्डबाट स्वीकृत गरेपछि मस्यौदा सूचना तथा सञ्चार मन्त्रालयलाई पठाउने छ । मन्त्रालयले पास गरेपछि प्राधिकरणले त्यससम्वन्धी थप कार्य अगाडी बढाउने छ ।

योजनामा संकटको वेलामा द्रुत मार्गबाट उपकरण खरीद गर्ने, अपरेटरलाई संकटमा लागि आवश्यक न्यूनतम उपकरण स्टकममा राख्न लगाउनेजस्ता विषय समावेश गरिएको छ । ‘भुकम्प, बाढी पहिरोलगायतले सेवा प्रदायकहरुको उपकरण विग्रदा सञ्चार अवरुद्ध हुनसक्छ,’ उनले भने, ‘त्यस्तो अवस्थामा तत्काल उपकरण खरीद गर्न द्रत मार्गको माध्यम प्रयोग गरिने छ ।’

अर्यालका अनुसार मस्यौदामा प्रत्येक सेवा प्रदायकहरुलाई संटकका लागि विग्यान, युएचआर, स्याटलाइट, वाकीटकीलगायत अत्यावश्यक उपकरण स्टकमा राख्न पर्ने पर्ने छ । त्यस्तै विपत्तिको बेलामा सवैले एकै पटक फोन गर्दा नेटवर्क विजी हुने हुँदा फोन नलाग्ने समस्या हुन्छ । सो समस्या समाधानका लागि वैकल्पिक उपकरणको प्रयोग गर्नुपर्ने समेत उक्त योजनामा छ ।

त्यसैगरी, संकटका बेलामा उद्धारका लागि एउटा इमरजेन्सि नम्वरको समेत व्यवस्था गर्न लगाइने छ । ‘संकटमा मानिसहरुले कुन नम्वरमा फोन गर्ने भन्ने विषयमा दोधार नहुन भन्ने उद्देश्यका साथ एउटा इमरजेन्सि नम्वरको व्यवस्था गर्न लागएको हो,’ उनले भने ।

संकटमा सेवा प्रदायकहरुले आफ्ना प्रयोगकर्तालाई एसएमएसको माध्यमबाट सचेत गराउनु पर्ने समेत योजनामा उल्लेख छ । सो योजना लागु भएपश्चात सम्भावित संकट पहिचान गरि मानिसहरुलाई सुरक्षा दिन सकिने उनको विश्वास छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL