काठमाडौं । नेपाल टेलिकम देशको सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक हो । करिव ९२ प्रतिशत सरकारी सेयर भएकाले यसलाई सरकारी कम्पनी भनेर पनि चिनिन्छ । तर, यही सरकारी कम्पनीको निमन गुणस्तरको सेवाले भने सेवाग्राही पीडित बन्दै आएका छन् । कम्पनीको नेटवर्कमा अवरोध, डाटा नचल्नेलगायतका अवरोधकै कारण यो कम्पनी सेवाग्राहीको आलोचनाको केन्द्र बनिरहेको छ । पछिल्लो २ वर्षको अवधिलाई मात्रै नियाल्ने हो भनेपनि कम्पनीको सेवा नै अवरुद्ध हुनेगरि दर्जनौपटक समस्या आइसकेको छ ।
पछिल्ला दुई बर्षयता फोन नलाग्ने, इन्टरनेट नचल्ने, एसएमएस नजाने, र ब्यालेन्स चेक नहुने समस्याले लाखौँ प्रयोगकर्ताहरु हैरानी खेप्दै आएका छन् । हालै जेठ २६ र २७ गते बिहान १० बजे आसपास देखिएको अवरोधले यो समस्या थप उजागर गरेको छ । यी दुई दिन बिहान १० बजे एकाएक टेलिकमको नेटवर्क नै अवरुद्ध भयो । मोबाईलमा नेटवर्क देखाएपनि फोन नलाग्ने, एसएमएस नजाने र ब्यालेन्स नै चेक नहुने समस्या निम्तियो ।
दुबै दिन एकै समयमा उपभोक्ताले बेहोरेको यस्तो समस्यालाई टेलिकमका प्रवक्ता रविन्द्र मानन्धर अनलाइन चार्जिङ सिस्टम (ओसीएस) मा प्राविधिक खराबीका कारण आएको समस्या बताउाछन् । प्राविधिक टोलीले तत्काल समाधान गरेको उनले दाबी गरेपनि दुई दिन लगातार एकै समयमा दोहोरिएको समस्याले टेलिकमको परम्परागत र अपर्याप्त सेवा सुधार शैली प्रष्ट हुन्छ । निरन्तर आइपर्ने सञ्चार अवरोधले प्रयोगकर्ता आजित छन् र टेलिकमको समस्या प्रभावकारी समाधानप्रति उदासीनताले राज्यको दूरसञ्चार क्षेत्रमा निरिहता झल्किएको छ ।
पछिल्लो दुई वर्षको अवधि हेर्दा विस २०७९ फागुन ३ मा टेलिकमको नेटवर्कमा देशव्यापी समस्या देखियो । दिउँसो १ः३० बजेपछि मोबाइल सेवाहरूमा फोन नलाग्ने, ब्यालेन्स चेक गर्न नसकिने, एसएमएस नजाने, र इन्टरनेट डेटा नचल्ने समस्याहरू देखा परे । यो अवरोध केही घण्टासम्म कायम रह्यो र छोटो समयका लागि समाधान भएपनि त्यस दिन र पछिल्ला दिनहरूमा बारम्बार दोहोरिरह्यो । नेपाल टेलिकमले यो समस्याको कारणबारे आधिकारिक जानकारी दिएन, तर प्राविधिक खराबी भएको अनुमान गरियो । यले त्यसबेला धेरै सेवाग्राहीले टेलिकमको सेवाप्रति असन्तुष्टि व्यक्त गरे, र धेरैले वैकल्पिक सेवा प्रदायकहरूको खोजी गरेको उल्लेख गरे ।
विस २०८१ फागुन २८ मा पुनः नेपाल टेलिकमको मोबाइल र ल्यान्डलाइन सेवाहरूमा अवरोध देखियो । उक्त दिन यो समस्या विशेष गरी काठमाडौं पोखरा, र अन्य प्रमुख शहरहरूमा देखिएको थियो । फाइबर नेटवर्कमा खराबी वा सर्भर समस्याको सम्भावना रहेको अनुमान गरिए पनि, टेलिकमले विशिष्ट कारण खुलाएन । यो अवरोधले नियमित फोन कल, इन्टरनेट, र डिजिटल सेवाहरूमा कठिनाइ भयो । हालै, २०८२ जेठ २६ र २७ मा नेपाल टेलिकमको नेटवर्कमा फेरि ठूलो समस्या देखियो । जेठ २६ मा देशव्यापी रूपमा फोन नलाग्ने र इन्टरनेट डेटा नचल्ने समस्याहरू देखिए, र यो अवरोध जेठ २७ मा पनि दोहोरियो । यो बेलामा डेढ घण्टासम्म सेवा पूर्णरूपमा अवरुद्ध भएको थियो । यी समस्याहरूका पछाडि विभिन्न कारणहरू जिम्मेवार भएपनि टेलिकमले आफ्नो सेवा चुस्त बनाउने प्रक्रियामा न्यून ध्यान दिँदा सेवाग्राहीले लगातार सास्ती खेप्दै आउनुपरेको छ ।
टेलिकमले मोबाइल, इन्टरनेट, र ल्यान्डलाइन सेवामार्फत देशभर सेवा प्रदान गर्दै आएको छ । तर, प्राविधिक खराबी, अपर्याप्त पूर्वाधार, प्राकृतिक प्रकोप, र स्थानीय अवरोधले नेटवर्कमा बारम्बार समस्या देखिएको छ । यिनै कारणले सेवाग्राहीहरुले टेलिकमको सेवामाथि प्रश्न गरेपछि टेलिकमले बिलिङ प्रणालीमा पर्ने ओसीएस अर्थात अनलाइन चार्जिङ सिस्टमलाई दोष दिने गरेको छ । प्रवक्ता मानन्धरले पनि ओसिएसमा खराबी भएको स्वीकारे, तर दुई दिन दोहोरिएको समस्याले टेलिकमको कमजोरी उजागर भयो ।
अनलाइन चार्जिङ सिस्टम (ओसिएस) ले प्रयोगकर्ताको ब्यालेन्स, रिचार्ज, र डेटा प्याक व्यवस्थापन गर्छ । जेठ २६ र २७ को अवरोध यसमा प्राविधिक खराबीले भएको प्रवक्ता मानन्धरले पुष्टि गरे । यो प्रणालीमा समस्या आउँदा फोन, इन्टरनेट, र एसएमएस सेवाहरू अवरुद्ध हुन्छन् । तत्काल समाधान गरिए पनि दुई दिन लगातार दोहोरिएको समस्याले नियमित मर्मत र अपग्रेडको कमी देखिने यस क्षेत्रका जानकारहरु बताउँछन् । ‘आधुनिक प्रविधिको प्रयोग आवश्यक छ, तर टेलिकम परम्परागत शैलीमा अडिएको छ । यसले प्रयोगकर्ताको विश्वास घटाएको छ’, एक विज्ञले भने ।
टेलिकमले आधुनिक प्रविधिमा लगानी गरी आधुनिकिरण गर्नुपर्ने भएपनि त्यसमा ध्यान नदिई पुरानै शैलीलाई अपनाउँदै आएको केहि जानकारहरु बताउँछन् । पुराना उपकरण प्रतिस्थापन, ओसीएस अपग्रेड, र नियमित मर्मत आवश्यक भएपनि त्यसो भएको देखिँदैन । जानकारहरुका अनुसार टेलिकमको मुख समस्याका रुपमा रहेको नेटवर्क समस्याका कारणहरूमा सर्भर डाउन, सफ्टवेयर त्रुटि, र पुराना उपकरणहरू मुख्य हुन् । ग्रामीण क्षेत्रमा टावरमा ब्याट्री चार्ज नहुने, शहरी क्षेत्रमा सडक निर्माणको क्रममा फाइबर काटिने, स्थानीय समुदायको रेडिएसन भ्रमले टावर स्थापनामा अवरोधजस्ता समस्याले टेलिकमको सेवा प्रभावित हुने गरेको टेलिकमको दाबी छ ।
अर्कोतर्फ बाढी र पहिरोले नेटवर्कमा क्षति पु¥याउने गरेको, शहरी क्षेत्रमा डेटा मागले जाम हुने तथा समस्याले सञ्चारमा कठिनाइ, आर्थिक नोक्सानी, र आपतकालीन सेवामा जोखिम बढाएको कम्पनी बताउँछ । तर, उपभोक्ता अधिकारकर्मीहरु भने टेलिकमले विभिन्न बहानाबाजी बनाउँदै पन्छिने गरेको र सेवा सुधारमा ध्यानै नदिएको बताउँछन् । ‘कुनैपनि कम्पनीले उपभोक्तालाई गुणस्तरीय र निर्वाध सेवाको ग्यारेन्टी गर्नुपर्छ । तर, हामीकहाँ त बहाना बनाएर तर्किने प्रवृत्ति छ । अझ सरकारी कमपनीहरुमा यो रोग बढी नै छ र टेलिकम पनि यही प्रवृत्तिमा चलिरहेको छ’, उनले भने । उनले गुणस्तरीय सेवा नदिएर सेवाग्राहीमाथि ठगी भइरहेको बताए ।
टेलिकमको सेवा सुधारमा वेवास्ताका कारण प्रयोगकर्ताको विश्वास घट्दै गएको छ धेरैले निजी प्रदायकतर्फ मोडिएका छन् । दूरसञ्चार प्राधिकरण तथा टेलिकमकै प्रतिवेदनहरुले पनि टेलिकमका सेवाग्राही र आम्दानी ओरालो लागिरहेको देखाउँछ । यद्यपि टेलिकम नेतृत्व तथा मुख्य सेयरधनी रहेको सरकार भने टेलिकममा सुधार भन्दापनि आफुअनुकुलको ठेक्कापट्टा, प्रविधि खरिदलगायतबाट अकुत सम्पत्ति आर्जनमा केन्द्रित रहेको पछिल्ला दिनमा खुल्दै गएका भ्रष्टाचारका काण्डहरुले पनि स्पष्ट हुने जानकार बताउँछन् ।